कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

अस्पताल पुर्‍याउनुअघि नै निधन

अतुल मिश्र

काठमाडौँ — नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको सोमबार अबेर राति महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुर्‍याउनुअघि नै निधन भएको अस्पतालले जनाएको छ । चिकित्सकहरूले हृदयाघातका कारण नेम्वाङको निधन भएको आशंका गरेका छन् । 

अस्पताल पुर्‍याउनुअघि नै निधन

७१ वर्षीय नेम्वाङलाई सोमबार राति १.५० बजे उपचारका लागि शिक्षण अस्पताल पुर्‍याइएको थियो । शिक्षण अस्पतालका निमित्त कार्यकारी निर्देशक डा.सन्तकुमार दासका अनुसार राति ३ बजे उनलाई मृत घोषणा गरिएको थियो ।

शिक्षण अस्पतालका अनुसार त्यहाँ पुर्‍याउँदा उनको आँखाको नानी फुलेको, रक्तचाप र नाडीको चाल थिएन । श्वासनलीमा अक्सिजन पाइप राखेर ३५ मिनेटसम्म सीपीआर (कार्डियोपल्मोनरी रिसुसिटेसन) गर्दा पनि बचाउन नसकिएको अस्पताल स्रोतले जनायो ।

उपचारमा संलग्न एक चिकित्सकले परिवारका सदस्यको भनाइ उद्धृत गर्दै राति १ बजे उनलाई शौचालयमा अचेत अवस्थामा भेटेपछि अस्पताल ल्याइएको थियो । उनलाई सास फेर्न धेरै अप्ठेरो (ग्यास्पिङ) भइरहेको र अचेत अवस्थामा थिए । मधुमेह र उच्च रक्तचापका बिरामी नेम्वाङलाई पछिल्लो समय ज्वरो र रुघाको समस्या देखिएको परिवारका एक सदस्यको भनाइ उद्धृत गर्दै चिकित्सकले बताए ।

संसद् सचिवालयका चिकित्सक डा.पुष्पराज रिजालका अनुसार नेम्वाङ लामो समयदेखि मधुमेह र उच्च रक्तचापको औषधि नियमित रूपमा सेवन गरिरहेका थिए । त्यस्तै उनले मुटुको चालमा हुने उतारचढाव नियन्त्रणका लागि पनि नियमित औषधि सेवन गर्दै आएका थिए । ‘उहाँ चिकित्सकद्वारा प्रस्तावित हरेक औषधि नियमित रूपमा लिइरहनुभएको थियो’, डा.रिजालले भने, ‘पछिल्लो १०–१२ वर्षदेखि नियमित औषधि सेवनसँगै उहाँ स्वस्थ हुनुहुन्थ्यो ।’

नेम्वाङको सोमबार बिहान पनि स्वास्थ्य परीक्षण गरिएको थियो । उक्त परीक्षणमा कुनै समस्या नदेखिएको डा. रिजालले बताए । डा. रिजालले सोमबार साँझ पनि फोन गरेर नेम्वाङको स्वास्थ्य अवस्था बुझेका थिए । ‘सोमबार साँझ करिब पौने ६ बजेतिर उहाँलाई फोन गरेर सोधेको थिएँ,’ डा.रिजालले भने, ‘उहाँले आफूलाई ठीक रहेको, खाने कुरा खाएको र आउनु नपर्ने बताएका थिए ।’ नेम्वाङ केही दिनअघि मात्र धरानबाट फर्केका थिए । धरानबाट फर्केपछि उनलाई सामान्य ज्वरो आएको थियो । त्यसपछि चिकित्सकको सिफारिसमा सिटामोल खाइरहेका थिए ।

चिकित्सकहरूका अनुसार मधुमेह र उच्च रक्तचापका बिरामी रहेका नेम्वाङको हृदयाघातका कारण निधन भएको हुन सक्ने आशंका छ । ‘सडन डेथ (एक्कासि निधन) त धेरैजसो हर्ट एट्याकले हुन्छ तर अहिले किटान गरेर मृत्युको कारण भन्न सकिँदैन,’ डा.दासले भने, ‘मृत्युको निश्चित कारण पोस्टमार्टम गर्दा थाहा हुन्छ तर हाम्रो मुलुकमा यस्तो घटनामा पोस्टमार्टम गर्ने चलन छैन ।’

प्रकाशित : भाद्र २७, २०८० ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×