२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पोखराबाट राष्ट्रसंघ महासचिव गुटेरेसको सन्देश : प्रकृतिविरुद्धको युद्ध रोक

‘विकसित र औद्यागिक राष्ट्रले नेपालजस्ता देशलाई सहयोग गुर्नपर्छ’
दीपक परियार

पोखराबाट — संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफ्नो नेपाल भ्रमण विश्वलाई प्रकृतिविरुद्धको युद्ध रोक्न आवश्यक रहेको स्पष्ट सन्देश दिनका लागि भएको बताएका छन् । मंगलबार बिहान अन्नपूर्ण आधार शिविर पुगेर फर्किएपछि पोखराको पुरानो विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपालजस्ता देशले जलवायु परिवर्तनमा योगदान नगर्ने तर परिणाम भोग्नु परिरहेको बताए । 

पोखराबाट राष्ट्रसंघ महासचिव गुटेरेसको सन्देश : प्रकृतिविरुद्धको युद्ध रोक

‘मेरो भ्रमण वास्तवमा विश्वलाई स्पष्ट सन्देश दिनका लागि थियो, प्रकृतिविरुद्धको युद्ध रोक्न आवश्यक छ । किनभने, हामीले अद्भुत हिमाल र अद्भुत हिमनदीहरू जोगाउनु पर्छ,’ उनले भने, ‘नेपाललाई जलवायु परिवर्तनमा योगदान नगर्ने तर परिणाम भोग्ने नेपाललगायत अन्य देशहरूलाई विश्व समुदायले समर्थन गर्न आवश्यक छ ।’

तापमान वृद्धिले हिमाली क्षेत्रमा धेरै हिमनदी पग्लिएर भू–क्षय, पहिरो जस्ता समस्या त्यहाँका समुदायले भोगिरहेको बताउँदै उनले प्रभावकारी ऐक्यबद्धता देखाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरे । ‘पीडित समुदायका लागि अनुकूलनमा सहयोग पुर्‍याउन थुप्रै कोष छन्,’ उनले भने, ‘म जहाँ पुगेँ, त्यस्तो स्थानका समुदायका लागि जलवायु परिवर्तनबाट हुने हानी नोक्सानी न्यूनीकरण गर्न त्यस्तो कोषबाट फाइदा लिन सक्छन् ।’ उनले पोखरा र हिमालहरूको सौन्दर्यले अत्यन्तै मोहित बनाएको सुनाए ।

अन्नपूर्ण आधार शिविरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस । तस्बिर सौजन्य : दिलिप गुरुङ

मंगलबार बिहान उनी हेलिकप्टरमार्फत कास्कीको अन्नपूर्ण आधार शिविर पुगेका थिए । आधार शिविरमा उनले अन्नपूर्ण गाउँपालिका–११ का स्थानीयसँग अन्तरक्रिया गरे । वडाध्यक्ष हिमबहादुर गुरुङले जलवायु परिवर्तनकै असरस्वरूप दक्षिण अन्नपूर्ण हिमनदी तीव्र रूपमा पग्लिएको, भू–क्षय र कटानले आधार शिविर नै जोखिममा परेको, हिमआँधी, हिमपहिरोलगायत विपत् भोग्नु परिरहेको सुनाएका थिए ।

अन्नपूर्ण आधार शिविरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस । तस्बिर सौजन्य : जगनरास गुरुङ

स्थानीयलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले विश्वव्यापी तापक्रम वृद्धिमा विकसित र धनी राष्ट्र नै जिम्मेवार रहेको बताए । ‘नेपाल जलवायु परिवर्तनमा जिम्मेवार छैन । अरु धनी राष्ट्रले गर्दा जलवायु परवर्तन भइरहेको छ तर नेपालले त्यसको नतिजा भोगिरहेको छ,’ उनले भने, ‘हिमालय रेन्जका ग्लेसियर यही कारणले घटिरहेको छ । ग्लेसर पग्लिरहेको छ । पहिरो आएर विभिन्न समुदायलाई क्षति पुगिरहेको छ ।’ जलवायु परिवर्तन नेपालजस्ता देशलाई क्षति पुर्‍याइरहेकोले आफ्नो प्रविधि र औद्योगिकरणमा वैकल्पिक उपाय खोज्ने सेन्देश विकसित र औद्योगिक राष्ट्रलाई दिन नेपाल आएको उनले बताए । ‘म आह्वान गर्छु, धनी राष्ट्रहरूले नेपाल जस्तो देशलाई जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलनमा सहायता गर्नुपर्छ,’ उनले भने ।

उनी मंगलबार नै सेनाको जहाजमार्फत लुम्बिनी पुगेका छन् । सोमबार पोखराको फिस्टेल लजमा बास बसेका उनी पुम्दीकोट पुगेर पोखराको अवलोकन गरेका थिए । सोमबार साँझ फिस्टेल लजबाट वाराही मन्दिर पुगेर पुनः लजमै मोटरबोटबाट फर्किएका थिए ।

प्रकाशित : कार्तिक १४, २०८० ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x