कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सामाखुसी खोलामा बगेका बालक अझै बेपत्ता

काठमाडौँ — काठमाडौं महानगरपालिका–३ रानीबारीस्थित आइतबार साँझ सामाखुसी खोलाले बगाएर बेपत्ता भएका १३ वर्षीय बालक अझै फेला परेका छैनन् । पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत साजन मगर सामाखुसी खोलाले बगाएर बेपत्ता छन् ।

सामाखुसी खोलामा बगेका बालक अझै बेपत्ता

उनको खोजी भइरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले बताए । उनका अनुसार घटनालगत्तै प्रहरी वृत्त महाराजगन्ज, वृत्त बालाजु, वृत्त लैनचौर, प्रभाग बसपार्क, तिलिंगेटालगायतका प्रहरी इकाईबाट प्रहरी खटिई खोजतलास तथा उद्धार कार्य सुरु गरिएको थियो ।

नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको थप प्रहरी परिचालन गरी चोभारसम्म खोजतलास गरिएको प्रहरीले जनाएको छ ।

बेपत्ता बालकको खोजीका लागि सोमबार बिहानैदेखि प्रहरी वृत्त महाराजगन्ज, बालाजु, लैनचौर, जनसेवा, स्वयम्भू, कालीमाटी, कीर्तिपुर र प्रहरी प्रभाग गोंगबुलगायतको प्रहरी टोली खोला किनारामा खटाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ । सोमबार अबेरसम्म पनि बेपत्ता बालक फेला नपरेपछि चोभारको ड्राइपोर्ट इलाकामा सशस्त्र प्रहरी बल नेपाल १८ नम्बर गणबाट खटिएको टोलीद्वारा खोजी भइरहेको एसएसपी मैनालीले बताए ।

खोटाङ घर भई काठमाडौं महानगरपालिका–३ रानीबारीमा बुबा मनोज मगरसँग साजन बस्दै आएका थिए । साजनकी आमा तारा मगर भने वैदेशिक रोजगारका क्रममा पोर्चुगलमा छिन् । छोरा खोलाले बगाएर बेपत्ता भएपछि बुबा मनोज विक्षिप्त छन् ।

आइतबार स्कुलबाट फर्किएर साँझ फुटसल खेल्न जाने क्रममा साजनलाई सामाखुसी खोलामा आएको बाढीले बगाएको थियो । ‘आइतबार दिउँसोको वर्षात्सँगै आएको बाढीले खोला भरिएर सडक नै जलमग्न थियो,’ रानीबारीकी सजना रेग्मीले भनिन्, ‘सायद ती बालकले खोलाको किनारा ठम्याउन सकेनन् र खोलामा खसे ।’ मुसलधारे पानीसँगै आएको बाढीले खोला भरिएर सडक तथा रानीबारी, सामाखुसी क्षेत्र जलमग्न भएको रेग्मीले बताइन् ।

त्यस्तै, वर्षात्सँगै आएको बाढीका कारण २०७८ असोज ५ गते काठमाडौं–६ कपन मिलनचोकस्थित निर्माणाधीन ढलमा खसेर १० वर्षीय उज्ज्वल विश्वकर्मा बेपत्ता भएको ६ दिनमा शव भेटिएको थियो । विश्वकर्माको शव ललितपुरको वाग्मती गाउँपालिका–१ घुसेलमा फेला परेको थियो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार तीन वर्षमा उपत्यकामा डुबेर/बगाएर ३९ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्ष ०७९/८० मा काठमाडौं ६, ललितपुरमा २ गरी ८ जनाको मृत्यु भएको थियो ।

आर्थिक वर्ष ०७८/७९ मा काठमाडौंमा ७, ललितपुर र भक्तपुरमा ३/३ जना गरी १३ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष ०७७/७८ मा काठमाडौंमा १२, ललितपुर र भक्तपुरमा ३/३ जना गरी १८ जनाले ज्यान गुमाएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित : श्रावण ९, २०८० ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×