कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

ढोरपाटनमा विदेशी सिकारी

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले नेपाली सिकारीलाई २४ वटा बादेलको सिकार खेल्न खुला गरे पनि कसैले अनुमति लिएनन्
घनश्याम खड्का

म्याग्दी — अमेरिकी नागरिक नाथन हन्टर भेनर यतिबेला ढोरपाटन क्षेत्रमा छन् । उनी यहाँ घुम्न वा कुनै काम विशेषले नभई सिकार खेल्न आएका हुन् । मुलुकको एकमात्र सिकार आरक्ष ढोरपाटनमा गत बुधबारदेखि काँधमा राइफल बोकेर ४० थान गोलीसहित सिकारको खोजीमा निस्किएका उनी कात्तिक २८ सम्म आरक्षमा हुनेछन् । ढोरपाटन आरक्षले उनलाई एउटा नाउर, एक बँदेल सिकार गर्ने अनुमति दिएको हो ।

ढोरपाटनमा विदेशी सिकारी

यस वर्षको शरदयामको सिकार खेल्न भेनरसहित पाँच अमेरिकन, एक जर्मन, एक रसियन र एक जना बेलारुसका गरी ८ विदेशी सिकारीले राष्ट्रिय निकञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट अनुमति लिएका हुन् । उनीहरूले कात्तिक २८ सम्ममा ८ वटा नाउर (नीलभेडा), ४ झारल (हिमाली थार) र ७ वटा बँदेलको सिकार गर्न पाउने भएका हुन् । ढोरपाटन आरक्षअन्तर्गत पूर्वी रुकुममा पर्ने दोगाडी सिकार ब्लगमा नाथनले सिकार गरिरहेका छन् । आरक्षका अनुसार यस वर्ष हिमालयन सफारिज्मार्फत पूर्वी रुकुममा पर्ने दोगाडी, सेङ र सुन्दह ब्लकमा सिकार खेल्न आएका ४ अमेरिकी सिकारी, नेपाल ट्राभल एक्सपिडिसनबाटै बागलुङमा पर्ने फागुने, बार्से तथा पूर्वी रुकुमको घुस्तुङ ब्लकमा अर्का अमेरिकी एक–एकवटा नाउर, झारल र बँदेलको सिकारका लागि गएका छन् ।

त्यस्तै, ग्लोबल सफारिज्बाट बागलुङको फाल्गुने ब्लकमा नाउर, झारल र बँदेलको सिकार खेल्न रसियन पर्यटक सिकारी, ट्रयाक्स एन ट्रेलबाट पूर्वी रुकुमको घुस्तुङ ब्लकमा सिकार खेल्न बेलारुसका एक सिकारी र सोही ब्लकमा नाउर, झारल र बँदेलको सिकार खेल्न हिमालयन वाइल्डलाइफ आउटफिटर्समार्फत जर्मन सिकारीले अनुमति लिएका हुन् । सिकार अनुमति पाएका सबै सिकारीले तोकिएको ब्लकमा तोकिएको समय र निश्चित गोलीबाट स्वीकृत पाएका वन्यजन्तुको मात्र सिकार गर्न पाउनेछन् ।


आरक्षमा २०४४ सालदेखि विदेशी सिकारीले नाउर र झारल सशुल्कसहित पूरक सिकारका रूपमा एक–एक बँदेल र रतुवा तथा १० वटासम्म चराको निःशुल्क सिकार गर्न पाउने व्यवस्था छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले नेपाली सिकारीलाई पनि बँदेलको सिकार खेल्न खुला गरे पनि कसैले अनुमति लिएनन् । निकुञ्जले २४ वटासम्म बँदेल सिकार गराउन नेपाली सिकारीलाई पनि सहभागी गराउन खोजेको थियो ।

ढोरपाटनमा नेपालीले बँदेलको अनुमति लिएर सिकार गर्न पाए पनि नाउर, झारललगायत अन्य वन्यजन्तुको भने सिकार गर्न पाउने छैनन् । आरक्षभित्र पर्ने र सीमावर्ती बस्तीका बासिन्दाले बँदेलले बालीनालीमा ठूलो क्षति पुर्‍याउने र खेतबारीमा काम गर्न गएका कृषकलाई समेत आक्रमण गर्ने गरेको गुनासो सम्बोधन गर्ने, आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने तथा राजस्वसमेत वृद्धि गर्ने उद्देश्यले नेपाली सिकारीलाई पनि सिकार खुला गरेको आरक्षको कार्यालयले जनाएको छ । ‘आन्तरिक पर्यटक बढाउन, राजस्व वृद्धि र स्थानीयको बाली संरक्षण गर्न आउने सिजनदेखि नेपाली सिकारीलाई पनि बँदेलको सिकारमा सहभागी गराउने निर्णय भए पनि नेपाली सिकारी टेन्डरमा सहभागी भएनन्,’ ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले भने, ‘यसअघि पनि राजस्व तिरेर अनुमति प्राप्त विदेशी सिकारीले सप्लिमेन्टीका रूपमा एक बँदेल, एक रतुवा र १० वटा चरा मार्न पाउँथे । बँदेलको संख्या बढी देखिएकाले नेपालीलाई पनि सहभागी गराउन लागेका हौं ।’


प्रमुख संरक्षण अधिकृत कँडेलका अनुसार बँदेल पाइने संख्याका आधारमा उच्च, मध्य र न्यून घनत्वका आधारमा छुट्टै बँदेल सिकार ब्लक बनाइएको छ । ढोरपाटन उपत्यका र म्याग्दीको गुर्जा क्षेत्र बँदेलको उच्च घनत्व क्षेत्रमा पर्छन् । धौलागिरि हिमशृंखलाभित्र रुकुम, म्याग्दी र बागलुङमा १ हजार ३ सय २५ वर्ग किमि क्षेत्रफलमा फैलिएको क्षेत्रमा २०४० सालमा स्थापना भएको ढोरपाटन सिकार आरक्षको एक तिहाइ भाग हिमाली चरन क्षेत्र ‘खर्क’ ले ओगटेको छ ।

मुलुकको एकमात्र सिकार आरक्ष ढोरपाटनमा नाउर, झारल सिकार खेल्न विश्वभरका चर्चित सिकारी आउने गर्छन् । आरक्षको मुख्य आकर्षण नाउर अर्थात् नीलभेडा हो । राष्ट्रिय निकञ्ज तथा वन्यजन्तु संरक्षण विभागले भदौ चौथो साता सिकार खेल्न इच्छुकका लागि टेन्डर आह्वान गर्छ । विभागबाट अनुमति लिएर सेङ, घुस्तुङ, दोगाडी, बार्से, फागुने, सुन्दह र सुर्तीबाङ ब्लकमा नाउर, झारल र बँदेलको सिकार खेल्न पाइन्छ । तर एकै स्थानमा सिकार गर्न भने निषेध छ ।


ढोरपाटन क्षेत्रमा ३२ थरीका स्तनधारी वन्यजन्तु र १ सय ३० प्रजातिका चराचुरुंगी पाइन्छन् । ८ सय ५२ नाउर, दुई सय झारल रहेको ढोरपाटन सिकार आरक्षले जनाएको छ । ढोरपाटनमा हिउँचितुवा, चित्तल, थारल, घोरल, भालु, बँदेल, हिमाली कालो भालु, झुक्ने मृग, रातो पाण्डालगायतका लोपोन्मुख वन्यजन्तुको भने सिकार गर्न निषेध छ । ढोरपाटन पुग्न बागलुङ सदरमुकामबाट ढोरपाटनसम्मै गाडीमा पुग्न सकिन्छ । आरक्षले नजिकै क्याम्पिङ ग्राउन्डको समेत व्यवस्था गरेको छ । आरक्षमा असोज–कात्तिक र चैत–वैशाख गरी दुई सिजन सिकार गर्न सकिन्छ । राष्ट्रिय निकुञ्जबाट सिकार अनुमति लिएका सिकारी ढोरपाटनस्थित आरक्षको कार्यालयबाट जंगल प्रवेश अनुमति र तोकिएका सम्पर्क अधिकारीका साथमा मात्र सिकार गन्तव्यमा जान पाउँछन् । अनुमति प्राप्त सिकारीले राति सिकार खेल्न, बच्चा र पोथी प्रजातिका वन्यजन्तुको सिकार गर्न पनि निषेध छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली २०३० को दफा ७ को (क), (ख) र (ग) मा उल्लेख भएअनुसारका हतियार मात्र प्रयोग गर्न पाइन्छ । विदेशी सिकारी हेलिकोप्टर चार्टर गरी ढोरपाटनमा सिकार खेल्न आउँछन् ।

प्रकाशित : आश्विन २१, २०८० ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×