२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

हिमाचलका स्याउमा समर्पित पश्चिम नेपालको जीवन

भारत पसेर रोजगारी गर्ने नेपालीको तथ्यांक कतै नराख्दा उनीहरू मर्कामा परे उद्धार नै कठिन
महेश केसी

रुकुम पश्चिम — त्रिवेणी गाउँपालिका–९ का किरण ओलीको घरमा गहिरो शोक छ । रोजगारीका लागि भारतको हिमाचल प्रदेश पुगेका किरणका ४८ वर्षीय ठूलोबुबा दीपबहादुर ओली, ४६ वर्षीया ठूलीआमा र १७ वर्षीय भाइ मोहनको गत जेठ २५ मा सिमलाको ठियोग जिल्लाअन्तर्गत सिलारु भन्ने स्थानमा गएको पहिरोमा परी मृत्यु भयो । किरण दीपबहादुरका साइँला भाइका छोरा हुन् । किरणका अनुसार दीप एक वर्षअघि मलेसिया गएर बिरामी परी चार महिनामै फर्केका थिए । घर फर्केपछि पनि सुखले बस्न पाएनन् । किनकि जेठा छोरा लोकेन्द्र बिरामी थिए । उपचार खर्च जुटाउन दरिलो रोजगारी जरुरी थियो ।

हिमाचलका स्याउमा समर्पित पश्चिम नेपालको जीवन

त्यसैले सपरिवार हिमाचल पुगेका थिए । दीप स्थानीय जमिन्दारले उपलब्ध गराएको जग्गामा अस्थायी टहरो हालेर बसेका थिए । जेठा छोरा लोकेन्द्र घरमा नभएका बेला आएको पहिरोमा परी परिवारका तीन जनाको मृत्यु भयो । घटनाको तीन दिनपछि उनीहरूको शव आफन्तले गाउँ ल्याएर अन्त्येष्टि गरे । बर्सेनि हिमाचलमा हुने प्राकृतिक विपत्ति होस् वा कार्यस्थलको कमजोर सुरक्षाका कारण नेपालीले ज्यान गुमाइरहेका छन् । ज्यान गुमाउनेमा रुकुमेली धेरै परेका छन् ।

रुकुमेलीको मुख्य श्रम गन्तव्यमध्ये एक रहेको हिमाचलमा ज्यान गुमाउनेमा ओली परिवार अघि पनि अरू छन् । गत असार २४ मा रुकुम पश्चिमको बाँफिकोट–४ का ४५ वर्षीय भीमसेन उकेराको हिमाचलमै ज्यान गयो । एक वर्षअघि मजदुरी गर्न हिमाचलको सोलनमा गएका उकेरा सुतिरहेको बेला राति माथिबाट झरेको ढुंगा लागेर मृत्यु भएको उनका भाइ लीलारामले बताए । घटनाको पाँच दिनपछि भीमसेनको शव गाउँमा ल्याएर दाहसंस्कार गरिएको बताउँदै लीलारामले भने, ‘दैनिक खर्च चलाउन मुस्किल भएपछि भारत जानुभएको दाइको ज्यान गयो ।’

रुकुमेलीको हिमाचल साइनो सय वर्षअघिको छ । हिमाचलको सोलन जिल्लामा सरकारी जागिर गरिरहेका रुकुम पश्चिमका रामबहादुर खड्का बाबुको पालादेखि भारत आएर काम थालेको बताए । ‘हाम्रा बाबा पढ्न भनेर महाराष्ट्र आउनुभएको थियो । पछि यतै बसेर घरजम गर्नुभयो । हामी पनि यतै जन्मियौं र यही बसेर नोकरी गरिरहेका छौं,’ उनले भने । हिमाचलमा जागिर भए पनि हरियाणामा घर बनाएर बसिरहेका रामबहादुर पहिले पढ्ने भनेर भारत पुगेकाहरू नै विभिन्न काममा लागेको बताउँछन् । एउटाले अर्कोलाई, अर्कोले अर्कोलाई पाइने रोजगारीका अवसरबारे बताएपछि आफन्तहरू लहरै यता आउन थालेको उनको अनुमान छ । उनले भने, ‘भिजा नलगाएर सजिलै आउन पाइने, अनि पढाइ हुने र सानोतिनो काम पनि पाइने भएपछि नेपाल फर्किन मन लागेन र सबै यतै बसियो ।’ वर्षौंदेखि रुकुमेलीहरू मौसमी श्रमका लागि हिमाचल धाउने गरे पनि यहाँ कति नेपाली कस्तो काम गरिरहेका छन् ? बर्सेनि कति दुर्घटनामा परेका छन्, ज्यान गुमाएका छन् भन्ने तथ्यांक कतै छन् । हिमाचलमा श्रम गर्नेहरूबारे कुनै अभिलेख नहुँदा नेपाली श्रमिक ठगीमा मात्रै परेका छैनन् श्रम शोषण र दुर्घटनामा पनि परिरहेका छन् ।

रुकुम पश्चिमका ६ वटै पालिकाका बासिन्दा बर्सेनि भारतमा मौसमी रोजगारीका लागि पुग्ने गरेका छन् । बाँफिकोट गाउँपालिकाका अध्यक्ष जनककुमार बाठाले बर्खे बाली लगाएर स्याउ टिप्न हिमाचल जानेहरू धेरथोर पैसा कमाएर दसैं–तिहार जस्ता चाडबाड मान्न घर फर्किने गरेको बताए । उनले आफ्नो पालिकाबाट धेरैजना मौसमी काममा भारततर्फ जाने गरे पनि उनीहरू कतिको संख्यामा छन् र के कस्तो काममा संलग्न छन् भन्ने तथ्यांक नभएको बताए ।

श्रमका निम्ति हिमाचल पुग्ने सबै रुकुमेलीसँग सुखद कथा मात्रै छैन । दुर्घटनामा पर्ने मात्रै नभएर उचित ज्याला नपाउने र ठगीका घटनाबाट पीडित हुने पनि उत्तिकै छन् । जस्तो कि, सानीभेरी–७ कै केवलसिङ पुन अघिल्लो वर्ष ६ महिना सडक निर्माणमा काम गर्दा ठेकेदारले पैसा नदिएपछि निराश भएर फर्केको बताउँछन् । यसपाला भने केवल स्याउ टिप्न हिमाचल पुगिसकेका छन् । उनले भने, ‘यसपाला साथीहरूसँगै आएको छु । हेरौं कमाइ कस्तो हुन्छ ।’

त्रिवेणी–१ रुकुम पश्चिम घर भई हाल हिमाचलको कोटखाइमा रहेका ६४ वर्षीय नरबहादुर परियार भूगोल मिल्ने भएकाले पनि रुकुमका बासिन्दा हिमाचलमा कामका खोजीमा आउने गरेको बताउँछन् । ३० वर्षदेखि कामको खोजीमा सपरिवार रुकुम–हिमाचल गरिरहेका नरबहादुरले भिरालो जमिनमा कृषि कर्म गर्दा निकै जोखिम हुने गरेको बताउँदै भने, ‘हाम्रो गाउँका केहीले यतै काम गर्दागर्दै ज्यान गुमाएका पनि छन् ।’ सानीभेरी–८ सिम्लीका मञ्जित पुन पछिल्ला १३ वर्षदेखि लगातार हिमाचल–रुकुम गरिरहेका छन् । उनले टेलिफोन कुराकानीमा बताए, ‘म अहिले हिमाचल प्रदेशको किन्नोर जिल्लाको रिकांकोपियोमा छु । पहिले ६/६ महिनामा घर आउने जाने गर्थे । पछिल्लो २ वर्षदेखि भने यही बसेर काम गरिरहेको छु ।’ खाए–बसेको खर्च कटाएर महिनामा १५/२० हजार भारु बचत गरेको बताउने मन्जिलले यति कमाउन आफूले रातदिन मिहिनेत गरिरहेको बताए । नेपालीले यहाँ आएर घाँस काट्ने, खेत जोत्ने, घर बनाउने र भारी बोक्ने जस्ता काम गरिरहेको बताउँदै उनले भने, ‘अब भदौ अन्तिमदेखि चाहिँ स्याउको सिजन सुरु हुन्छ । स्याउ टिप्नेदेखि बोकेर गाडीसम्म लैजाने काम प्रशस्त पाइन्छ । यसका लागि सिजनमा हाम्रा दाजुभाइ धेरै आउँछन् ।’

स्याउ टिप्ने सिजन सुरु हुन थालेसँगै रुकुमेली हिमाचल जाने तरखरमा जुट्न थालिसकेका छन् । रिकांकोपियोमा रहेका मञ्जितको सल्लाहअनुसार सानीभेरी–७ का २२ वर्षीय हुकुम पुन मगर केही दिनअघि मात्रै त्यहाँ पुगेका छन् । ‘म सँगै गाउँका १७ जना साथी यहाँ आएका छौं,’ उनले भने, ‘१२ को परीक्षा दिएर आएका हौं । सिजनका बेला स्याउ टिप्ने काम पाइन्छ भनेर आएको हो । सिजन सकेर पैसा कमाएर घर फर्किने हो ।’ नरबहादुरले ५ वर्षयता हिमाचलमा मात्रै त्रिवेणीका ४ जनाले ज्यान गुमाएको थाहा पाएको बताए । ‘कोही भीरमा घाँस काट्दा लडेर मर्छन्, कोही गाडीले किचेर मर्छन् अनि कोहीचाहिँ बिमार भएर मर्छन्,’ उनले भने, ‘जे–जस्तो दुःख–बिमार परे पनि आफैं बेहोर्नुपर्छ । मालिककहाँ त काम गर्ने मात्रै हो, उनीहरूले दुःखमा सहयोग गर्दैनन् ।’

त्रिवेणी–१ का रोशन पुनले पछिल्ला सातायता हिमाचल प्रदेशका प्रायः ठाउँमा भारी वर्षा भइरहेको बताउँदै रुकुमेलीलाई काम नपाएर भोकै मरिन्छ कि भन्ने पीर भइरहेको सुनाए । उनले भने, ‘लगातार पानी पर्दा कतै निस्किन पनि सकिएको छैन । बाटो सबै बन्द छ । ल्याएको खाद्यान्न पनि सकिन लाग्यो । दैनिकी निकै कठिन बन्दै गइरहेको छ ।’ हिमाचलमा काम गरिरहेका त्रिवेणी–३ का नरेश खड्का अक्सर नेपालीले साहू, महाजन, मालिक र जमिनदारको घरबारीमा दैनिक ज्यालादारी गरिरहेको बताए । ‘म अहिले सिमलाको मतियाना क्यारा भन्ने ठाउँमा छु । मैले थाहा पाएसम्म करिब २ सय जनाभन्दा बढी रुकुमका दाजुभाइहरू यहाँ हुनुहुन्छ । यसका साथै छिमेकी जिल्ला रुकुम पूर्व, रोल्पा, सल्यान र जाजरकोटतिरका पनि धेरैले यतै काम गर्छन्,’ उनले भने । आफूहरू साहूको बारीमा टहरा हालेर बसेको र यसपाला लगातारको झरीले आपतै पारिरहेको उनले बताए ।

रुकुम पश्चिम त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेश केसीले नेपाली नागरिक भारतमा कति संख्यामा कहाँ कहाँ छन्, अवस्था के छ भन्ने अभिलेख राख्ने प्रणाली आवश्यक रहेको बताउँछन् । अखिल भारत नेपाली एकता मञ्चका अध्यक्ष लीलामणि थापाले भारतमा नेपालीको संख्या र अवस्थाबारे नेपाल सरकार जानकार हुनुपर्ने भए पनि त्यसो नहुनु दुःखद् भएको बताए । कम्तीमा स्थानीय तहले यस्तो तथ्यांक राख्न जरुरी भएको बताउँदै उनले भने, ‘अप्ठ्यारोमा पर्ने नेपालीहरूको हकहित र सुरक्षाका लागि हामीले मात्रै काम गरेर पुगेको छैन । हक र सुरक्षाका लागि यताको सरकारसँग आवश्यक पैरवी गरिरहेका छौं । यसमा जिम्मेवारी लिन नेपाल सरकारको अगुवाइ आवश्यक छ ।’

प्रकाशित : असार ३१, २०८० ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

दुग्ध विकास संस्थान (डीडीसी)लाई सरकारले पटक पटक गरी १२५ करोड ऋण दिने भएपछि के अब किसानले दूधको भुक्तानी पाउलान् ?

x
×