कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

मलाई किन लन्डन उड्न दिइएन ? : चिकित्सा मनोविद् चौधरी

‘दिल्ली ट्रान्जिटमा एयर इन्डियाका कर्मचारीले ५५ हजार भारु मागे’

काठमाडौँ — चिकित्सा मनोविद् जुगमाया चौधरीलाई एयर इन्डियाको काठमाडौं–दिल्ली–लन्डन उडानमा यात्रुको ‘शंकास्पद कागजात’ भन्दै दिल्ली ट्रान्जिटबाटै घर फिर्ता गराएकोमा यात्रु चौधरीले सरोकार सम्बद्ध निकायबाट जवाफ माग गरेकी छन् ।

मलाई किन लन्डन उड्न दिइएन ? : चिकित्सा मनोविद् चौधरी

‘म आफू चिकित्सा मनोविद् (क्लिनिकल साइकोलोजिस्ट) का रुपमा कार्यरत रहेको सबै प्रमाण तथा दिल्लीस्थित नेपाली दूतावासको नो–अब्जेक्सन लेटर बुझाएर पनि एयर इन्डियाले उडान भर्न दिएन,’ गत मार्च २१–२२ मा आफूले बेहोरेको समस्या सुनाउन परराष्ट्र मन्त्रालयको कन्सुलर शाखामा आएकी चौधरीले भनिन्, ‘मेरो मेडिकल फिल्डकै साथीको कन्भोकेसन समारोहमा सहभागी हुन लन्डन जाने टुंगो भएपछि एयर इन्डियाको काठमाडौं–दिल्ली–लन्डन उडानको टिकट गरेकी थिएँ, तर दिल्लीबाट विमान चढ्न लागेपछि मलाई काउन्टरबाटै रोक्ने काम गरियो, ट्रान्जिटमै रातभर र भोलिपल्ट पनि कुराउन लगाएर ५५ हजार भारु रकम थप गर्ने भए उडान भर्न दिइने भनियो । तर, ‘शंकास्पद कागजात’ को कुनै प्रमाण नखुलाइकन दिल्लीबाट काठमाडौं डिपोर्ट गराइयो ।’

यो कठिनाइ बेहोर्नुपरेपछि दिल्लीस्थित नेपाली दूतावासले तत्कालै ‘नो अब्जेक्सन लेटर’ पठाए पनि अर्को उडानमा पनि लन्डन जान नदिइएको र यसरी यात्रुलाई उडान रोक्नमा ‘एएलओ’(एयरक्राफ्ट लियाजन अफिसर) को अधिकार हुने भन्दै यात्रुलाई जबरजस्ती घरफिर्ता गरिएकोमा चौधरीले काठमाडौंस्थित भारतीय दूतावास, बेलायती दूतावास, एयर इन्डिया कार्यालय, भीएसफ ग्लोबलसहितमा उजुरी गरेकी छन् । जबकि ‘नो अब्जेक्सन लेटर’ दिल्ली ट्रान्जिट भएर खाडीका ६ वटा मुलुकमा जान मात्रै जरुरी रहेको र बेलायत, अमेरिका जान जरुरी नरहेको सूचना पनि प्रकाशित भइसकेको छ ।

‘अरु केही होइन, मलाई किन उड्न दिइएन भनेर कारण चाहेकी छु,’ चौधरीले भनिन्, ‘म केही बोल्न सक्ने र आफ्नो संस्थागत कारणले पनि विभिन्न तहमा उजुरी गर्न सक्ने भएकाले यसरी यात्रुको हक र अधिकार सुनाउन आएकी हुँ, अरु सामान्य तहमा भारतीय उडान र दिल्लीको ट्रान्जिट भएर जाने कयौं नेपालीले अनाहकको सास्ती पाएका छन् । यो गैरकानुनी र हेपाहा शैलीको व्यवहारमा एयर इन्डियाजस्ता हवाई कम्पनीले विचार पु¥याउनैपर्छ ।’

यो समस्याका कारण आफूले बेहोरेको मानसिक तनाव र आर्थिक हानीको मुद्दामा एयर इन्डियाकी काठमाडौं प्रबन्धक प्रीति सावन्तलाई भेटेर लिखित/मौखिक उजुरी गरेपछि र ट्विटरमार्फत घटना सार्वजनिक गरेपछि मात्रै एयर इन्डियाले आफ्नो द्वितर्फी टिकटको केही रकम फिर्ता गरेको पनि चौधरीले बताइन् । तर, आफूले एक यात्रुका रुपमा न्याय पाइनसकेका कारण यो अन्यायको सुनुवाइ होस् भनेर परराष्ट्र मन्त्रालयमार्फत भारतको सम्बद्ध निकायलाई पत्र पठाइएको उनले जानकारी दिइन् ।

प्रकाशित : असार १४, २०८० १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×