कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

पितृका नाममा बिरुवा

नगरको हरियाली प्रवर्द्धनमा स्थानीयबाट ४० लाखभन्दा बढी रकम सहयोग
मोहन बुडाऐर

धनगढी — धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका तपेन्द्र बोहरा गेटा–धनगढी सडक किनारको एउटा बिरुवामा दिनहुँ पानी हाल्ने गर्छन् । डडेल्धुराको रूपालमा पुर्ख्यौली घर भएका बोहराले उपमहानगरलाई ५ हजार रुपैयाँ तिरेर स्वर्गीय हजुरआमा जसुदेवीको स्मृतिमा उक्त बिरुवा रोपेका हुन् । ‘आमाबुवा भन्दा बढी बज्यैको प्यार र काख पाएँ,’ उनले भने, ‘बोटमा पानी हाल्दा हजुरआमाको अनुहार झलझली आउँछ । सडक छेउमा हुर्किन लागेका बिरुवाले सधैं सम्झने अवसर दिनेछ ।’

पितृका नाममा बिरुवा

नगरको हरियाली प्रवर्द्धनमा सहयोग जुटाउन धनगढी उपमहानगरले स्थानीयलाई आफ्ना पितृका नाममा वृक्षरोपणका लागि आह्वान गरेको थियो । गेटादेखि भन्सारसम्मको ६ लेन सडक, धनगढी चौराहादेखि भन्सार रोड, चौराहा क्याम्पस रोडलगायतका मुख्य र शाखा सडकमा वृक्षरोपण थालिएको हो । गत असारमा सुरु गरेको अभियानबाट उपमहानगरपालिकाभरि सडक किनारमा साढे ५ हजार बिरुवा रोपिएका छन् । हरियाली अभियानका लागि स्थानीय बासिन्दा र संघसंस्थाबाट मात्रै करिब ४० लाख रुपैयाँ संकलन भएको छ ।

सहयोगदाता र पितृको नाम खुलाएर बिरुवाको बाहिरपट्टि स्टिकर राख्ने गरिएको छ । हजुरआमाको स्मृतिमा रोपिएका बिरुवामा पहिचान पनि गरिदिएपछि मलजल दिन सधैं बिहान पुग्ने गरेको बोहराले बताए । उपमहानगरले सडक छेउमा रोपिने बिरुवाको ‘ट्रिगार्ड’ मा पितृ तथा आफन्तको सम्झनामा नाम लेखाउन खोज्नेबाट ५ हजार रुपैयाँ लिने गरेको हो ।

‘पाँच हजार तिरेमा ट्रिगाडको पातामा सौजन्यकर्ता र पितृको नाम उल्लेख गरिन्छ । नगरपालिकाले बिरुवा, ट्रिगार्ड र मलजलको व्यवस्था आफैं गर्ने जिम्मा लिए पनि आफन्तले पितृको यादमा आफैं स्याहार गरिरहेका छन्,’ उपमहानगर प्रमुख गोपाल हमालले भने ।

पूर्वको पाँचथर पुर्ख्यौली घर भएका त्रिलोचन उपाध्याय र मित्रदेव लामिछाने दाजुभाइ दम्पतीले आफ्ना दिवंगत आमाबुवा लक्ष्मीदेवी र परशुराम उपाध्यायको स्मृतिका बिरुवा पश्चिमी कुनामा हुर्कंदै छन् । लामिछाने दाजुभाइले उपमहानगरलाई १० हजार रुपैयाँ सहयोग गरेर चौराहादेखि गौरीफन्टा भन्सार सडक छेउमा आमाबुवाको स्मृतिमा बिरुवा हुर्काउन लागेका हुन् । घरनजिकैको सडक छेउमा पितृदेवका स्मृतिमा हुर्किन लागेका बिरुवाको रेखदेख दाजुभाइकै दम्पतीले गरिरहेका छन् । त्यस्तै देवेन्द्र र हेम अधिकारी दाजुभाइ परिवारले पनि आफ्ना आमाबुवा सम्झनामा भन्सार रोडमा दुईवटा बिरुवा हुर्कारहेका छन् ।

उनीहरूले पनि आमा डम्बरीकुमारी र बुवा जयनारायणको स्मृतिमा बिरुवा रोपनका लागि उपमहानगरलाई १० हजार रुपैयाँ सहयोग गरेका थिए । एकाबिहान पितृका नाममा पानी चढाउन बिरुवा भएको स्थानमा पुग्दा कसैले भाँची दिएको देख्दा साह्रै पीडा महसुस भएको देवेन्द्रले बताए । ‘यो समाजमा कस्ता पनि मान्छे रहेछन् भन्ने लाग्यो,’ उनले भने, ‘सत्कर्म पनि गर्न नजान्ने, गर्न खोज्नेको पनि इर्ष्या गर्ने तत्वले रोपेका बिरुवा भाँचिदिने गरेका छन् ।’ भाँचिएका बिरुवालाई पट्टी बाँधेर मलजल गरी हुर्काउँदा पुनः तंग्रिन लागेकाले अहिले उनीहरू खुसी छन् ।

धनगढी भन्सार रोडका यदुराज पोख्रेलले पनि आफ्ना बुवा शोभाकर र काका शान्तप्रसादको स्मृतिमा भन्सार रोडमै रोपेका बिरुवा एक महिनाअघि कसैले भाँचिदिएको थियो । उनीहरूले पनि पुनः त्यही स्थानमा अर्को बिरुवा रोपे । अहिले ती विरुवा हुर्किएका छन् । ‘यो उपमहानगरले राम्रो गरेको देख्न नखोज्ने तत्व हो वा हामीले हाम्रा पितृका स्मृतिमा रोपेको बिरुवा देख्न नचाहने हाम्रा दुस्मन हुन्, रोपिएका बिरुवा भाँच्ने काम भयो,’ उनले भने, ‘तर यो अत्यन्तै निन्दनीय कार्य कसैबाट भइरहेको छ, उपमहानगरको विशेष टोली नै खटाएर भए पनि पितृदेवका नाममा रोपिएका बिरुवाको संरक्षण गर्न आवश्यक छ ।’ उसो त जताततैबाट सडक छेउमा रोपिएका बिरुवा अज्ञात समूहबाट भाँचिएका खबर आएपछि उपमहाननगर प्रमुख हमाल आफैंले बिरुवा संरक्षणप्रति ध्यान बढाएका छन् । हमाल दिनहुँजसो बिरुवा भाँच्ने व्यक्तिलाई समात्न आफ्ना फेसबुकवालमा पोस्ट नै गर्ने गरेका छन् ।

उपमहानगरले गत वैशाखदेखि गोदावरी गेटादेखि धनगढी भन्सार रोडसम्म ६ लेन सडकको बीच भाग र दायाँबायाँ क्षेत्रमा विभिन्न जातका ३ हजार ५ सय बढी बिरुवा रोपेको छ । गत असारयता क्याम्पस रोडदेखि मनोहरा, वनदेवी मन्दिर आसपासका सडक, आर्यघाट सडक, चटकपुर–क्याम्पस रोडमा गरी ५६ सय ४३ बिरुवा रोपिएको छ । सडकको बीच भागमा सुरुआतमा रोपेका बिरुवा हुर्किसकेका छन् । बोटबिरुवाको आकार फैलने प्रजाति अनुसार ४/५ मिटरको दूरीमा रोप्ने गरिएको छ । वृक्षारोपणमा उपमहानगरपालिको १५ लाख ७८ हजार ६ सय ९४ रुपैयाँ खर्च भएको जिन्सी शाखा प्रमुख कृष्णप्रसाद जैशीले जानकारी दिए । हरियाली प्रवर्द्धन अभियानमा ४० लाख ६० हजार ५ सय ८१ रुपैयाँ नगरवासीबाट सहयोग उठेको छ । ‘नगरवासीकै सौजन्यमा नगरको हरियाली प्रवर्द्धनको अभियान सुरुवात गरिएको हो,’ उनले भने, ‘रोपिएका बिरुवा बचाउन स्वयं नगरवासी बढी जिम्मेवार भई दिनुपर्ने पनि भएको छ ।’

उपमहानगर प्रमुख हमालले चालु वर्षको नीति तथा कार्यक्रममै नगरको हरियाली प्रवर्द्धन कार्यक्रमलाई प्रभावकारी बनाउन प्राथमिकता दिएर नगरवासीको पितृधर्मसँग पनि जोडेर वृक्षारोपण अभियान सुरु गरेको बताए । ‘बिरुवाको जीवन लामो हुन्छ । बिरुवाका रुपमा लामो समय आफन्तले पितृलाई सम्झने, मलजल चढाउन आउने गर्छन्,’ उनले भने । यो अभियानले नगरवासीले आफन्तको सम्झनामा यसरी बिरुवा रोप्दा राम्रो हुने र पुण्यकर्म पनि हो भनेर जानून् भन्ने उद्देश्यले बिरुवा रोप्ने अभियानलाई पितृसँग जोडेको उनले बताए ।

प्रकाशित : कार्तिक २१, २०८० ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?