शान्ति प्रक्रियालाई दाउपेचको विषय नबनाऔं, छिट्टै टुंग्याऔं : अध्यक्ष तिमिल्सिना

काठमाडौँ — राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको शान्ति प्रक्रियालाई छिट्टै टुंग्याउनुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘विस्तृत शान्ति सम्झौता(२०६३) कार्यान्वयनका १७ वर्ष : उपलब्धि, चुनौती र अबको बाटो’ विषयक अन्तरक्रियामा अध्यक्ष तिमिल्सिनाले शान्ति प्रक्रियालाई छिट्टै टुंग्याउनुपर्ने बताएका हुन् ।

शान्ति प्रक्रियालाई दाउपेचको विषय नबनाऔं, छिट्टै टुंग्याऔं : अध्यक्ष तिमिल्सिना

उनले शान्ति प्रक्रियालाई नेपालका राजनीतिक दलहरु आफैं सक्षम भएर टुंगोमा पुर्‍याउनुपर्ने बताएका थिए । शान्ति प्रक्रिया टुंग्याउनुपर्ने विषयमा सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने र कुनै पनि अन्तर्राष्ट्रिय समुदायलाई दोष दिन नहुने उनको भनाइ थियो ।

शान्ति प्रक्रियालाई दाउपेचको विषय बनाउनु नहुने भन्दै अध्यक्ष तिमिल्सिनाले पीडितहरुसँग पनि छलफल गरेर उनीहरुले न्याय पाउनेगरी शान्ति प्रक्रियाको विषय टुंगिनुपर्नेमा जोड दिए । नेपालका राजनीतिक दलहरु एक ठाउँमा उभिएर प्रक्रिया टुंगोमा पुर्‍याए अन्तर्राष्ट्रिय समुदायको चासोलाई सम्बोधन गर्न पनि सकिने उनको सुझाव थियो ।

‘हामी जब सशक्त हुन्छौं । बलियो हुन्छौं । देशमा दलहरु, सरकार बलियो हुन्छ भने अन्तर्राष्ट्रलाई यो हाम्रो राष्ट्रिय आवश्यकता हो । त्यसकारण तिमीले यसमा धेरै हस्तक्षेप नगर । हाम्रा केही आफ्ना विशिष्टताहरु छन् । त्यसकारण यसलाई हाम्रो अनुकुल मान भन्न सकिन्छ । जब हामी कमजोर हुन्छौं अन्तर्राष्ट्रिय गुहार्ने । जहिले पनि हामी यहाँ सत्ता, समीकरण फेरबदल गर्छौं । अनि अन्तर्राष्ट्रिय हाबी भयो भनिरहेका हुन्छौं । जहिले पनि अन्तर्राष्ट्रियलाई दोष दिने अनि हामी सक्षम भनेर कसरी भन्ने ?' अध्यक्ष तिमिल्सिनाले भनेका छन् ।

यस क्रममा उनले आफूहरू सक्षम भएर इमान्दार प्रयत्न गरेको खण्डमा अन्तर्राष्ट्रिय समुदायलाई पनि आग्रह गर्न सकिने बताएका थिए । तर यसका लागि सबै दलहरु एक ठाउँमा उभिएर साझा धारणा बनाउनुपर्ने उनको भनाइ थियो ।

अध्यक्ष तिमिल्सिनाले भने, 'देशको प्रगति गर्ने कुरामा हामी आफैं केन्द्रित भएर लागौं । पीडितहरुसँग छलफल गर्नुपर्‍यो । अन्तर्राष्ट्रिय जगतलाई कहिले कसले प्रयोग गर्ने, कहिले कसले प्रयोग गर्ने । यो शान्ति प्रक्रियालाई दाउपेचको विषय बनाउनु हुँदैन । पुरानो घाउलाई बल्झाइरहने होइन अब सल्ट्याउनका लागि नेतृत्व एक ठाउँमा आउनुपर्‍यो ।’

प्रकाशित : आश्विन ४, २०८० १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?