३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

डेंगीको जोखिम कात्तिकसम्म रहने

अतुल मिश्र

काठमाडौँ — स्वास्थ्यविज्ञहरूले यस वर्ष डेंगीको जोखिम कात्तिक महिनासम्म रहने बताएका छन् । दुई महिनाअघिको संक्रमणको अवस्थाअनुसार हाल धेरै फैलावट नदेखिए पनि ‘खोज र नष्ट गर’ लगायत अभियानलाई निरन्तरता दिन उनीहरूको सुझाव छ ।

डेंगीको जोखिम कात्तिकसम्म रहने

यो वर्ष हालसम्म मुलुकभर देखिएको कुल संक्रमणको ५४.२५ प्रतिशत सुनसरीमा देखिएको छ । कोशी प्रदेशमा मात्रै ७६.१० प्रतिशत संक्रमण फैलिएको छ । ७५ जिल्लामा देखिएको डेंगीका कारण १३ जनाको मृत्यु रेकर्ड गरिएकामा १० जना धरानका मात्रै छन् । यो वर्ष सुनसरीपछि कुल संक्रमणको १०.९ प्रतिशत मोरङमा, १० प्रतिशत धादिङमा, ६.४ प्रतिशत झापामा देखिएको छ ।

गत वर्ष अगस्टमा देशभरमा ३ हजार ७ सय ८ जनामा संक्रमण देखिएकोमा यस वर्षको अगस्ट २९ सम्म १२ हजार ७ सय ९६ मा संक्रमण देखिएको छ । गत वर्ष सबैभन्दा बढी सेप्टेम्बरमा २७ हजार ५ सय २९ संक्रमण देखिएर क्रमशः कम हुँदै डिसेम्बरमा ४ सय ८३ केसमा पुगेको थियो । २०२२ मा जम्मा ५४ हजार ७ सय ८४ मा संक्रमण देखिँदा ८८ जनाको ज्यान गएको थियो ।

‘विभिन्न तथ्यांक विश्लेषण गर्दा गत वर्ष जस्तै प्रवृत्ति यो वर्ष नदेखिने सम्भावना पनि छ । दुई महिनाअघिको केसको ट्र्र्न्डे हेर्दा खासै बढेको छैन,’ स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालले भने । उनका अनुसार डेंगीको जोखिम कात्तिक अन्तिम सातासम्म कायमै रहने सम्भावना छ ।

गत वर्ष मुलुकभर कुल डेंगीको ५५ प्रतिशत काठमाडौं उपत्यका र २५.७७ प्रतिशत काठमाडौं जिल्लामा देखिएको थियो भने यस पटक यहाँ फाट्टफुट्ट संक्रमण देखिएको छ । हालसम्म काठमाडौं उपत्यकामा देशभर देखिएको कुल संक्रमणको ३.५५ प्रतिशत र काठमाडौंमा मात्रै २.०५ प्रतिशत देखिएको हो । यो वर्ष हालसम्म काठमाडौंमा ४ सय २५, ललितपुरमा १ सय ७४ र भक्तपुरमा १ सय ३४ मा संक्रमण देखिएको छ । डा. दाहालका अनुसार धरान, कोशी प्रदेशलगायत अन्य जिल्लाबाट उपचारका लागि आएका बिरामीको तथ्यांकसमेत काठमाडौं उपत्यकामा रेकर्ड गरिएको छ ।

नेपालमा डेंगीको पहिलो केस सन् २००४ मा चितवनमा एक विदेशी नागरिकमा पुष्टि भएको थियो भने यो संक्रमणको पहिलो प्रकोप सन् २००६ मा चितवनमै रेकर्ड गरिएको हो ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार डेंगी भाइरसका संक्रमण धेरैजसो एसिम्प्टोमेटिक (लक्षणरहित) हुन्छन् । तिनले हल्का रोग उत्पन्न गर्छन्, तर डेंगीले कहिलेकाहीं धेरै गम्भीर अवस्था निम्त्याउनुका साथै मृत्यु पनि हुन सक्छ । डेंगीका लागि कुनै विशिष्ट उपचार छैन । तर छिटो रोग पत्ता लगाउनुका साथै उचित चिकित्सकीय हेरचाहले मृत्युदर १ प्रतिशतभन्दा कम हुन्छ ।

प्रकाशित : भाद्र १३, २०८० ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्मा हाजिर गरेर टाप कस्ने, बैठकमा पूर्ण समय नबस्ने सांसदहरूबारे तपाईंको के टिप्पणी छ?