कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५३

पूर्वसूचना दिइन्छ, सतर्कता अपनाइँदैन

गोविन्द पोखरेल

काठमाडौँ — खोलानालामा आउने बाढीको पूर्वसूचना समयमै उपलब्ध भए पनि सतर्कता नअपनाउँदा ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले गत साउन २२ मा सर्लाही, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सालगायत जिल्ला र आसपास भई बहने केही स–साना नदीहरूमा आकस्मिक बहावको जोखिम रहेको भन्दै सचेत हुन भन्यो ।

पूर्वसूचना दिइन्छ, सतर्कता अपनाइँदैन

त्यसको भोलिपल्ट मधेश र सुदूरपश्चिम प्रदेशका तराई र चुरेका केही स–सना नदीहरूमा आकस्मिक बहावको जोखिम रहेकाले थप सचेत हुन आग्रह गर्‍यो । विभागले मौसम पूर्वानुमानसम्बन्धीको विवरण त्यस क्षेत्रका जनप्रतिनिधि, सांसद, प्रमुख जिल्ला अधिकारीलगायत सरकोरवालालाई एसएमसमार्फत पनि जानकारी गरायो ।

तर, साउन २३ मा सर्लाही र रौतहटको सीमा भएर बग्ने वाग्मती नदीमा आएको बाढीले बगाउँदा गढीमाई नगरपालिका–२ समनपुरका ६५ वर्षीय सहिद रहिम भाटको मृत्यु भयो । त्यसै दिन सर्लाहीको बाँके खोलामा आएको बाढीले बगाउँदा हरिपूर्वा नगरपालिका–७ वसन्तपुरका ६० वर्षीय भोला चौधरीको मृत्यु भयो । त्यस्तै कमला नदीमा आएको बाढीले बगाएर ल्याएको काठ संकलन गर्ने क्रममा गणेशमान चारनाथ नगरपालिकाका–७ का ३५ वर्षीय साजन परियार र उनकी श्रीमती ३० वर्षीया मनमाया परियारलाई खोलाले बगायो ।

महाशाखाले एसएमएस र सामाजिक सञ्जालमार्फत बाढीको पूर्वानुमान र त्यससम्बन्धी सतर्कता अपाउन भन्दै सूचना गरे पनि स्थानीय स्तरसम्म नपुग्दा बाढीका कारण यो वर्ष मात्रै ११ जनाको ज्यान गएको छ । पटक–पटक सूचना पठाउँदा पनि पूर्वतयारी र सावधानी नअपनाउँदा क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सूचना अधिकारी ध्रुव खड्का बताउँछन् । स्थानीय स्तरसम्म जानकारी पुर्‍याउँदा पनि सूचनालाई गम्भीर रूपमा लिने नगरिएको उनले बताए ।

प्राधिकरणका अनुसार मनसुन सुरु भएयता देशभर बाढीले बगाउँदा २० जना बेपत्ता छन् । यस्तै, ७ जना घाइते भएका छन् । बाढीबाट ३ हजार ६ सय ७० घर प्रभावित भएका छन् । प्राधिकरणका अनुसार बाढीका कारण हालसम्म ५ करोड १३ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

वैशाख १ देखि साउन २८ सम्मको तथ्यांक हेर्दा ९९ वटा भारी वर्षाको घटनाबाट १ जनाको मृत्यु, १२ जना घाइते र २१७ परिवार प्रभावित भएका छन् । जसबाट ९८ लाख ९९ हजार रुपैयाँको क्षति भएको छ । यस्तै, पहिरोका ४ सय २० वटा घटनाबाट ३८ जनाको मृत्यु, ९ जना बेपत्ता र ४६ जना घाइते भएको प्राधिकरणले उल्लेख गरेको छ । पहिरोबाट १ हजार ८५२ परिवार प्रभावित भएका छन् भने ४ करोड ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

बाढीको पूर्वसूचना दिनका लागि देशभर स्वचालित जल सतह मापन केन्द्रहरू १४० स्थानमा निर्माण गरिएका थिए । गत वर्ष र यस वर्ष आएका बाढीले केही मापन केन्द्र बगाउँदा हाल १२४ वटा पूर्ण रूपमा सञ्चालनमा छन् । यस वर्ष तिनाउमा राखिएको प्रणाली, तमोर, पोखराको राहुघाट, वाग्मती नदी नजिकै पर्ने मकवानपुरको राई गाउँमा राखिएका मापन केन्द्रहरू बगाएको हाइड्रोलोजिस्ट सुनिल पोखरेलले जानकारी दिए । सरकारले विपद् प्रतिकार्यका लागि उद्धारकर्मीहरूको क्षमता वृद्धि तथा तालिम पनि सञ्चालन गर्ने गरेको छ । यस वर्ष ११ हजार ६ सय ६७ जनाले तालिम पाएको सूचना अधिकारी खड्काले जानकारी दिए । विभागले दैनिक रूपमा पूर्वानुमान गरेर ३ दिनको पूर्वसूचना दिने गर्छ । नदीले जोखिमको सतहमा पुग्नेबित्तिकै विभागले एसएमएसमार्फत सूचना पठाउँछ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव बाढीको जोखिम र हुन सक्ने क्षतिबारे सम्बन्धित पालिका र जनप्रतिनिधिलाई जानकारी गराए पनि त्यसलाई बेवास्ता गरिएको बताउँछन् । उनी भन्छन्, ‘हामीले विपद्को पूर्वतयारी, प्रतिकार्य, कोष सबै व्यवस्था गरेका छौं । स्थानीय तहहरूले पनि बजेट छुट्याएका छन् तर यसलाई गम्भीर रूपमा लिएको पाइँदैन ।’ उनले सामाजिक सञ्जाललगायत सबै किसिमको सञ्चारमाध्यमबाट पूर्वसूचना गरिए पनि स्थानीयले अटेरी गर्दा क्षति भएको दुखेसो गरे ।

विभागले एसएमसमार्फत तल्लो तटीय क्षेत्रमा पूर्वसूचना सम्प्रेषण गर्दै आएको हाइड्रोलोजिस्ट पोखरेलले बताए । गत वर्ष १ करोड ३१ लाख ७० हजार ६८ वटा एसएमएस पठाइएको उनले जानकारी दिए । यस्तै, यो वर्ष विभागले ७ लाभन्दा बढी एसएमस पठाइसकेको छ । प्राधिकरणका सूचना अधिकारी खड्का भन्छन्, ‘यो त सरकारी सूचनालाई विश्वास नगरेको देखिन्छ ।’

हरेक किसिमको विपद्का घटनासँग जुध्नका लागि केन्द्रदेखि प्रदेश हुँदै स्थानीय तहसम्म विपद् जोखिम, न्यूनीकरण, उद्धार तथा प्रतिकार्य योजनाहरू निर्माण गर्नुपर्ने हुन्छ । त्यसका लागि सबै तहका सरकारहरूले विपद्को योजना बनाउने, जोखिमको न्यूनीकरण गर्ने, पूर्वतयारी, प्रतिकार्य, खोज–उद्धार कार्य, राहत र पुनःस्थापनासम्बन्धीका योजनासँगै बजेट विनियोजन गरिएको हुन्छ ।

तर सीमित स्थानीय तहले मात्र प्रभावकारी काम गरेको खड्काको भनाइ छ । पालिकाहरूले विपद् व्यवस्थापन कोष खडा गरे पनि त्यससँग जुध्ने किसिमका योजनाहरू निर्माण गरेको पाइँदैन । स्थानीय तहमा वडा तहसम्म विपद् आपत्कालीन कार्य सञ्चालन केन्द्र हुनुपर्छ । त्यस्ता केन्द्रहरूमा २४ सै घण्टा तैनाथ जनशक्तिहरू हुनुपर्ने, केन्द्रबाट नै सूचना संकलन तथा प्रसारण गर्नुपर्ने हुन्छ । तर सबै स्थानीय तहमा ती केन्द्रहरू निर्माण भएका छैनन् ।

पूर्वोत्तर मोरङको उर्लाबारी नगरपालिकाले वडा तहसम्म विपद् व्यवस्थापन समिति निर्माण गरेको छ । तर त्यस समितिलाई सक्रिय बनाउने र पूर्वतयारी तथा सूचना प्रणाली भने निर्माण गरिएको छैन । नगरपालिकामा हरेक वर्ष बक्राहाल, सुनझोडा, नुनसरी खोलामा आउने बाढीका कारण सयौं बिघा जमिन बगाउने गरेको नगर प्रवक्ता भिष्म बुढाथोकीले बताए ।

मुलुकको राजधानी भएको काठमाडौं महानगरपालिकाले पनि यस वर्ष विपद्सम्बन्धी जुध्ने, विपद्को जोखिम, प्रतिकार्य, न्यूनीकरणलगायतका योजनाहरू निर्माण गरिसकेको छैन । महानगरका विपद् व्यवस्थापन शाखाका प्रमुख देवेन्द्रप्रसाद पोखरेल २०८० को विपद् पूर्वतयारी तथा फोकससम्बन्धीको विवरण भदौसम्ममा निर्माण गरिने बताउँछन् ।

उनले डुबान हुन सक्ने क्षेत्रहरू गत वर्षकै आधारमा पहिचान गरिएको जानकारी दिए । विपद्को पूर्वसंकेत प्रणाली स्थानीय तहको क्षमता अभावका कारण विकास गर्न नसकिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेल भन्छन्, ‘स्थानीय तहहरूमा ज्ञान र क्षमता पर्याप्त नभएकाले हामीले केही ठाउँमा यस्ता प्रणालीको विकास गरेका छौं ।’ केही नदीहरूमा प्राधिकरणको सहयोगमा गज, स्टेन्ड राखेर पानीको सतह राख्ने गरिएको उनले बताए ।

प्रकाशित : श्रावण २९, २०८० ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×