कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

संसदीय अभ्यासका कैयन् विषय सिकाउने सुवास दाइको अभाव सधैं खड्किनेछ : महामन्त्री थापा

काठमाडौँ — कांग्रेस महामन्त्री गगन थापाले एमाले उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको असामयिक निधनको खबरले आफूलाई स्तब्ध बनाएको बताएका छन् ।

संसदीय अभ्यासका कैयन् विषय सिकाउने सुवास दाइको अभाव सधैं खड्किनेछ : महामन्त्री थापा

महामन्त्री थापाले संविधान सभा अध्यक्ष हुँदा संविधान निर्माणमा सहमति र सहकार्यका लागि नेम्वाङले गरेको समन्वयकारी भूमिका स्मरणीय रहने बताएका छन् ।

आफू संविधानसभा सदस्य हुँदा नेम्वाङले अभिभावकीय भूमिका खेलेको सम्झिँदै उनको अभाव सधैं खड्किइरहने महामन्त्री थापाको भनाइ छ । महामन्त्री थापाले सामाजिक सञ्जालमा लेखेका छन्, 'म संविधानसभा सदस्य हुँदा र अहिले पनि अभिभावक जस्तै भएर संसदीय अभ्यास र प्रक्रियाका सन्दर्भमा कैयन् विषयमा मलाई सिकाउने, बुझाउने सुवास दाइको अभाव सधैँ खड्किनेछ। उहाँको आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली साथै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।'

काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लैजाने क्रममा सोमबार राति नेम्वाङको निधन भएको हो । एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए । उनी हाल इलाम-२ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।

संविधानसभाका अध्यक्ष नेम्वाङको पार्थिव शरीर केहीबेरपछि पार्टी केन्द्रीय कार्यालयमा लगिने एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिए। नेम्वाङको पार्थिव शरीर आज दिनभर पार्टी कार्यालयमा राखिने र बुधबार अन्त्येष्टि गरिने जनाइएको छ ।

प्रकाशित : भाद्र २६, २०८० ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×