कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

कांग्रेस केन्द्रीय समिति बैठकका लागि कोइराला समूहका तीन रणनीति

प्रकाश धौलाकोटी

काठमाडौँ — नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले बिहीबारदेखि बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि रणनीति तय गरेको छ । सभापति शेरबहादुर देउवाले १४ औँ महाधिवेशनपछि पहिलोपटक विधानबमोजिम दुई महिनाकै अन्तरालमा केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । पार्टी र राष्ट्रिय राजनीतिका महत्वपूर्ण एजेन्डा नभए पनि यसपटक विधानको व्यवस्थाबमोजिम समयमै कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ ।

कांग्रेस केन्द्रीय समिति बैठकका लागि कोइराला समूहका तीन रणनीति

नेता कोइरालाले बैठकको सम्मुखमा मंगलबार आफ्नो समूहको भेला बोलाएर केन्द्रीय समिति बैठकका लागि रणनीति बनाएका छन् । नेताहरूले पार्टीको बैठकमा सभापति देउवाको कार्यशैली, सरकारका काम र गतिविधि तथा पार्टीको कार्ययोजनाको कार्यान्वयनका विषयमा अडान राख्ने तयारी गरेका छन् । नेता कोइरालाले पार्टी र देशलाई अगाडि बढाउन प्रमुख राजनीतिक दलको हिसाबले गम्भीर भएर अघि बढ्नुपर्ने बेला रहेको रुलिङ गरेका थिए ।

मंगलबारको बैठकमा सुरूमै नेता कोइरालाले समसामयिक विषयवस्तुबारे धारणा राखेपछि महामन्त्री गगन थापाले केन्द्रीय कार्यसमिति बैठकका सम्भावित एजेन्डा र अवस्थाबारे बोलेका थिए । त्यसलगत्तै महामन्त्री थापा बैठकबाट बाहिरिए । पछि बैठकमा उठेका सवालबारे नेता कोइरालाले संक्षिप्त सम्बोधन गरेका थिए ।

सहमहामन्त्री जीवन परियारले केन्द्रीय कार्यसमिति बैठकका सम्भावित एजेन्डा र समूहको रणनीतिबारे छलफल भएको बताए । ‘केन्द्रीय कार्यसमितिमा बैठकमा आगामी महासमिति बैठकको तयारीबारे छलफल हुन्छ । पार्टीका पछिल्ला गतिविधि र समसामयिक राष्ट्रिय राजनीतिका विषयमा समेत छलफल हुन्छ,’ उनले भने, ‘ती विषयहरूमा कसरी प्रस्तुत हुने भनेर छलफल भएको छ ।’

नेताहरूका अनुसार बैठकले मूलतः तीन वटा रणनीति तय गरेको छ ।

सरकारका काम र निर्णय न्यून प्रभावकारी भएकोमा खण्डन गर्ने

कोइराला समूहले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा सरकारका काम र गतिविधिबारे प्रश्न उठाउने भएको छ । नेता कोइरालाले गएका दिनहरूदेखि नै सरकारले प्रभावकारी काम गर्न नसकेको टिप्पणी गर्दै आएका छन् । अब कोइराला समूहले पार्टीको केन्द्रीय समितिमा समेत सो विषयलाई उठान गर्ने भएका हुन् ।

कोइराला निकट नेता एवम् सांसद सञ्जयकुमार गौतमले सरकारका गतिविधि चित्तबुझ्दो नरहेको निष्कर्षमा पुगेको भन्दै त्यसबारे केन्द्रीय समिति बैठकमा कुरा उठाउने बताए । ‘वर्तमान सरकार हाम्रो पार्टीको नेतृत्वमा छैन । तर सरकारमा हाम्रो पार्टी पनि साझेदार छ । सरकारले जनतामा प्रभाव पार्ने गरी काम गर्न सकेको छैन,’ उनले भने, ‘अब कि सरकारले थप प्रभावकारी हुने गरी काम गर्नुपर्छ, कि त हामीले सरकारबाट बाहिरिएर विकल्प खोल्नुपर्ने हुन्छ ।’

बैठकमा पार्टीबाट सहभागी मन्त्रीहरूले समेत सरकारमा प्रभावकारी काम गर्न नसकेको टिप्पणी भएको छ । त्यस्तै, मुलुकको टिठलाग्दो अर्थतन्त्रलाई माथि उकास्न समेत सरकारले आवश्यक पहल लिन नसकेको नेताहरूको भनाइ थियो ।

पार्टीको कार्ययोजनाको पूर्ण कार्यान्वयनको पक्षमा अडान लिने

कोइराला समूहका नेताहरूले पार्टीको यसअघिको बैठकले पारित गरेको वार्षिक कार्ययोजना पूर्ण कार्यान्वयनको पक्षमा अडान प्रस्तुत गर्ने भएका छन् । साउन पहिलो साता बसेको केन्द्रीय समिति बैठकमा महामन्त्रीद्धयको तीब्र आलोचनाका बीच महामन्त्रीहरूकै चाहनाबमोजिम आएको एक वर्षे कार्ययोजना बैठकबाट पारित भएको थियो ।

त्यही कार्ययोजनाअनुरूप कांग्रेसले साउन र भदौमा मात्रै पार्टी संगठन सुधारको दस दिने अभियान र दुई वटा सिर्जनात्मक कार्यक्रमहरू सम्पन्न गरेको छ । तर कार्ययोजनामा समावेश भएपनि केही कार्यक्रमहरू भने यसबीचमै पनि सञ्चालन हुन सकेनन् ।

कांग्रेसले यही दुई महिनाको अवधिमा पोलिसी ह्याकाथन र बीपी साहित्य महोत्सव गर्‍यो । दुवै कार्यक्रममा महामन्त्रीद्धय हाबी भएको भन्दै संस्थापन पक्षका नेताहरूले कार्ययोजनाका बाँकी कामको कार्यान्वयनबारे छलफल गर्नुपर्ने भन्न थालेका छन् । यस्तोमा कोइराला समूहले भने कार्ययोजनाअनुरुप सबै गतिविधि निरन्तर गर्नुपर्ने अडान केन्द्रीय समितिमा प्रस्तुत गर्ने भएको हो ।

‘पार्टीले एउटा निश्चित कार्ययोजना योभन्दा अघिकै बैठकबाट पारित गरिसकेको छ । हामीले अब त्यो कार्ययोजनाको पूणर् कार्यान्वयनकालागि जोड दिएर अघि जानुपर्ने विषयमा अडान लिएर अघि बढ्छौँ,’ केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले भने ।

बैठकले भ्रातृ संस्थाहरूको तदर्थ समिति गठन र विभाग गठनका विषयमा सभापतिलाई जिम्मेवारी दिएको थियो । तर सभापतिले ती काम समयमा नगरेको भन्दै नेताहरूले सभापतिलाई कार्ययोजनाअनुरुप काम गर्न र पार्टी संगठनलाई चुस्तदुरुस्त राख्न दबाब दिनुपर्ने बताएका छन् ।

सभापतिको कार्यशैलीमाथिको बिमति राख्ने

यसबीचमा सभापति देउवाले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघका केन्द्रीय कार्यसमिति विस्तारसहित १५ वटा विभाग गठन गरेका छन् । तर त्यस्तो भ्रातृ संस्थाको गठन र विभाग गठन गर्दा सभापति देउवाले विधि पद्धतिविपरीत एकलौटी गर्ने प्रयास गरेको नेताहरूको आरोप छ ।

‘सभापति पार्टीको महाधिवेशनबाट विजयी भएर आउनुभएको हो । तर भ्रातृ संस्थाको सभापति बन्नुभएको होइन । उहाँले जति मन लाग्यो, त्यति सदस्य दिएर भ्रातृ संस्थाको विधि पद्धतिलाई मिच्न मिल्दैन,’ केन्द्रीय सदस्य रसाइलीले भने, ‘केन्द्रीय समिति बैठकमा यसबारे पनि प्रश्न उठाइनेछ ।’

नेताहरूले नेविसंघलाई ७०० सदस्य बनाउँदा पनि सबैलाई समेट्न नसकेको र सकेसम्म आफ्नै गुटका कार्यकर्तालाई मात्रै समेट्न खोजेको भन्दै विरोध जनाएका छन् । ‘भ्रातृ संस्थालाई ४००/५०० सदस्यसम्म बनाइएको छ । त्यस्तो भ्रातृ संस्था हुनु र नहुनुको के अर्थ हुन्छ ?,’ केन्द्रीय सदस्य सञ्जयकुमार गौतमले भने ।

समयमा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरूमा सभापति देउवाले मनोनीत गरेर केन्द्रीय समितिहरू विस्तार भएपनि तिनको शपथ ग्रहणसम्म पनि हुन सकेको छैन ।

प्रकाशित : आश्विन २, २०८० २२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×