कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

प्रविधिमैत्री न्यायाधीशको विवादरहित बिदाइ

घनश्याम खड्का

काठमाडौँ — बिदाइको क्षण त्यसै पनि गह्रुँगो हुन्छ । त्यसमाथि, बूढो भयो र उमेर पुग्यो भनेर जागिरबाट अवकाश दिइँदा मन अमिलिन्छ नै । ६५ वर्षीय उमेर हदका कारण अवकाश लिँदै गरेका सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाको अनुहार भने सोमबार साविकभन्दा धेरै हँसिलो र उज्यालो थियो ।

प्रविधिमैत्री न्यायाधीशको विवादरहित बिदाइ

‘म खुसी हुनाको कारण छ,’ सिन्हा भन्छन्, ‘म आउँदाको सर्वोच्चभन्दा जाँदाको सर्वोच्च बढी सुदृढ छ, त्यसले सन्तोष दिएको छ ।’ कर्मचारीले अवकाशको पत्र र उनले पाउने सुविधाको विवरण दिन थालेपछि सिन्हाको मन एक पटक चस्स भएछ– अहो, म बूढो भएँ हगि ! अनि उनले एक पटक सर्वोच्चका सबै न्यायाधीश र कर्मचारी सम्झिए । ‘हो त, म सबभन्दा जेठो रहेछु,’ उनी मन्द मुस्कुराए, ‘त्यही भएर त मलाई पठाउँदै छ सरकारले !’

लामो समय वकालत गरेका र त्यसपछि इजलासमा बसेर बिदा हुन लागेका सिन्हा विवादमा नपरी अवकाश पाउने विरल न्यायाधीशमध्ये एक हुन् । नेपालको न्यायालयसँग उनको पारिवारिक साइनो निकै पुरानो र गाढा छ । सर्वोच्च बारका संस्थापक अध्यक्ष र नेपालको पहिलो वरिष्ठ अधिवक्ता देवनाथप्रसाद बर्मा उनका मावली हजुरबा हुन् । बुझ्ने भएदेखि नै उनले हजुरबाले मुद्दा लडेको देख्दै हुर्केका थिए । मामा कृष्णकुमार बर्मा त पछि न्यायाधीश नै भए । हजुरबाकै प्रभावले कानुन पढेका बुबा सुशीलकुमार सिन्हा प्रमुख जिल्ला अधिकारी भएर दुर्गम जिल्लामा बस्दाबस्दा वाक्क भएपछि २०२६ मा जागिर छाडी काठमाडौं आएर वकालत गर्न थाले । यसरी पारिवारिक विरासतका रूपमा मिलेको कानुनी पेसा सिन्हाले पनि रोज्न पुगे । नेपाल ल क्याम्पसबाट २०३९ सालमा स्नातक उत्तीर्ण गरेपछि निरन्तर वकालत गरिरहे, २०७३ सम्म ।

त्यसपछि सर्वोच्चका न्यायाधीश भएका उनी ल क्याम्पसका आफ्ना सहपाठी ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र सुष्मलता माथेमालाई सर्वोच्चमै छाडेर मंगलबारदेखि अवकाश लिँदै छन् ।

न्यायालयले असाध्य अप्ठ्यारो अवस्था भोगेका बेला उनले सर्वोच्च अदालतमा ७ वर्ष ३ महिना बिताए । अवकाश हुने मितिको एक महिनाअघि नै इजलास छोड्ने चलन छ । सिन्हाले पनि त्यसलाई पालना गरे र असोज १५ गतेदेखि मुद्दा हेरेनन् । न्यायाधीश भएपछि पनि उनले सामाजिक सम्बन्ध र जीवनशैलीमा खास बदलाव ल्याएनन् । हरेक शनिबार गल्फ खेल्ने २० वर्ष पुरानो बानीलाई इजलासमा उनको प्रवेशले कुनै फरक पारेन ।

अन्तिम मुद्दा उनले नहकुल सुवेदीसँगको इजलासमा बसेर हेरेका थिए । त्यस दिन उनले दुई मुद्दा छिनेका रहेछन्– रामसेवकप्रसाद गुप्ताविरुद्ध रामजी गुप्ता भएको चार वर्ष पुरानो अंश नामसारी मुद्दा र होमशंकर बाँस्तोलाविरुद्ध मीनादेवी आचार्यको अंश चलन मुद्दा ।

सर्वोच्चमा सिन्हाको नियुक्ति भएको थियो, २०७३ साउन १७ गते । सर्वोच्चमा न्यायाधीशहरू घटेर ५ जना बाँकी थिए । सर्वोच्चलाई कतिसम्म न्यायाधीशको जरुरत थियो भने, नियुक्ति भएकै दिन उनी इजलासमा बस्नुपर्ने भयो । देवेन्द्रगोपाल श्रेष्ठसँगको इजलासमा उनका लागि मुद्दा तोकिएको रहेछ । विवेकजंग स्रोङ लिम्बूविरुद्ध नेपाल सरकार भएको ज्यान मुद्दामा प्रतिवादीलाई सर्वस्वसहित जन्मकैद भएको थियो जिल्ला र उच्च अदालतबाट । श्रेष्ठसँगको इजलासमा केहीबेरको बहस सुनेपछि तल्लो तहको फैसलालाई सदर गरेको सम्झना अझै सिन्हालाई छ । यसरी, जीवनभर ‘कर्पोरेट लयर’ भनेर चिनिएका सिन्हाले न्यायाधीशका रूपमा पहिलो मुद्दा भने फौजदारी प्रकृतिको हेरे, अन्तिम मुद्दाचाहिँ देवानी ।

‘न्यायाधीश भएपछि यो मुद्दा र ऊ मुद्दा भन्ने हुँदैन, सबै हेर्नॅपर्ने हुन्छ, हेरें पनि,’ उनी भन्छन्, ‘मलाई कुनै पनि मुद्दा हेर्दा कहिल्यै केही अप्ठ्यारो महसुस भएन ।’ इजलासमा बसेका सुरुवाती दिनमा उनलाई वकिलको व्यक्तित्वबाट उम्किन भने हम्मे पर्‍यो । एउटा झगडियाको पक्ष लिएर उसैका लागि सारा तर्क गर्ने र मुद्दा जिताउन लागिपर्ने पक्षपाती भूमिका हुन्छ, वकिलको । न्यायाधीशचाहिँ दुवै पक्षको बहस, तर्क र तथ्य सुनेर को दोषी हो र को निर्दोष, कसको जिकिरमा सत्य छ र कसको जिकिर कल्पित छ भनी पर्गेल्ने भूमिका हुन्छ ।

३४ वर्ष एउटा पक्षका लागि मात्रै बहस गर्दै आएका उनी इजलासमा बसेपछि पनि कुनै एक झगडियाको कुनै खास पाटोमा ध्यान दिँदा रहेछन् । यसो गर्दा मुद्दाको पूर्ण परिधि बुझ्न सकिन्न भन्ने बोध पनि उनलाई छिट्टै नै भयो । ‘यसमा मलाई देवेन्द्र श्रीमान् र ओमप्रकाश श्रीमान्हरूले गाइड पनि गर्नॅभयो,’ उनी भन्छन्, ‘छिट्टै नै इजलासको लय मैले पक्रिहालें ।’

सर्वोच्चमा उनी पुग्दा न्यायाधीशहरूबीच भयंकर गुटबन्दी पाए । प्रधानन्यायाधीश थिइन् सुशीला कार्की । त्यसपछि वैद्यनाथ उपाध्याय, गोपालप्रसाद पराजुली, चोलेन्द्रशमशेर राणा, गोविन्द उपाध्याय र देवेन्द्रगोपाल श्रेष्ठ न्यायाधीश थिए । इजलासमा बस्न थालेको केही दिनमै उनले देखे, गोपाल र चोलेन्द्रहरूको प्रधानन्यायाधीशविरुद्ध गरेको गुटबन्दी । झडङ्गी स्वभावका गोविन्दप्रसाद तटस्थ थिए । वैद्यनाथ र देवेन्द्र मौन बसेजस्तो गरे पनि भित्रभित्रै प्रधानन्यायाधीशसँग रुष्ट रहेको सिन्हाले पत्तो पाए ।

‘मलाई त्यस बेला कोसँग कति दूरी राख्ने, कोसँग नजिक भएर कुन गुटमा सामेल हुने कि एक्लो भएर बस्ने भन्ने समस्या आइलाग्यो,’ सर्वोच्चको चरम दुर्बल क्षणका बारेमा सिन्हा भन्छन्, ‘अनि मैले सबसँग समदूरीको सम्बन्ध राख्ने नीति लिएँ, गुट/उपगुटबाट टाढै रहन मलाई वर्षौं मिहिनेत गर्नॅपर्‍यो ।’

यो सात वर्षमा सर्वोच्चले भोग्नुसम्मको दुर्नियति भोग्यो । खासगरी, पराजुली र चोलेन्द्रशमशेरको नेतृत्वमा न्यायिक विचलनका डरलाग्दा आक्षेपको सामना न्यायालयले गर्न पुग्यो । सुरुमा एउटै गुटमा रहेका पराजुली र राणापछि आफू–आफूमा जुध्न पुगे । कतिसम्म भने, बहालवाला प्रधानन्यायाधीश पराजुलीको जागिरको अवधि सकिएको फैसला उनैले तोकेको इजलासमा बसेर चोलेन्द्रले गरिदिए, जसका कारण पराजुलीको जागिर गयो । यो नेपालको मात्रै नभएर संसारकै न्यायिक इतिहासमा कहिल्यै नभएको घटना थियो ।

चोलेन्द्र प्रधानन्यायाधीश हुँदा न्यायालयको विकृति र विसंगति कतिसम्म बढ्यो भने उनलाई पदबाट हटाउन सर्वोच्चकै न्यायाधीशहरू आन्दोलनमा उत्रिनुपर्‍यो जसमा सिन्हा पनि सामेल थिए । बारले प्रधानन्यायाधीशलाई सर्वोच्चमा पस्न नदिनका लागि ढोकामा धर्ना कस्ने र भित्र न्यायाधीशहरू कदाचित उनी आइहाले पनि उनले तोकेको पेसीमा नबस्ने गरी हडताल र आन्दोलनको शैलीमा गोलबद्ध हुने अनौठो परिदृश्य सर्वोच्चमा महिनौंसम्म देखा परिरह्यो । यस्तोमा प्रधानन्यायाधीश चोर बाटोबाट सुटुक्क सर्वोच्च छिर्थे र पेसीहरू तोक्थे तर इजलासमा भने कोही बस्दैनथ्यो । अन्ततः यस्तैमा महाभियोग खेपेपछि इजलासमा बस्न नपाएका चोलेन्द्र बहिष्कारको बहिष्कारमै परी सर्वोच्चबाट बाहिरिए, जसको कुनै बिदाइ पनि हुन सकेन । यो पनि नेपालमा मात्रै नभएर संसारकै न्यायालयमा नभएको घटना थियो ।

यसरी सर्वोच्च अदालतको हुनुसम्मको दुर्गति देखेका सिन्हा यहाँबाट बिदा हुने दिन भने हँसिलो अनुहार पारेर निक्लँदै छन् । ‘न्यायालयको त्यो अवस्था अब बदलिएको छ, त्यो दुःस्वप्न थियो जस्तो लाग्छ आजको यो लय हेर्दा,’ उनी भन्छन्, ‘पेसी तोक्दा हुने कुनै विकृति अहिले छैन, न म आउँदाको जस्तो कुनै गुटबन्दी नै छ, एउटा भरोसा योग्य संस्था देशमा छ भन्ने निश्चयका साथ म यहाँबाट जाँदै छु, यो साह्रै गर्वको विषय हो ।’

सर्वोच्चमा न्यायिक सुधारका लागि अनेक महाशाखा र आयोग छन् जसमा न्यायाधीशहरूले नै नेतृत्व गर्ने गर्छन् । त्यसैले, मुद्दा छिन्नुको अतिरिक्त न्यायिक सुधारका लागि गठन गरिएका त्यस्ता आयोग र महाशाखाको नेतृत्व गर्नॅ पनि न्यायाधीशहरूको काम हुन्छ । मुद्दा–मामिला छिन्नुका अतिरिक्त सिन्हाले सर्वोच्चमा बिताएको अधिकांश समय सूचना प्रविधि महाशाखाको नेतृत्वमा बित्यो । उनी आउँदा सर्वोच्चको बुइँगलमा भँगेराको गँॅडजस्तो तारहरूले असरल्ल र कम्प्युटरका छिरल्लिएका सञ्जालले वाक्क लाग्दो अवस्थामा थियो आईटी महाशाखा । सिन्हाले त्यसको नेतृत्व गरेपछि यसको स्वरूपमा आनका तान फेरबदल गरे । अहिले सबै अदालतहरू सर्वोच्चको सर्वरमा जोडिएका छन् जहाँ छिनका छिनमै कुन अदालतमा के भइरहेको छ भन्ने हेर्न मात्रै मिल्दैन, आँकडा नै निकालेर विश्लेषण गर्न मिल्छ ।

‘हामीसँग अहिले सर्वोच्चको आफ्नै मोडुलर डाटा सेन्टर छ, जहाँ न्यायालयका सबै अदालतका फैसला, पेसी र मुद्दाका सबै विवरण डिजिटल्ली उपलब्ध छन्,’ उनले सुनाए, ‘केही गरी यो सर्भर नष्ट भयो भने पनि तुरुन्तै तथ्यांक उपलब्ध गराउने गरी हामीले हेटौंडाको सूचना प्रविधि केन्द्रमा डिजास्टर रिकभरी साइट चलाएका छौं ।’ सर्वोच्चले यो सब चलाउन आफ्नै सिस्टम बनाएको छ, आफैंले सफ्टवेयर बनाएर आफैंले यसको सञ्चालन पनि गर्दै आएको छ । सर्वोच्च आफैंले बनाएको सफ्टवेयरले हाल पेसी तारिख अटोमेसनमा तोकिन्छ, मुद्दाहरूको प्रकृति हेरी ६ महिना, १ वर्ष र १८ महिनामा सक्ने भनी वर्गीकरण गरी प्रत्येक मुद्दाको ट्र्याक रेकर्ड राख्ने सफ्टवेयर पनि हाल जिल्ला अदालतहरूमा प्रचलित छ । यो पनि सर्वोच्चकै आईटी महाशाखाले बनाएको हो । गोला प्रणालीदेखि फैसला कार्यान्वयनका सफ्टवेयर पनि यही शाखाले बनाएको छ । यो सब सिन्हाकै निर्देशन र रेखदेखमा भएको उपलब्धि हो ।

‘उहाँ सूचना प्रविधिको क्षेत्रलाई राम्रोसँग बुझ्न सक्ने हुनुहुँदो रहेछ, त्यसैले धेरै काम गर्न सजिलो भयो,’ सर्वोच्चका सूचना प्रविधि प्रबन्धक सत्य महर्जन भन्छन्, ‘सात वर्षको अन्तरालमा हामीले सूचना प्रविधिको क्षेत्रमा ठूलो फड्को मार्नॅमा उहाँको नेतृत्व नभएको भए सम्भव हुने थिएन ।’ अन्य सरकारी कार्यालयमा डेटा संरक्षण, सिस्टम मेन्टेनेन्स र सफ्टवेयर उत्पादनमा तेस्रो पक्षलाई ठेक्का दिने चलन छ । कतिसम्म भने संवेदनशील सूचनाको पहुँच हुने भनिएको राष्ट्रिय परिचयपत्र र मेसिन रिडेबल राहदानीको विवरण संकलनमा पनि यही गरिन्छ । तर, सर्वोच्चले भने आफ्नै जनशक्तिले प्रणाली सञ्चालन, सफ्टवेयर निर्माण र त्यसको मर्मतसम्भारको काम गर्दै आएको छ ।

अवकाश लिने अन्तिम क्षणमा आफूले निर्देशन गरेको सर्वोच्चको माथिल्लो तलास्थित सूचना प्रविधि महाशाखामा सोमबार अपराह्न सिन्हा पुग्दा विभिन्न कक्षमा अनेक उपकरणका साथ काम गरिरहेका युवाको जमात कोही सफ्टवेयर बनाउनमा तल्लीन युवायुवतीले मलिनो अनुहार लगाएर उनलाई बिदाइका हात हल्लाए । सर्वोच्चको बुइँगलमा विकास भइरहेको यो सूचना प्रविधि कक्ष कुनै भव्य कम्पनीको कर्पोरेट अफिसजस्तो देखिन्थ्यो । यस्तो प्रणालीबद्ध प्रविधि विकास गरेकामा सूचना प्रविधि तथा सञ्चार मन्त्रालयले यस वर्षको आईसीटी अवार्ड सर्वोच्चलाई प्रदान गरेको थियो । ‘यो हाम्रा लागि ठूलो उपलब्धि हो,’ सिन्हा भन्छन्, ‘अब आउने दिनमा अदालतको विकृति–विसंगति पहिलेको भन्दा घट्दै जानेछ किनभने सूचना प्रविधिले तय गर्ने चुस्त अभिलेख र प्रक्रियालाई दायाँबायाँ गरेर काम गर्न कसैले पनि सक्दैन ।’ यसको उदाहरणका लागि पेसी तारिखमा भएको अटोमेसन प्रणालीलाई लिनुपर्ने उनी ठान्छन् ।

सर्वोच्चमा हुने दुई ठूला विकृतिका स्रोत थिए– तारिख र पेसी तोक्दा हुने गडबडी । मुद्दाको पेसी कुन न्यायाधीशलाई तोक्ने भन्ने जिम्मा प्रधानन्यायाधीशको थियो । न्यायालयको स्थापनादेखि चल्दै आएको यो प्रणालीले प्रधानन्यायाधीशले नेतृत्व गर्थे । बिचौलियाहरूले प्रधानन्यायाधीशलाई मन्तरेर बेन्च सपिङ गर्ने गरेको ठूलो आरोप लाग्दै आएको थियो । यसमाथि न्यायाधीशहरूले नै गरेको बेलाबखतको अध्ययनले पनि यही देखाएको थियो । सिन्हा स्वयंले पनि यसमाथि अध्ययन गरेर पेसी तोक्दा पूर्ण अटोमेसनमा जानुपर्ने प्रतिवेदन प्रधानन्यायाधीशलाई दिएका थिए । तर, त्यो प्रतिवेदन अहिलेसम्म कुनै प्रधानन्यायाधीशले पनि फुलकोर्टमा छलफलका लागि पेससम्म नगरेकामा सिन्हालाई ननिको लागेको छ । तैपनि, पेसी तोक्दा चोलेन्द्रले गरेको चरम गडबडीलाई रोक्न गोला प्रथाको प्रयोगले बेन्च सपिङको अन्त्य गराएको मान्छन् उनी ।

न्यायालयमा हुने अर्को ठूलो गडबडी भनेको तारिख तोक्दा फाँटवालाले गर्ने बदमासी हो । भनेको समयमा तारिख लिन घूस खुवाउनुपरेको अनेक गुनासा आए पनि यसको कुनै समुचित समाधान न्यायालयले निकाल्न सकेको थिएन । सिन्हाले आफूमातहतको आईटी विभागका कर्मचारीलाई कम्प्युटरले स्वचालित तारिख तोक्ने सफ्टवेयर बनाउन निर्देशन दिए । त्यसको सफल परीक्षणपछि केही समययता प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नमुनाका रूपमा सर्वोच्च अदालतमा त्यसको प्रयोग गराए ।

‘मुद्दाको प्रकृति र चाप हेरेर अहिले तारिख मेसिनले आफैं तोक्छ, कर्मचारीको काम पक्षलाई यसको सूचना दिनु मात्रै हो,’ फाँटफाँटका कर्मचारीहरूको बिदाइको मंगल कामना र फूलमाला लिँदै सर्वोच्चको आफ्नो च्याम्बरमा बसिरहेका सिन्हाले निस्कनुअघि सन्तुष्टिको लामो सास फेरे, ‘अहिले सर्वोच्चमा तारिख तोक्न कुनै मुलाहिजा हुँदैन, कसैले केही अनुचित लाभ लियो भन्ने पनि सुनेको छैन, यो ठूलो सुधार हो न्यायालयको ।’

पेसी तोक्नका लागि यो एक पूर्वअभ्यास भएको उनी ठान्छन् र छिट्टै नै यो सर्वोच्चमा लागू हुनेमा उनी विश्वस्त छन् । अवकाश भएपछि सर्वोच्चको न्यायाधीशलाई कानुनी अभ्यास गर्न वा कतै नियुक्ति खान संविधानतः वर्जित छ । चुस्त जीउडाल र हँसिलो अनुहारका सिन्हाको स्फूर्ति जवान हुँदाको झैं छ । सिन्हालाई लिएर घर जाऊँ भनी सोमबार अपराह्न उनकै च्याम्बरमा आएकी उनकी पत्नी अर्सिलालाई सरकारले सर्वोच्चका न्यायाधीशलाई अवकाशपछि कुनै कामै गर्न नपाउने गरी लगाएको बन्देज चित्त बुझेको छैन । ‘६५ वर्षमा अचेल कोही वृद्ध हुँदैन, सक्ने बेलासम्म काम गर्न दिनुपर्ने हो,’ अर्सिलाले घर जान ठिक्क परेका पतितिर हेर्दै भनिन्, ‘काम गर्ने जोस र उमेर अझै भएको अवस्थामा कि भने अरू कुनै काम गर्न दिनुपर्ने हो, अवकाशपछि केही नगर्नॅ भन्ने नियम ठीक भएन ।’

पत्नीले यसो भनिरहँदा सिन्हा भने अवकाशपछिको जीवनमा गर्ने कामहरूका बारेमा सोचिरहेका थिए । ‘म खाली बस्ने मानिस त होइन,’ उनले भने, ‘लेखपढ गर्छॅ, विश्वविद्यालयतिर गएर पढाउँछु र आफूले जानेका कुरा न्यायाधीशहरूलाई सिकाउँछु पनि ।’ अँ, हरेक शनिबार खेल्ने गल्फको मात्रा भने अब बढ्न पनि सक्छ ।

अर्सिलाको सम्झनामा अधिवक्ता हुँदा सिन्हाको कुनै समयतालिका थिएन । किनभने, मुद्दाका पक्षहरू जतिखेर जहाँ पनि भेट्न पर्ने हुन सक्थ्यो । र, मुद्दामा जति पनि तयारी गर्न पर्ने हुन सक्थ्यो । यसले गर्दा, उनको खाने, सुत्ने वा काममा निक्लने कुनै तालिकावद्ध समय थिएन । एक चल्तीको वकिलको लयबद्ध समय हुन सक्ने प्रश्नै पनि थिएन । तर, न्यायाधीश भएपछि चाहिँ सिन्हाको जीवन घडीको सुईमा चल्न थाल्यो । ठीक दस बजे उनी अदालत पुग्थे । अदालत जानुअघि प्रत्येक पल्ट गोरखनाथको उपासना गरी निधारमा टीका लगाएर निक्लेको अर्सिलाले नित्य देखिन् ।

‘हो, मुद्दा छिन्दा विवाद नआओस् र न्याय नमरोस् भनेर म यसो गर्थे,’ सिन्हा भन्छन्, ‘गुरुकृपाले नभन्दै पछुतो मान्न पर्ने कुनै दिन पनि व्यहोर्नुपरे ।’ आफूलाई किमार्थ बूढो नमान्ने सिन्हासँग उस्तै जोस र जाँगर भए पनि न घडीको तालमा निस्कनुपर्ने तालिका हुनेछ, न दिनरातै व्यस्त हुनुपर्ने गरी हेर्नुपर्ने कुनै मुद्दा हुनेछ ।

प्रकाशित : कार्तिक १४, २०८० ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×