कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

सहरमा काग नै काग

बढ्दो सहरीकरण, प्रदूषण र फोहोरमैलासँग अनुकूलित हुँदा उपत्यकामा काग संरक्षित, हिन्दु धर्मावलम्बीहरू आजकै दिन यमराजको सन्देश वाहकका रूपमा काग पुज्दै
६ महिनाको अन्तरमा काठमाडौं उपत्यकाका २४ स्थानमा काग गणना गर्दा दोब्बरले वृद्धि, गएको जनवरीमा नेपालभरि ३ हजार १ सय ८ काग गणना गरिएकामा जुन महिनामा आइपुग्दा यिनको संख्या ७ हजारको हाराहारी
मनोज पौडेल

कपिलवस्तु — दुई वर्षअघिको कुरा हो । बाटोमा हिँडिरहेका बेला कपिलवस्तु नगरपालिका–२, तौलिहवाका श्रवणकुमार मौर्यलाई एक्कासि उडिरहेको कागको पखेटाले छोयो । त्यो दिन सम्झिँदै उनले सुनाए, ‘त्यसपछि म निकै आत्तिएँ । किनकि, कागले छोए दुःखकष्ट र अनिष्ट हुन्छ भन्ने सुनेको थिएँ ।’

सहरमा काग नै काग

उनले त्यो घटनापछि आफूलाई तनाव र चिन्ताले सताउन थालेको र एकाध दिनमै निद्रा पर्न छोडेको सुनाए । ‘पछि थाहा पाएँ, त्यो मेरो मनको बहम मात्रै थियो,’ श्रवणकुमारले भने, ‘आजसम्म कहीँकतैबाट नराम्रो खबर सुन्नुपरेको छैन । कागले छोए र बिस्ट्याए अनिष्ट हुने विचार परम्परागत र रुढिवादी हो कि जस्तो लाग्यो ।’

चराविद् हेमसागर बरालले कागले खकार विकार खान्छ र जति नै सफा गरे पनि ठोंडको चुच्चोमा मानवलाई हानि नोक्सानी गर्ने ब्याक्टेरिया र विकार रहने बताए । उनले भने, ‘त्यही भएर काग नछुनु भनिएको हो । अरू कुनै कारण छ जस्तो लाग्दैन ।’

काग छुन हुन्न भन्ने सामाजिक प्रचलन भए पनि हिन्दु धर्मावलम्बीहरूले यमराजको सन्देश वाहकका रूपमा कागलाई पुज्छन् र यमदूतकै रूपमा पूजा गरेर खानेकुरा दिएर सत्कार गर्छन् । पण्डित शिवराम पराजुलीले पुराणहरूमा कागलाई अमृत पिउने पक्षीका रूपमा उल्लेख गरिएको बताउँदै नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिसलगायत सम्पूर्ण जीवित प्राणीको जन्म र मृत्युको विवरण राख्ने र यस्तो विवरणको सञ्चार कागले गर्ने धार्मिक मान्यता रहेको बताए ।

तस्बिरहरू : मनोज पौडेल/कान्तिपुर

काग तिहारको दिन कागको पूजा अर्चना नगर्दा पापको भागी भइने र मृत्युपछि नर्क लोकमा पुगिने धार्मिक विश्वास रहेको बताउँदै उनले भने, ‘काग तिहारमा कागलाई घर–आँगनमा बोलाई पूजाआजा गरी मीठा खानेकुरा खुवाउने चलन छ ।’ सोही दिन बेलुका घरको मूलढोकामा दीपदान गर्ने चलन पनि छ । यसो गर्दा मृत्युभय हुँदैन भन्ने जनविश्वास रहेको पराजुलीले बताए ।

चराविद् डा. बरालले धार्मिक मान्यतामा वर्णन गरिएजस्तै कागको सञ्चार क्षमता गज्जबको हुने बताए । उनले एउटा काग केही आपत्विपद्मा परेको संकेत दिने गरी करायो भने त्यो आवाज सुनेर अरू कागहरू पनि त्यहीं जम्मा भएर एकताको भाव देखाउने स्वभाव हुने बताए ।

उनले कागले प्रहरीले जस्तो काम गर्ने बताउँदै बिरालो, सर्प, बाघ र भालुलगायतका वन्यजन्तु आए कागले कराएर जानकारी दिने गरेको बताए । विकार, खकार र दिसा खाएर, सिनो, फालेको मासुको टुक्रा र फोहोर खाएर कागले वातावरण संरक्षणको काम पनि गरिरहेको छ । चराविद् बरालका अनुसार बालीनाली हानि गर्ने किरा–फट्यांग्रा खाएर कागले उब्जनी बढाउन कृषकलाई मद्दत गरिरहेको बताए ।

कागका भिन्न प्रजातिबीच कसिलो सद्भाव हुने बताउँदै उनले भने, ‘बाहिरी आक्रमणलाई परास्त गर्न कागहरू एकजुट भएर जाइलाग्छन् । आफ्नो साथी मरेको दिन शोक मनाउँछ । कागले एक्लै केही खाँदैन, साथीसँग मिलीजुली र बाँडीचुँडी खाने गर्छ ।’ कागको स्मरण क्षमता विशेष खालको हुने बताउँदै आफूलाई आक्रमण गर्न खोज्नेलाई लामो समयसम्म दागा धर्ने स्वभाव कागमा हुने उनले बताए ।

चराविद् बरालका अनुसार नेपालमा ७ प्रजातिका काला काग पाइन्छन् । घर काग, पहाडी कालो काग, पूर्वीय कालो काग, कालो काग र राजा काग प्रख्यात छन् । समुद्र सतहको १ सय मिटरदेखि ६ हजार २ सय ५० मिटरसम्म काग पाइन्छन् । हिमालतिर राजा, टुंगा र टेमु काग पाइन्छन् । हिमाली क्षेत्रमा पाइने राजा कागले गुम्बा, विहार, घरका प्वाल, टोड्का र टेमुले पत्थरको दुलोमा बच्चा जन्माउँछन् ।

६ महिनामै दोब्बरभन्दा बढी

चराविद् कृष्णप्रसाद भुसालले काठमाडौं उपत्यकामा सहरी चरा घट्दै गएका बेला काग भने बढ्दै गएको बताए । नेपाल पक्षी संरक्षण संघले ६/६ महिनामा काठमाडौं उपत्यकाका २४ स्थानमा गर्ने गणनामा त्यस्तो तथ्यांक बाहिर आएको उनले बताए । संघले काठमाडौंको केशरमहल, बालुवाटार, मैतीदेवी, टोखा, सीतापाइला, कलंकीलगायत, ललितपुरको कुपण्डोल, कुमारीपाटी, झम्सिखेल, सुनाकोठी, नख्खु खोला, कार्यविनायक र भक्तपुरको मध्यपुर ठिमी, दुवाकोट, कृष्णमन्दिर, मुहान पोखरीलगायत ठाउँमा कागको गणना गर्ने गरेको छ ।

संघका अधिकृत अंकितविलास जोशीका अनुसार चराहरूको आवतजावत हुने रुट हेरेर यी ठाउँ छानिएको र त्यहाँ रहेका चराविद् र स्वयंसेवी गणकले चरा गन्ने काम गर्ने गरेको उनले बताए । अधिकृत जोशीका अनुसार ती ठाउँका एक किकी आसपासको ठाउँमा दूरबिन, बाइनाकुलर र क्यामेराको सहायताले चरा गणना गरिन्छ । काग मार्न हुन्न भन्ने धार्मिक मान्यताका कारण सहरी चरामध्ये कागको संख्या बढ्दै गएको उनले बताए । ‘यदाकदा कागहरू करेन्ट लागेर मर्ने गरेको पाइएको छ,’ उनले भने, ‘सहरी क्षेत्रमा परेवापछि दोस्रो नम्बरमा काग बढी देखिन थालेका छन् ।’

पक्षी संरक्षण संघले बनाएको छिमेकी चरा नामक चरा गणना एप्लिकेसनमा पनि कागको संख्या बढ्दै गएको देखाएको छ । २०२३ को जनवरीमा नेपालभरि ३ हजार १ सय ८ काग गणना गरिएकामा २०२३ को जुनमा ६ हजार ९ सय ९५ गणना गरिएको छ । एप्लिकेसनमा गरिएको गणनालाई एउटा समितिले प्रमाणिकता गरेर आधिकारिता प्रदान गरिने चराविद् भुसालले बताए । यो एप्लिकेसनमा पनि सहरमा बढी देखिने चरामा काग दोस्रो नम्बरमा रहेको छ ।

चराविद् भुसालका अनुसार बढ्दो सहरीकरण, प्रदूषण र फोहोरमैलासँग काग अनुकूलित हुँदा उपत्यकामा कागको संख्या बढेको हो । ‘समूहमा बस्न रुचाउने काग आफ्नो क्षेत्र निर्धारण गरेर गुँड लगाउँछन् । छेउछाउ मानिस वा अन्य शत्रुजीव पुग्दा रिसाउने र ठुंग्न खोज्छन्,’ उनले भने, ‘आवाजबाट अन्य कागलाई बोलाएर सामूहिक रूपमा कराउँदै धपाउने गर्छन् ।’

चराविद्हरूका अनुसार कागको आयु २० वर्षसम्म हुन्छ । चैत/वैशाखमा ओथारो बस्ने कागले तीन–चार वटासम्म अन्डा पार्छ । जुनसुकै प्रजातिको गुँडमा पनि ओथारो बस्न सक्ने, तीनदेखि चार सातामा बच्चा जन्माए भालेपोथी दुवैले पालैपालो हेरचाह गर्ने र शत्रुबाट जोगाउन उस्तै सतर्कता अपनाउने भएकाले कागको संख्या अरू चराको तुलनामा बढिरहेको छ ।

कागभन्दा कोइली बाठो

कागलाई चुतर पक्षी मानिए पनि यसलाई कोइलीले सजिलै झुक्याउँछ । त्यही भएर कागभन्दा कोइली बाठो भन्ने आहान प्रचलनमा आएको हो । चराविद्हरूका अनुसार वसन्त ऋतुको आगमनसँगै कोइलीका सुमधुर आवाज सुनिन थाल्छ । कुहुकुहु, काफल पाक्यो र बीउ कुहियोको आवाज सुन्नासाथ कोइलीको आगमन भएको मानिन्छ । ५ हजार किमि बढी यात्रा गर्दै जुरे कोइली गृष्म याममा अफ्रिकाको सबसाहरन क्षेत्रबाट नेपाल आइपुग्छन् । सुरिलो स्वर, लामो दूरीको यात्रा गर्दै बसाइँ सर्ने र गुँड नबनाउने स्वभावका कोइलीले जुरेलीको गुँडमा अन्डा पारेर बचेरा हुर्काउँछन् ।

चराविद् डा. तुल्सीराम सुवेदीले नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले आफ्नो गुँड नबनाउने गरेको बताए । कुहु कोइलीले चलाखी गरेर कागको गुँडमा अन्डा पार्ने गरेको बताउँदै चलाख कागले कोइलीकै अन्डामा ओथारो बस्ने, चल्ला कोरल्ने र हुर्काउने गर्ने गरेको उनले बताए । चराविद् सुवेदीका अनुसार काग प्रायः रुखको टुप्पोमा गुँड बनाएर ओथारो बस्छ ।

कोइलीका भालेपोथी गुँडनजिक गएर कागलाई जिस्काउँछन् । कागका भालेपोथी मिलेर कोइलीको जोडालाई परपरसम्म लेखेट्दै पुर्‍याउँछन् । त्यहीबीच कागलाई छलेर कोइलीको पोथीले कागको गुँडमा अन्डा पार्छ । सुवेदीले सुनाए, ‘अब कोइली आउँदैन भनेर काग गुँडमा पुग्दा कोइलीले अन्डा पारिसकेको हुन्छ ।’ कागकै अन्डासँग मिल्दोजुल्दो भएकाले काग झुक्किने उनले बताए । ‘आफ्नै ठानेर ओथारो बसेर कागले कोइलीका बचेरा हुर्काइदिन्छ,’ चराविद् सुवेदीले भने, ‘बाठो कागलाई कोइलीले बचेरा हुर्काउन लगाउँछे । हुर्केपछि कोइलीले आफ्ना बच्चा आफैं लैजान्छे ।’

अन्य प्रजातिका कोइलीले भने अन्डा पार्ने बेला जुरेली, धोबिनी, चिबे, फिस्टा, भ्याकुर र तोरीगाडाजस्ता साना चराको गुँडमा गएर अन्डा पार्छन् । कतिपय अवस्थामा कोइलीले गुँडमा भएको अन्डा खसालेर फुटाई आफ्नो अन्डा कोरल्छन् । एउटा गुँडमा एकदेखि दुईवटा मात्रै अन्डा पार्ने कोइलीले एउटै प्रजनन समयमा फरक–फरक गुँडमा गएर दर्जनजति अन्डा पार्छन् । साना चराले आफूभन्दा दोब्बर–तेब्बर ठूलो कोइलीका बचेरा सकीनसकी हुर्काउँछन् ।

गुणी पक्षी काग

करनबहादुर शाह, प्राणीशास्त्री

चराचुरुंगीमा सबैभन्दा बाठो पक्षीका रूपमा कागलाई मानिएको ऋग्वेदमा उल्लेख छ । कागले सडेगलेको सिनो, मासु खाएर वातावरण सफा गर्छ । बाठो कागले मान्छेलाई सचेतापूर्वक सूचना पनि दिन्छ । कागले खतरा र जोखिमको संकेत कराएर दिने गर्छ । यसले नयाँ मान्छे चिनेर सूचना दिन सक्छ । त्यही भएर भन्ने गरिन्छ– कागले पाहुना आगन्तुक आएको संकेत दिँदै कराउँछ । त्यसैले कागलाई पुज्नलायक मानिएको हो ।

कागबाट मान्छेले विभिन्न कुरा सिक्न सक्छन् । जस्तो भविष्यका लागि यसले खाना सञ्चित गरेर राख्छ भन्ने गरिन्छ । अनिकालमा कागले सञ्चित गरेर राखेको कुरा खान्छ । खाना लुकाएको ठाउँ पनि कागले लामो समयसम्म भुल्दैन । कागबाट समूहमा काम गर्ने शिक्षा पाइन्छ । कागलाई आपत्विपत् पर्‍यो भने सबै काग एकजुट हुन्छन् । आपत्मा कागले अरू कागलाई बोलाउन विशेष तरिकारले सञ्चार गर्छ । अक्सर काग कालो नै हुने भए पनि केही अपवाद् कागहरू सेतो रंगका पनि भेटिन्छन् । तर, यो कुनै फरक प्रजाति भने होइन । छाला र पखेटामा मेलानिन तत्त्वको कमीले यस्तो हुन्छ । सेता कागले पनि बच्चा भने कालै जन्माउँछ ।

कागलाई प्रकृतिको कुचीकार पनि मानिन्छ । गिद्धले मरेको जीवजन्तु खान्छ भने कागले जिउँदो पनि खान्छ । चराको अन्डा चोर्छ । जिउँदै बचेरा खाइदिन्छ । गुँड पनि खासै राम्रो बनाउँदैन । काम चलाउ हुन्छ । तर पनि अरू गुणहरूका कारण यो गुणी पक्षीमा गनिन्छ ।

प्रकाशित : कार्तिक २५, २०८० ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×