१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६९

एउटै सहारा ह्विलचियरको

सहयोगी नहुादा अपराह्न १ बजे सुरु हुने परीक्षाका लागि १० बजे नै स्कुलमा
देवनायारण साह

मोरङ — दिनहुँ बिहान ९ बजेतिर विराटनगरको हाटखोलास्थित मोरङ कारागार छेउको घरबाट एउटा ह्विलचियर मूल सडकमा निस्कन्छ । आदर्श माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत विनीता सहनी सोही स्कुलमा १० कक्षामा पढ्ने अपांगता भएका दाइ कृष्णलाई स्कुल लान ल्याउन ह्विलचियरमा डोर्‍याइरहेकी हुन्छिन् ।

एउटै सहारा ह्विलचियरको

अहिले दुवैको परीक्षा चलिरहेको छ । विनीताको बिहान १० बजे सुरु हुन्छ भने कृष्णको अपराह्न १ बजे । विनीताबाहेक स्कुल लैजाने सहयोगी नभएपछि कृष्ण पनि दिउँसो १ बजेको परीक्षाका लागि बहिनीसँगै नहिँडी सुखै छैन ।

कम्मरमुनिको भाग नचल्ने र दुवै हात कमजोर भएका २१ वर्षीय कृष्णको घर विराटनगरभन्दा करिब १० किलोमिटर टाढा जहदा गाउँपालिका–४ मधुरामा छ । गाउँमा स्कुल नै नभएर उनी सहरमा रहरले डेरा गरी बसेका भने होइनन् । घरनजिकैको स्कुल ह्विलचियर मैत्री नहुँदा कृष्ण बहिनीसँगै विराटनगरमा डेरा गरी पढ्न बसेका हुन् ।

कृष्ण ९ कक्षादेखि यहाँ पढिरहेका छन् । कृष्ण ६ कक्षा पढ्ने बेलासम्म घरबाटै झन्डै डेढ किलोमिटर टाढाको लक्ष्मी माविमा हिँडेरै पढ्न जान्थे । २०७३ सालमा एकाएक बिरामी परेपछि उनको पढाइ मात्रै रोकिएन, कम्मरमुनिको भाग पनि नचल्ने भयो । नसासम्बन्धी समस्याका कारण हिँड्नै नसक्ने भएपछि कृष्णको पढाइ पाँच वर्ष रोकियो ।

उपचारपछि कृष्ण ह्विलचियरमा स्कुल जान सक्ने त भए, तर समस्या अर्को देखियो । लक्ष्मी माविमा ७ कक्षाभन्दा माथिका कक्षाकोठा उपल्लो तलामा हुँदा कृष्णलाई ह्विलचियरमा जाउआउ गर्न कठिन हुने भयो । कृष्णले भने, ‘हरेक दिन साथीको पिठ्युँमा बोकिएर उक्लने/ओर्लिने गर्न सम्भव भएन ।’ कृष्णका बाबुआमाले उनलाई घरबाट झन्डै तीन किलोमिटर टाढा जहदास्थित सार्वजनिक माविमा भर्ना गरिदिए । बहिनी विनीतासँगै स्कुल जाने–आउने गरेर कृष्णले कक्षा ८ पास गरे । तर, यस स्कुलमा पनि उनलाई समस्या भयो । बर्खाको समयमा कक्षाकोठासम्मै ह्विलचियर लान मिल्दैनथ्यो । बर्खामा विद्यालय हाता जलमग्न हुने र ह्विलचियर गुडाउनै नसकिने भएपछि कृष्णले यहाँ एक शैक्षिक सत्रसम्म मात्र पढे । ‘ढलान गरेर कक्षाकोठासम्म जाने बाटो बनाउनु आवश्यक छ तर प्रस्तावित मावि भएकाले बजेट अभावमा त्यो काम गर्न सकेनौं,’ सहायक प्रधानाध्यापक अजयकुमार सिंहले भने ।

कृष्णको पढाइप्रतिको रुचि बुझेरै उनका बुबा शंकरले विराटनगरमा छोराका लागि डेरा लिइदिए । विराटनगरकै एक विद्यालयमा कक्षा १२ मा पढ्ने जेठी छोरीसँग कृष्ण र विनीतालाई सँगै बस्ने प्रबन्ध मिलाए । विनीता र कृष्णलाई आदर्श माविमा भर्ना गरिदिए । कृष्णले पूर्ण अपांगता भएबापत सरकारबाट मासिक ३ हजारका दरले भत्ता बुझ्छन् । ३ हजार रुपैयाँ कोठा भाडामै सकिन्छ । गाउँमा राजमिस्त्रीको काम गरी कमाएको रकमबाट शंकरले छोराछोरीको पढाइखर्च जेनतेन जुटाइरहेको सुनाए । भने, ‘छोराछोरीले पढ्ने इच्छा गरेपछि हामी लोग्नेस्वास्नी एक छाक खाएरै भएपनि जसोतसो खर्च जुटाइरहेका छौं ।’ गाउँकै स्कुल ह्विलचियरमैत्री नहुँदा परिवारसँगै बसेर पढ्न नपाउँदा खल्लो लाग्ने गरेको विनीताले सुनाइन् । ‘बाबुआमा गाउँमै भएका कारण दाइको हेरविचार हामी दुई बैनी मिलेर गर्छौं,’ उनले भनिन्, ‘स्कुल लैजाने र ल्याउने काम भने मैले नै गर्छु ।’

कोशी प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव वासुदेव दाहालले माध्यमिक तहसम्मको शिक्षा हेर्ने अधिकार स्थानीय तहको रहेको र चालु आर्थिक वर्षमा विद्यालयहरूको संरचना अपांगमैत्री बनाउने कुनै पनि कार्यक्रम नरहेको बताए । उनले भने, ‘स्थानीय तहहरूले आ–आफ्ना क्षेत्रका विद्यालयलाई अपांगमैत्री बनाएर बालबालिकाको पढ्न पाउने नैसर्गिक अधिकारको ग्यारेन्टी गर्न ढिला गर्नै हुँदैन ।’

प्रकाशित : श्रावण १४, २०८० ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?