कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

शिमला पहिरोमा परी एकै परिवारका ३ नेपालीको मृत्यु

काठमाडौँ — भारतको हिमाचल राज्यको शिमलामा गएको पहिरोमा परी एकै परिवारका ३ नेपालीको मृत्यु भएको छ। शिमला जिल्लाको क्यारा भन्ने ठाउँमा सोमबार बिहान गएको पहिरोमा परी रुकुम पश्चिमका ३ जनाको मृत्यु भएको हो । 

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर-९ खहरे, टुमीबोटका दीपबहादुर वली, श्रीमती भीमा वली र छोरा मोहन वलीको पहिरोमा परी मृत्यु भएको वडाध्यक्ष हरिबहादुर खड्काले इकान्तिपुरलाई बताए ।

वडाध्यक्ष खड्काले भने, 'शिमला पहिरोमा परी हाम्रै वडाका ३ जनाको मृत्यु भएको खबरले हामी दु:खी छौँ । खहरे टुमीबोटका दीपबहादुर वली, श्रीमती भीमा र छोरा मोहनको पहिरोमा परी मृत्यु भएको छ ।'

जेठा छोरा पनि उनीहरूसँगै बस्ने भए पनि अन्यत्र गएकाले बच्न सफल भएको वडाध्यक्ष खड्काले जानकारी दिए । मंसिरतिर पौरी-गढवालतिर गएका दीपबहादुर वली केही महिनाअघि मात्र शिमला पुगेका थिए । श्रीमती र छोरा मोहन भने २०/२२ दिनअघि मात्र शिमला पुगेको वडाध्यक्ष खड्काले बताए । उनीहरूको मृत्यु भएपछि रुकुम पश्चिमबाट २ जना आफन्तलाई शिमला पठाएको पनि उनले बताए ।

केही दिनयता हिमाचललगायत उत्तर भारतका केही क्षेत्रमा भारी वर्षा भइरहेको छ । जसका कारण धेरै ठाउँमा बाढी/पहिरोले जनधनको क्षति गरेको छ । हिमाचल, उत्तराखण्ड, उत्तर प्रदेशलगायतका राज्यमा गरी कम्तीमा २२ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित : असार २५, २०८० २२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×