कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

सुवास नेम्वाङको निधन सिंगो प्रणालीलाई नै क्षति : एमाले

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले सुवास नेम्वाङ नेपाली समाजलाई राम्रोसँग परिचित नेता भएको बताएका छन् । बिहीबार संसदीय दलको बैठकमा अध्यक्ष ओलीले नेम्वाङसँग आफ्नो ४९ वर्ष निकट सम्बन्ध रहेको उल्लेख गर्दै उनी सधैं न्यायको पक्षमा उभिएको बताएका हुन् । 

सुवास नेम्वाङको निधन सिंगो प्रणालीलाई नै क्षति : एमाले

'संसद् पुन:स्थापना भएपछि सभामुखका रूपमा सबैले मनले छानेको सभामुखको रूपमा रहनुभयो । उहाँले सभामुखका रूपमा निभाएको भूमिकाका कारण पाएको विश्वास र सम्मान कुनै अर्को सभामुखको पाउँछ कि पाउँदैन हेर्नुपर्ने हुन्छ,' अध्यक्ष ओलीले भने, 'राजनीतिक दलभन्दा माथि उठेर सभामुखका रूपमा संविधान, कानुनअनुसार चल्ने, आफैंले आफैंलाई कानुनमा बाँध्नुपर्छ, कानुनअनुसार चल्नुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो ।'

सुवास नेम्वाङको निधनले सिंगो प्रणालीलाई क्षति पुगेको अध्यक्ष ओलीले बताए । उनले नेम्वाङको सम्मानमा सरकारले पनि कुनै कञ्जुस्याइँ नगरेको उल्लेख गर्दै भने, 'उहाँजस्तो लिडिङ फिगर गुमाउनु सिंगो प्रणालीलाई क्षति हो । सरकारले सम्मानमा कुनै कञ्जुस्याइँ गरेन । राजकीय सम्मान, बिदा घोषणा गर्‍यो ।'

सामाजिक सद्‍भाव र राष्ट्रिय एकताका पक्षमा सधैं उभिएका नेम्वाङले गत २३ गते धरानमा दिएको अन्तिम भाषणमा पनि विविधता कायम गर्नेबारेमा बोलेको अध्यक्ष ओलीले बताए ।

संसदीय चुनावमा कहिल्यै नहारेका नेम्वाङ राष्ट्रपति पदमा भने पराजित भएका थिए । अध्यक्ष ओलीले त्यो हार पनि धोकाका कारण भएको बताए । अध्यक्ष ओलीले भने, 'यसअघिका निर्वाचनमा उहाँले कुनै निर्वाचनमा पराजय भोग्नुपरेको थिएन । उहाँले यसपल्ट मात्रै राष्ट्रपति निर्वाचनमा पराजित हुनुभयो । हामीले गम्भीर धोका खायौं र पराजित हुनुभयो । देशका लागि ठूलो क्षति त्यो पराजय पनि थियो ।'

साथै एमाले संसदीय दलको बैठकले प्रतिनिधिसभा सदस्यसमेत रहेका सुवास नेम्वाङको निधनमा शोक प्रस्तावसमेत पारित गरेको छ ।

प्रकाशित : भाद्र २८, २०८० १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×