कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

जनगुनासो नआउने गरी काम गरौं : कार्यवाहक प्रधानमन्त्री खड्का

काठमाडौँ — कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मन्त्रिपरिषद्का सदस्यहरूलाई जनतासँग जोडिएका र सेवाप्रवाह कुनै गुनासो नआउने गरी काम गर्नुपर्नेमा जोड दिएका छन् । रक्षामन्त्रालयमा सोमबार मन्त्रीहरूसँग छलफल गर्दै उनले आ-आफ्नो मन्त्रालयको काम जनतालाई सन्तुष्ट हुनेगरी सम्पादन गर्न लाग्नुपर्नेमा जोड दिए । 

जनगुनासो नआउने गरी काम गरौं : कार्यवाहक प्रधानमन्त्री खड्का

प्रधानमन्त्री पुष्पकमल दाहाल विदेश भ्रमणमा रहेकाले रक्षामन्त्री खड्का कार्यवाहक छन् । यस्तो बेला जनतासँग जोडिएका सेवाप्रवाहका काममा गुनासो आउन नहुनेमा उनी सतर्क देखिएका हुन् ।

छलफलमा उनले शान्ति सुरक्षामा खलल पुर्‍याउने र नागरिकमा वितृष्णा फैलाउने तत्वहरू सक्रिय हुन खोजेको बताए । त्यसप्रति सजग भई सबै मन्त्रालयले काम गर्नुपर्नेमा उनको जोड थियो । संविधान दिवस र नजिकिँदै गरेका चाडपर्वहरूमा शान्ति-सुरक्षादेखि बजारको आपूर्ति व्यवस्थामा सहजता ल्याउँदै कालाबजारी र महँगी नियन्त्रणमा नतिजा आउने र आम नागरिकले राहत महसुस गर्नेगरी समयसीमा तोकेरै सबैले काम गर्नुपर्ने उनले बताए ।

सबै मन्त्रालयको कार्यसम्पादन बढाउने र जनतालाई प्रदान गर्ने सेवाप्रवाह थप चुस्त र प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो । चाडपर्वका बेला सवारी आवागमन बढ्ने भएकाले सडक सुधार तथा सुरक्षालाई थप प्रभावकारी बनाउन तत्काल कार्ययोजना बनाई महत्त्वका साथ सरकारले लाग्नुपर्नेमा खड्काको जोड थियो ।

छलफलमा सहभागी उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत मन्त्रीहरूले शान्ति-सुरक्षा‚ बजारको आपूर्ति व्यवस्थाबारे आ-आफ्नो मन्त्रालयबाट हुने काममा प्रभावकारी तवरले गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित : आश्विन १, २०८० २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×