कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का भ्रष्टाचारी ठहर

घनश्याम खड्का

काठमाडौँ — मुद्दा दायर भएको साढे चार वर्षपछि नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ । भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएको कसुरमा विशेष अदालतले खड्कालाई १५ महिना कैद, ९ करोड १९ लाख ६ हजार ३ सय ६४ रुपैयाँ जरिवाना र त्यति नै बिगो भराउने फैसला गरेको हो ।

आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का भ्रष्टाचारी ठहर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध २०७५ पुस २३ मा १८ करोड ६६ लाख भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र डा. खुसीप्रसाद थारूको इजलासले खड्कालाई अख्तियारले दाबी गरेभन्दा आधा रकममा भ्रष्टाचारी ठहर गरेको हो । जरिवाना र बिगो असुलउपर गर्न अख्तियारले खड्काको घरजग्गा, बैंक डिपोजिट तथा सेयर रकम जफत हुनुपर्ने माग गरेको थियो । विशेषले जरिवाना र बिगो असुलउपर गर्न अख्तियारको दाबीबमोजिम नै उनको सम्पत्ति जफत हुने फैसला गरेको छ ।

खड्काले जागिर अवधिभर घरजग्गा तथा सेयरमा २७ करोड ३० लाख ७५ हजार ३ सय ८० रुपैयाँ ७६ पैसा लगानी गरेको अख्तियारको दाबी थियो । त्यसमध्ये ८ करोड ६४ लाख ६९ हजार रुपैयाँको मात्रै स्रोत खुलेको अभियोगपत्रमा उल्लेख थियो । स्रोत खुल्न नसकेको १८ करोड ६६ लाख ५ हजार ६ सय २९ रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लगाउँदै अख्तियारले बिगो बराबरको रकम जफत गर्न र त्यति नै बराबरको रकम जरिवाना तिराउन मागदाबी गरेको थियो ।

सडक विभागबाट अवकाश भएपछि २०७१ मा निगमको कार्यकारी निर्देशक बनेलगत्तै पेट्रोलियम पदार्थको भण्डारण गर्ने ट्यांकी निर्माणका लागि भनेर खड्काले नेपाल आयल निगमका लागि पर्नेभन्दा बढी मूल्यमा जग्गा किनेर भ्रष्टाचार गरेको अभियोग लागेको थियो । अख्तियारले मुद्दा दायर गर्नु एक वर्षअघि यसबारे संसदीय समितिले खड्काको जग्गा खरिद प्रकरणबारे छानबिन गर्दै कम्तीमा १ अर्ब २६ करोड रुपैयाँ जग्गा किन्दा हिनामिना भएको भन्दै उनीविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो । निगमका लागि खड्काको नेतृत्वमा रूपन्देही, चितवन, सर्लाही र झापा गरी चार ठाउँमा प्रचलित मूल्यभन्दा चार गुणासम्म बढी मूल्यमा जग्गा किनिएको थियो । सोझै जग्गाधनीमार्फत नकिनी यी सबै जग्गा दलाल र बिचौलियामार्फत किनेर खड्काले सरकारी सम्पत्ति हिनामिना गरेको समितिको ठहर थियो ।

भूकम्प गएलगत्तै भारतले गरेको नाकाबन्दीका कारण भएको पेट्रोलियम पदार्थको हाहाकारपूर्ण अवस्थामा निगमले संकटका बेला चाहिने भन्दै भण्डारणका लागि ट्यांकीहरू बनाउन जग्गा खरिद गर्ने निर्णय गरेको थियो । यति ठूलो राष्ट्रिय महत्त्वको विषयमा एउटै व्यक्तिले सबै अधिकार लिएर जथाभावी खरिद प्रक्रिया अघि बढाएको भन्दै सार्वजनिक लेखा समिति, अर्थ समिति, सुशासन समिति, उपभोक्ता हित संरक्षण समितिलगायत संसदीय समितिले प्रश्न उठाएपछि अख्तियारले अनुसन्धान अघि बढाएको हो ।

अनुसन्धान क्रममा खड्काले पत्नी शर्मिलाका अलावा तेह्रथुम स्थायी ठेगाना भई बूढानीलकण्ठ नगरपालिका–४ बस्ने अमिता लामा सोदेम्बाको नाममा समेत सम्पत्ति लुकाएको भेटिएको थियो । कुनै नाता सम्बन्ध नपर्ने अमिताको नाममा खड्काले ७ करोड ५४ लाख ५७ हजार ८ सय रुपैयाँ लुकाएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ । काठमाडौंको साबिक महांकाल गाविस–४ स्थित कित्ता नम्बर १९१ मा रहेको ३ करोड २५ लाख रुपैयाँमा किनिएको घर र साबिक बूढानीलकण्ठ गाविस वडा नम्बर ३ ‘ख’ स्थित कित्ता नं. ६८९, १४८२ र १५२० को ४० लाख ११ हजार ८ सय ७५ रुपैयाँमा किनिएको आठ आना जग्गा अमिताको नाममा भेटिए पनि त्यो खड्काले नै किन्न लगाएको देखिएको अख्तियारको जिकिर थियो ।

त्यस्तै खड्काले अमिताकै नाममा महांकालमा सीजी डेभलपर्सले निर्माण गरेको घर किन्न तीन करोड पाँच लाख रुपैयाँ खर्च गरेको अभियोग लागेको थियो । अमिताको नाममा किनिएको ८४ लाख पर्ने टक्सन गाडी पनि अख्तियारले खड्काले कमाएको अकुत सम्पत्तिकै हिस्सा मानेको थियो । अमिताको नाममा एनएमबी र सिटिजन बैंकमा खोलिएका एकाउन्ट पनि खड्काकै पैसा लुकाउन प्रयोग भएको देखिएको अख्तियारको दाबी थियो । विशेष अदालतले यी सबै जफत हुने फैसला गरेको छ ।

नाकाबन्दीपछि एलपी ग्यास ढुवानीका लागि २०० ट्यांकर किन्ने निगमको निर्णयमा पनि खड्काले आर्थिक हिनामिना गरेको अभियोग लागेको थियो । अख्तियारको अभियोगपत्रमा खड्काले सेवा अवधिमा तीनवटा घर किनेका र बनाएका थिए, जो उनको पुर्ख्यौली सम्पत्तिमा पर्दैन । मुद्दा चल्दाका बखत उनले थप २ वटा घर किन्न बैनासमेत गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख थियो ।

अनुसन्धानका क्रममा खड्काले ११ ठाउँमा जग्गा किनेको भेटिएको थियो । खड्काले ११ करोड ६१ लाख रुपैयाँ घरजग्गामा मात्रै लगानी गरेको देखिएको र त्यो अकुत सम्पत्तिभित्र पर्न आउने अख्तियारको दाबी थियो । त्यसबाहेक बैंक तथा सहकारी गरी उनले ५५ ठाउँमा २ करोड ७१ लाख रुपैयाँ जम्मा गरेको समेत भेटिएको थियो ।

प्रकाशित : असार १६, २०८० ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×