कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९
क्विन्टल सुन तस्करी प्रकरण

राष्ट्रिय सभामा पनि एमालेको अवरोध

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै राष्ट्रिय सभाको बैठकमा अवरोध गरेको छ । राष्ट्रियसभाको बिहीबारको बैठकको सुरुवातमै एमाले सांसद भैरवसुन्दर श्रेष्ठले सुन तस्करी प्रकरणमा जोसुकै संलग्न भएपनि कारबाहीको दायरामा ल्याउने सुनिश्चित नभएसम्म संसद् चल्न नदिने भन्दै रुलिङ गर्न माग गरे ।

राष्ट्रिय सभामा पनि एमालेको अवरोध

'हामीले सरकारलाई यो प्रकरणमा छानबिनका लागि उच्चस्तरीय समिति बनाउन माग गरेका हौं । तर सरकारले अहिलेसम्म हाम्रो मागको सुनुवाई भएको छैन । बरु त्यही प्रकरणमा नयाँ नयाँ तथ्यहरु सार्वजनिक भइरहेका छन् । प्रधानमन्त्री र गृहमन्त्रीले बाहिर भन्दा कसैलाई पनि छोडिदैन भनेर भन्ने, तर व्यवहार अर्कै हुने कुराले यसमा झन् आशंका बढाएको छ,' उनले भने, 'यस्ता कुराहरुले झन् धेरै आशंका बढाएको छ ।'

उनले सरकारले सुन तस्करी प्रकरणमा छानबिन गर्ने उच्चस्तरीय समिति नबनेसम्म संसद् चल्न नदिने बताए । त्यसपछि एमाले सांसदहरुले आसनबाट उठेर सरकारले सुन तस्करी प्रकरणमा छानबिन समिति नबनाएसम्म बैठक चल्न नदिने अडान लिए ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले छलफल र संवादबाट टुंगोमा पुग्न आग्रह गर्दै बैठक सन्चालनका लागि प्रयास गरेपनि एमालेले अवरोध कायम राखेको छ । एमाले सांसदहरुले आसनबाट उठेर बैठक अवरुद्ध पारिरहेका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट निकालिएको करिब एक क्विन्टल सुन साउन २ मा सिनामंगल सडकबाट बरामद गरिएको थियो । भन्सार यार्ड पार गरेर बाहिरिएको क्विन्टल सुन बरामद भएको दुई साता बितिसक्दा तस्करीमा प्रयोग भएका व्यक्ति मात्र पक्राउ परेका छन् । सुन बरामद हुँदा एक भन्सार एजेन्ट र एक ट्याक्सी चालक पक्राउ परेका थिए । त्यसबाहेक भन्सार अधिकृत, तीन भन्सार एजेन्ट र तीन विदेशी नागरिकसहित १७ जना समातिएका छन् ।

राजस्व अनुसन्धान विभागले यो प्रकरणको छानबिन गरिरहेको छ । तर एमालेले भने उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरोध गर्दै आएको छ ।

प्रकाशित : श्रावण १८, २०८० १३:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×