कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६७

जाजरकोट भूकम्प : राहत र उद्धारमा प्रधानमन्त्री दाहालका १७ घण्टा

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्प पीडितको राहत, उद्धारका लागि १७ घण्टा व्यस्त रहेको जनाएका छन् । उनले शुक्रबार राति ११:४७ बजे भूकम्प महसुस गरेपछि राति १ बजेसम्ममा स्थानीय निकाय, प्रशासन र सुरक्षा अंगहरुबाट भूकम्प गएको स्थान र त्यसले पुर्‍याएको क्षतिका बारेमा जानकारी लिए । 

जाजरकोट भूकम्प : राहत र उद्धारमा प्रधानमन्त्री दाहालका १७ घण्टा

प्रधानमन्त्रीको सचिवालयका अनुसार राति २:२० बजे उनले सामाजिक सञ्जालमार्फत भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिबाट आफू मर्माहत भएको र सुरक्षाका सबै अंगहरुलाई तत्काल उद्धार र राहतका लागि जुट्न निर्देशन दिए । बिहान ३ बजे सबै सुरक्षा अंग, स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी र विमानस्थललाई तयारी अवस्थामा रहन निर्देशन दिएको सचिवालयले जनाएको छ ।

बिहान ६ बजे प्रधानमन्त्री दाहाल त्रिभूवन विमानस्थलबाट सेनाको हेलिकप्टरमार्फत जाजरकोटका लागि प्रस्थान गरे । भूकम्प प्रभावित क्षेत्रमा प्रस्थान गर्ने क्रममा उनले आफ्ना सचिवालयका सदस्यहरु र सुरक्षाकर्मीहरुको सबै कटौती गरी जनप्रतिनिधिका साथमा १६ जना स्वास्थ्यकर्मीको टोली लिएर जाजरकोट

लागे । जाजरकोट ८:१५ बिहान बजे ओर्लेपछि थाप्लेचौरमा रहेको अस्पतालमा उपचार गराइरहेका घाइते र तिनको उपचारमा संलग्न चिकित्सकहरुलाई घाइतेको प्रकृति र उनीहरुको उपचारका बारे जानकारी लिएर उपचारमा कुनै कमी नगर्न निर्देशन दिए । ‘घाइतेका आफन्तहरुलाई सरकारले सबै घाइतेको नि:शुल्क उपचार गर्ने र सरकारप्रति भरोसा गर्न अपिल गर्नुभयो,’ सचिवालयले भनेको छ ।

उनी शनिबार ९:३० बजे नलगाड गाउँपालिकाको दल्ली भन्ने स्थानमा रहेको अस्पतालमा पुगी एक बालकसहित ७ जना घाइतेहरुलाई आफूसँगै लिएर चौरहजारी विमानस्थलका ओर्लिए । चौरहजारीमा ती ७ जना घाइतेहरुलाई नेपाली सेनाको स्काई भ्यानमा पठाई भने आफू उक्त स्थानमा रहेको अस्पतालमा घाइतेहरुको अवस्थाको बारे चिकित्सकहरुसँग जानकारी लिए ।

शनिबार ११ बजे चौरहजारीबाट उनी रुकुमको सानीभेरी गाउँपालिकातर्फ उडे । त्यहाँस्थित अस्पतालमा घाइते र घाइतेका परिवारजनसँग उनीहरुको अवस्था र उपचारका बारेमा जानकारी लिए ।

मध्याह्न १२ बजे सानीभेरी गाउँपालिकाबाट रुकुमकै मुसीकोटमा रहेको सल्ले एयरपोर्टमा उपचाररत घाइतेहरुको स्थितिका बारेमा जानकारी लिई दिउँसो १ बजे सल्ले विमानस्थलबाट आठबिसकोट नगरपालिकाको राडी भूकम्पले पुर्‍याएका भौतिक क्षतिहरुको अवलोकन गर्दै अस्पताल पुगे । राडीबाट उनले एक बालकसहित ३ जना घाइते र तिनका कुरुवालाई आफूसँगै हेलिकप्टरमा नेपालगन्ज लिएर आए ।

‘दिउँसो २ बजे उहाँले भूकम्पको क्षति बुझ्न, पीडितका पीडा र अनुभूतिहरू सुन्न, घाइतेहरूको उद्धार र पीडितको राहतका निम्ति प्रभावित क्षेत्रमा रहेको भन्दै सामाजिक सञ्जालमार्फत जानकारी दिनुभयो,’ सचिवालयले भनेको छ, ‘पीडितलाई राहत र पुनर्स्थापना एवं घाइतेहरूको उपचारका लागि सरकार गम्भीर रहेको जानकारी गराउनुहुँदै यस कार्यमा सहकार्य र हातेमालोका लागि उहाले सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाजलगायत सबैमा अपिल पनि गर्नुभयो ।’

दिउँसो २:३० बजे उनले नेपालगन्जबाट आफूलाई लिएर आएको हेलिकप्टरमा ती ३ जना घाइतेलाई उपचारका लागि सुर्खेत पठाए र नियमित उडानमार्फत प्रधानमन्त्री काठमाडौं फर्किए ।

प्रधानमन्त्री दाहालले भूकम्प गएदेखि नै उद्धार र राहतमा भूकम्प प्रभावित क्षेत्रमा गएर प्रत्यक्षरुपमा अवलोकन गरे । उनले प्रभावित क्षेत्रमा आफू उद्धार र राहतमा रहँदारहँदै पनि विभिन्न मन्त्रालयका मन्त्रीहरुलाई पनि उत्तिकै तयारी अवस्थामा रहन निर्देशन दिइरहेका थिए । ती मन्त्रालयलाई उनले राहत र उद्धारका लागि आवश्यक निर्णय लिन निर्देशन पनि गरे । प्रधानमन्त्रीको निर्देशनपश्चात् गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने आवश्यक निर्णय गरिसकेको छ ।

प्रकाशित : कार्तिक १८, २०८० २१:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×