कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

असंलग्न परराष्ट्र नीतिमा सरकार प्रष्ट र प्रतिबद्ध छ : परराष्ट्रमन्त्री साउद

‘राजदूत नियुक्तिका सम्बन्धमा उच्च राजनीतिक तहमा छलफल भइरहेको छ । अब यो प्रक्रिया शीघ्र सम्पन्न गरिनेछ’

काठमाडौँ — परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सरकार असंलग्न परराष्ट्र नीतिका सम्बन्धमा प्रष्ट र प्रतिबद्ध रहेको बताएका छन् । उनले वर्तमान सरकारले नेपालले अपनाउँदै आएको असंलग्न परराष्ट्र नीतिलाई निरन्तर गरेको बताए ।आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफलमा राष्ट्रिय सभामा उठेका सवालहरूको जवाफ दिँदै परराष्ट्रमन्त्री साउदले नेपालले कुनै पनि देशसँग सम्बन्धलाई बिगार्न नचाहेको र त्यस्तो कार्य समेत नगरेको दाबी गरे । 

असंलग्न परराष्ट्र नीतिमा सरकार प्रष्ट र प्रतिबद्ध छ : परराष्ट्रमन्त्री साउद

‘अन्तर्राष्ट्रिय मामिलामा नेपालले असंलग्नताको नीति अपनाएको छ । सरकारले अहिले पनि त्यही नीतिलाई अपनाएको छ,’ उनले भने, ‘कुनै पनि देशसँग हाम्रो सुमधुर सम्बन्ध छ । हामी त्यो सम्बन्धलाई निरन्तरता दिन चाहन्छौँ । यो वा त्यो देश भनेर स्वार्थमा पर्ने कुरा हुँदैन, सरकार यसमा प्रष्ट छ, प्रतिबद्धसमेत छ ।’

सांसदहरूले विदेशमा नेपालीको मृत्युपछि शव ल्याउन ढिला भइरहेकोबारे गरेको प्रश्नमा मन्त्री साउदले सम्बन्धित देशको कानुनी प्रक्रिया पूरा गरेपछि नेपाली नियोगहरूले कुनै ढिलासुस्ती नगरी शव नेपाल पठाउने प्रबन्ध गरिएको बताए ।

‘नेपालीहरूको विदेशमा विविध कारणले हुने मृत्युका सम्बन्धमा ती देशको कानुनबमोजिम गर्नुपर्ने हुन्छ । त्यसअनुसार नेपाली नियोगहरुले त्यहाँको कानुनअनुसार प्रक्रिया पूरा गरेर मात्रै शव नेपाल पठाउन मिल्छ, जसकारण कतिपय देशमा रहेका नियोगरूबाट शव पठाउन समयको ढिलोचाँडो हुने गरेको छ,’ उनले भने, ‘त्यसलाई थप सहज र व्यवस्थित बनाउन हाम्रो प्रयास निरन्तर छ ।’

मन्त्री साउदले हाल रिक्त रहेका देशहरूमा राजदूत नियुक्तिको प्रक्रिया अघि बढिसकेको बताए । उनले राजदूत नियुक्तिका विषयमा उच्च राजनीतिक तहमासमेत छलफल भइरहेको बताए ।

‘राजदूत नियुक्तिका सम्बन्धमा उच्च राजनीतिक तहमा छलफल भइरहेको छ । अब यो प्रक्रिया शीघ्र सम्पन्न गरिनेछ,’ उनले भने, ‘कम्तिमा पनि ५० प्रतिशत राजदूतहरू परराष्ट्र सेवाबाटै नियुक्ति गरिनेछ ।’

हाल न्यूयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्याण्ड, युएई र कुवेत गरी ७ देशमा रहेका स्थायी नियोगमा राजदूत छैनन् । सांसदहरूले ती देशमा राजदूत नहुँदा त्यहाँ रहेका नेपालीहरूलाई सेवा लिन समस्या भइरहेकोबारे प्रश्न उठाएका थिए ।

प्रकाशित : असार २८, २०८० ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×