कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

जाजरकोट भूकम्प : पुरिएका चौपायाका कारण बस्तीभर दुर्गन्ध

घरगोठमा पुरिएका चौपाया कुहिएर गनाउन थालेपछि रोग फैलने डर
प्रकाश बराल

काठमाडौँ — रुकुम पश्चिम सानीभेरी गाउँपालिका–४ का टेकबहादुर मल्लको घर गत शुक्रबार गएको भूकम्पले ढल्यो । घरभित्र पुरिएर घाइते भएका मल्ल र उनकी ७ वर्षकी नातिनी चौरजहारी अस्पतालमा उपचारपछि घर फर्केका छन् ।

जाजरकोट भूकम्प : पुरिएका चौपायाका कारण बस्तीभर दुर्गन्ध

उनका छोरा साकेन्द्र र बुहारी लीला रोजगारीका लागि कुवेतमा छन् । साकेन्द्र अघिल्लो वर्ष र बुहारी लीला गत महिना मात्रै गएकाले घर फर्कन पाएनन् । मल्ललाई सहयोग गर्न चौरजहारीबाट छोरी शर्मिला र ज्वाइँ आएका छन् । उनीहरूले बारीमा बस्ने व्यवस्थापन गर्दै छन् ।

उनको घरको भुइँतला (गोठ) मा पुरिएका ६ वटा बाख्रा गनाएर आसपासमै बस्न गाह्रो भइसकेको छ । ‘म बूढाले केही गर्न सकेको छैन, नातिनातिनी मात्रै छन्, पुरिएका बाख्रा निकाल्न पाइएन,’ मल्लले भने, ‘गनाएर बस्न नसकिने भएको छ । पुरिएको अरू सामान पनि सबै बिग्रिन थालिसक्यो ।’ उनका छिमेकी शेरबहादुर चन्दको ५ जनाको परिवार एउटा पालमुनि बसिरहेको छ । गहुँबारीमा खाना पकाउने र पालमुनि सुत्ने गरेका छन् । भुइँमा बिछ्याउने गुन्द्रीसमेत नपाएको उनले गुनासो गरे । चन्द्रका छिमेकी १७ वर्षका गोविन्द बुढाथोकी घरभित्र पुरिएर गम्भीर घाइते छन् । उनलाई स्याहारेर २२ वर्षीया दिदी विपनाको अहिले अस्पतालमै बास छ । भग्नावशेष उत्खनन नहुँदा पुरिएका बाख्रा गनाएको छिमेकीले बताए ।

शुक्रबार रातिको भूकम्पले घर भत्किएपछि यहाँका सयौं स्थानीय बारीमा पाल–प्लास्टिक टाँगेर बसिरहेका छन् । अन्नपात, लत्ताकपडा सबै भग्नावशेष भएको छ । चिरिएका घरमा पनि कोही छिर्न सकेका छैनन् । घरगोठमा पुरिएका चौपाया कुहिएर बस्तीभरि गनाउन थालेपछि रोग फैलने डर भइरहेको स्थानीयले बताएका छन् । उनीहरूले आवश्यक राहत पनि नपाएको गुनासो गरेका छन् । सानीभेरीको बाटो भएर धेरै गाडी राहत बोक्दै जाजरकोट पुगेका छन् । तर उनीहरूको बस्तीमा राहत झरेन । ‘राहत वितरणमा पनि भेदभाव भएको छ,’ चन्दले भने, ‘समस्या पर्नेलाई हेर्नुपर्ने हो, वास्तै गर्दैनन् ।’

वडाध्यक्ष मनोज बुढाथोकीका अनुसार वडा ४ मा मात्रै ६ सय ५० घर भत्केकामा अधिकांशले एउटा पाल पनि पाएका छैनन् । भूकम्पबाट वडा ४ मा मात्रै ३ बालबालिकासहित ५ जनाको मृत्यु भएको थियो । यहाँका ६ सय ५० घरमा आधाजसो ध्वस्त छन् भने आधाजसो चिराचिरा परेकाले बस्न योग्य छैनन् । ‘हाम्रोमा ४ सय परिवार अहिले पनि बारीमै छन्,’ वडाध्यक्ष बुढाथोकीले भने, ‘रातभर जाडोले कठ्यांग्रिएका छन्, मानिसकै समस्या भएकाले पशुचौपाया व्यवस्थापनतर्फ हेर्न सकिएको छैन ।’

मंगलबार पहिलो लटमा १ सय ५० पाल, कम्बल, लगाउने कपडा र खाद्यान्न मात्र वडामा आएको उनले बताए । रुकुम पश्चिमका डीएसपी नमराज भट्टराईले पुरिएका चौपाया उत्खननका लागि भने स्वयंसेवक तथा अन्य सुरक्षाकर्मी परिचालन भइरहेको बताए । उत्खनन गर्न मानिसले मात्रै नसक्ने भएकाले डोजरको पनि खोजी भइरहेको उनले बताए ।

प्रकाशित : कार्तिक २३, २०८० २२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×