२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

आँखा पाक्ने रोगले धमाधम विद्यालय बन्द

विद्यार्थी–शिक्षकसँगै संक्रमण घरघर पुग्न थालेपछि समुदायस्तरमै रोग फैलने चिन्ता
कान्तिपुर टिम

काठमाडौँ — आँखा पाक्ने रोग फैलन थालेपछि धमाधम विद्यालय बन्द भएका छन् । विद्यार्थी–शिक्षकसँगै संक्रमण घर–घर पुग्न थालेपछि केही दिनका लागि विद्यालय बन्द गर्न थालिएको हो ।

आँखा पाक्ने रोगले धमाधम विद्यालय बन्द

स्वास्थ्य संस्थाहरूमा आँखा रातो हुने, पाक्ने, चिलाउने, पानी बग्ने तथा पोल्नेजस्ता समस्या लिएर बिरामीको चाप बढ्दै गएको छ ।आँखाका बिरामी बढेपछि चितवनका तीन स्थानीय तहले विद्यालय बन्द गरेका छन् ।

भरतपुर महानगर, रत्ननगरका सबै शिक्षण संस्था बन्द भएका छन् । भरतपुरमा सोमबारदेखि शुक्रबारसम्म शिक्षण संस्था बन्द गर्ने निर्णय भएको नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेलले बताए । रत्ननगरका शिक्षा अधिकारी बद्रीनारायण शर्माका अनुसार नगरभित्रका सबै विद्यालय बुधबारसम्म बन्द गरिएको छ । खैरहनी नगरपालिकाले गत शुक्रबार नै सूचना निकालेर रोग नियन्त्रणमा नआए बुधबारसम्म विद्यालय बन्द गर्ने जनाएको थियो ।

दुई साताअघि खैरहनीमा देखिएको आँखा पाक्ने रोग छिमेकी पालिकामा पुगिसकेको स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीले बताए । आँखा उपचार हुने जिल्लाको मुख्य अस्पताल भरतपुर आँखा अस्पतालसहित यसका १४ वटा इकाईमा बिरामीको संख्या दोब्बर पुगेको छ ।

दैनिक करिब १२ सय बिरामी आउने मुख्य अस्पताल र सहायक केन्द्रहरूमा आइतबार २ हजार ३ सय ५७ जना आएको अस्पतालका वरिष्ठ प्रशासक दयाशंकर चौधरीले बताए । तीमध्ये ६० प्रतिशतभन्दा बढी आँखा पाक्ने समस्या भएका व्यक्ति छन् । संक्रमण झनै बढ्न सक्ने भएका कारण सावधानी अपनाउन स्वास्थ्य कार्यालयले अपिल गरेको छ ।

सातायता देखिएको आँखा पाक्ने रोग व्यापक भएपछि सोमबारदेखि धनकुटाका अधिकांश संस्थागत विद्यालय बन्द छन् । धनकुटा–६ स्थित बालसंसार बोर्डिङ स्कुलमा आइतबार एकै दिन एक सय बढी विद्यार्थी आँखा पाक्ने समस्याका कारण अनुपस्थित भएपछि आकस्मिक रूपमा बन्द गरिएको प्रिन्सिपल दिनेश अधिकारीले बताए । विद्यालय शुक्रबारसम्मका लागि बन्द गरिएको हो । तमोर भ्याली बोर्डिङ स्कुल पनि विद्यार्थीमा पनि संक्रमण देखिएपछि बन्द गरिएको छ । जोखिमको अवस्था हेरेर बिदा समायोजन हुने गरी बन्द गर्न सूचना गरेको नगरका शिक्षा शाखा प्रमुख नगेन्द्रमणि श्रेष्ठले बताए । शिक्षा विकास तथा समन्वय इकाई केन्द्र प्रमुख मोहन राईका अनुसार सात वटै पालिकाका विद्यालयमा प्रकोप देखा परेको छ ।

पछिल्लो समयमा डेंगी तथा आँखा पाक्ने समस्या बढ्दै गएकाले सजग रहन तथा औषधि व्यवस्थापनमा समन्वय गर्न पालिकाका शिक्षा शाखामा पत्राचार गरिएको स्वाथ्य कार्यालय प्रमुख गोकुल भण्डारीले बताए । ‘जहाँ प्रकोप बढ्दो छ, त्यहाँको अवस्थाका आधारमा विद्यालय बन्द गर्न पत्राचार गरिएको छ,’ भण्डारीले भने । शिक्षा निर्देशनालयका निर्देशक कृष्ण पोखरेलका अनुसार कोशी प्रदेशका सबै जिल्लाका विद्यालयमा आँखा पाक्ने समस्या देखिएको छ । उनले विराटनगर महानगरभित्रका विद्यालय पनि दुई दिन बिदा गरिएको बताए ।

धनकुटास्थित डा.रामप्रसाद पोखरेल आँखा अस्पतालमा एक सातादेखि दैनिक औसत एक सयभन्दा बढी बिरामी आँखा पाक्ने समस्या लिएर पुग्ने गरेका छन् । बिरामी बढ्दै जाँदा औषधि अभाव भएको अस्पतालले जनाएको छ । आँखा रातो हुने, चिलाउने, पानी बग्ने तथा पोल्नेजस्ता समस्या लिएर बिरामीको चाप बढ्दै गएको अस्पतालका डा. समीर चापागाईंले बताए । स्वास्थ्य कार्यालय प्रमुख गोकुल भण्डारीका अनुसार उक्त अस्पतालमा औषधि अभाव भए पनि बजारमा पर्याप्त छ ।

सिन्धुलीको कमलामाई नगरपालिकाले पनि आँखा पाक्ने रोग फैलिन नदिन पाँच दिनका लागि विद्यालय बन्द गरेको छ । सिन्धुली अस्पताल परिसरमा रहेको सामुदायिक आँखा उपचार केन्द्रले दैनिक तीन सयसम्म बिरामी आँखा उपचारका लागि आउने गरेको जनाएको छ । सिन्धुली अस्पतालका व्यवस्थापक विमल श्रेष्ठका अनुसार आँखा उपचार केन्द्र र अस्पताल दुवै ठाउँमा उपचार भइरहेको छ । धेरैजसो बिरामी मेडिकलतिर गइरहेका छन् । चिकित्सकसँग जँचाउन पालो पर्खिनुपर्ने भन्दै बिरामी मेडिकलतिर लागेका हुन् ।

कमलामाईका सबै विद्यालय सोमबारदेखि शुक्रबारसम्मका लागि बन्द गरिएको नगर प्रमुख उपेन्द्रकुमार पोखरेलले बताए । विद्यार्थी–शिक्षकहरू आँखा पाक्ने रोगबाट ग्रसित भएकाले फैलिन नदिन विद्यालय बन्द गर्नुपरेको नगर प्रमुख पोखरेलको भनाइ छ । सिन्धुली अस्पताल तथा सदरमुकामका मेडिकलहरूमा तीन/चार दिनयता आँखा पाक्ने रोगको औषधि लिनेको भीड छ । नगरपालिकाले सरसफाइ, चस्माको प्रयोग र भीडभाडमा नजान अनुरोध गरेको छ ।

गोरखामा पनि एक सातायता आँखा पाक्ने रोगका बिरामी बढेका छन् । जाँचका लागि आएका मध्ये ६० प्रतिशतमा आँखा पाक्ने समस्या देखिएको छ । एक सातायता केन्द्रमा आँखा परीक्षण गराउन आएका ४ सय ९३ मध्ये २ सय ९५ जनामा आँखा पाक्ने समस्या देखिएको केन्द्रका प्रशासकीय अधिकृत विश्वप्रकाश अर्यालले बताए । बिरामीमध्ये बढीजसो बालबालिका छन् ।

दुई सातायता पूर्वी नवलपरासीमा बिरामी बढेपछि दुई स्थानीय तहका विद्यालयमा चार दिन बिदा दिइएको छ । कावासोती नगरपालिका र हुप्सेकोट गाउँपालिकाले सोमबारदेखि चार दिनका लागि विद्यालय बन्द गरेका हुन् । जिल्ला अस्पतालका सूचना अधिकृत छवि सुवेदीका अनुसार जिल्ला अस्पतालमा दैनिक ३० देखि ४० जना बिरामी आँखाको समस्या लिएर आउने गरेका छन् । त्यसरी आउनेमा विद्यार्थी धेरै छन् । जिल्लाभरि यो रोगबाट हालसम्म ७ देखि ८ हजार जना संक्रमित भएको अनुमान छ ।

- रमेशकुमार पौडेल (चितवन), रमेशचन्द्र अधिकारी (धनकुटा), राजकुमार कार्की (सिन्धुली), हरिराम उप्रेती (गोरखा) र नारायण शर्मा (पूर्वी नवलपरासी)

प्रकाशित : श्रावण २३, २०८० ०६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?