कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

कांग्रेसमा ‘ग्राउन्ड’ को सन्देश- ‘विशेष महाधिवेशन बोलाइयोस्’

प्रकाश धौलाकोटी

काठमाडौँ — नेपाली कांग्रेसका दुई दर्जन नेताहरू ‘कांग्रेस रुपान्तरण अभियान’ लिएर देश दौडाहामा छन् । ती नेताले अभियान कुनै गुट वा नेताबाट परिचालित नभएको दाबी गरे पनि संयोग यस्तो छ कि अभियानमा हिडेका सबैजसो नेताहरू नेता शेखर कोइराला पक्षका छन् ।

कांग्रेसमा ‘ग्राउन्ड’ को सन्देश- ‘विशेष महाधिवेशन बोलाइयोस्’

पार्टीका केन्द्रीय सदस्य, पूर्वकेन्द्रीय सदस्य र नेविसंघ लगायत प्रभावशाली भ्रातृ संस्थाको नेतृत्वमा रहिसकेका नेताहरूले देशव्यापी रुपान्तरण अभियान थालेपछि सभापति शेरबहादुर देउवाले नेता कोइरालालाई सोधेका थिए- रुपान्तरण अभियान के का लागि ?

देउवालाई कोइरालाको जवाफ थियो– ग्राउन्डमा के भइरहेको छ ? हामीलाई थाहा छैन । तपाईं जानुभएको छैन, हामी गइरहेका छैनौँ । पार्टीले कुनै कार्यक्रम दिएको छैन । साथीहरू गाउँ–गाउँ जान्छन् भने तपाईले किन चिन्ता गर्नुपर्‍यो ? कोइरालाले सार्वजनिक मञ्चबाटै दोहोर्‍याएका छन्, कांग्रेस सहरमुखी भयो, नेतामुखी भयो, अनि जनतासँगको दुरी बढ्यो ।

शीर्ष नेताहरूले ग्राउन्डमा कांग्रेस कमजोर भएको विश्लेषण गरिरहेका बेला पार्टीमा रुपान्तरणको मुद्दा लिएर देश दौडाहामा निस्किएका नेताहरूले भने सातै प्रदेशको यात्रा गरेर ग्राउन्डको सन्देश बटुलेका छन् ।

जेठ पहिलो साता मधेश प्रदेशको जनकपुरधामबाट सुरू भएको रुपान्तरण अभियानको प्रदेशस्तरीय कार्यकर्ता भेटघाट कार्यक्रम वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमपछि बुधबार कोशी प्रदेशको इटहरीमा पुगेर सकिएको छ ।

केन्द्रीय सदस्यद्वय मधु आचार्य र गोविन्दराज पोखरेल, पूर्वकेन्द्रीय सदस्य गुरूराज घिमिरे, नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्ण, नेताहरू भूपेन्द्रजंग शाही, देवराज चालिसे, जगदीश्वरनरसिंह केसी, नरेन्द्र केरुङ र सुवास पोखरेललगायत नेताहरू सम्मिलित अभियानलाई नेताहरू भूपेन्द्र थापा, धर्मेन्द्र नेम्वाङ, बिजुला बर्मा, विष्णुदेवी पाण्डे, रिता शाही, विक्रम खनाल र डिल्लीराज सुवेदी लगायतले पनि पछ्याएका थिए ।

नेताहरूका अनुसार सातै प्रदेशका नेता कार्यकर्ताले महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको डेढ वर्षसम्म पनि नेतृत्वले आशा जगाउन नसकेको, बरू नेतृत्वको कार्यशैलीबाट निराशा पैदा भइरहेको भन्दै कार्यशैलीमा रुपान्तरणदेखि विशेष महाधिवेशनसम्मको माग गरेका छन् । केन्द्रमा महामन्त्री गगन थापासहित कोइराला समूहका नेताहरू सभापति देउवाको कार्यशैली ठीक नभएको भन्दै प्रश्न गरिरहेका छन् । तर, जिल्लास्तरका कार्यकर्ताले भने सभापति देउवासहित महामन्त्रीको भूमिकामाथि समेत प्रश्न उठाएका छन् । अभियानकाक्रममा ग्राउन्डका नेता/कार्यकर्ताहरूबाट नेताहरूलाई महत्त्वपूर्ण सन्देशहरू प्राप्त भएको नेताहरूको दाबी छ ।

‘हामीले सात प्रदेशमा नेता कार्यकर्ताहरूसँग अन्तरक्रिया गर्‍यौँ, अब यसलाई एकीकृत गरेर नेताहरूले चाहे हामी प्रतिवेदन पनि दिन्छौँ,’ पूर्वकेन्द्रीय सदस्य गुरूराज घिमिरेले भने, ‘मूलतः ग्राउन्डमा भएका साथीहरूले नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाउनुभएको छ । नेतृत्वको अकर्मण्यता र अक्षमताको विषयमा उहाँहरूको चर्को गुनासो छ । अब पनि नसच्चिए विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन थाल्ने चेतावनी गर्नुभएको छ ।'

अभियानमा सातै प्रदेश पुगेका नेता भूपेन्द्रजंग शाहीले सातै प्रदेशबाट विशेष महाधिवेशनको माग उठेको बताए । ‘महाधिवेशन भएको डेढ वर्षमात्रै बित्दै छ, तर देशभरबाट साथीहरूले विशेष महाधिवेशनको आवाज उठाउनुभएको छ,’ शाहीले प्रादेशिक भेलामा व्यक्त भावनाको प्रतिनिधित्व गर्दै अघि भने, ‘यो हाम्रो लागि त्यति सहज छैन, तर असम्भव पनि छैन । एक व्यक्तिका कारण सबै सक्किनुभन्दा एक व्यक्तिलाई फ्याँकेर सबै उत्रिनुपर्छ, विशेष महाधिवेशन बोलाइयोस् भन्ने उहाँहरुको माग छ ।'

प्रदेश र जिल्ला तहका नेता कार्यकर्ताले सभापतिप्रति मात्रै आक्रोस पोखेका छैनन् । ‘सभापति पहिल्यै परीक्षण भइसकेको नेता हुनुहुन्थ्यो, उहाँबाट योभन्दा धेरै आशा पनि थिएन, तर विश्वास गरेको, आशा राखिएका र सम्भावना बोकेका नेताहरूबाट पनि पार्टीलाई गतिशील बनाउने काम भएन भन्ने गुनासो छ,’ शाहीले ईकान्तिपुरसँग भने, ‘असन्तुष्टि र आक्रोश सभापतिप्रति मात्रै होइन, महामन्त्रीहरूप्रति धेरै रहेछ ।’

उनले युवा नेताहरू नेतृत्वमा पुग्दा पनि पार्टी विधिविधानबमोजिम चुस्तदुरुस्त चल्न नसकेको, भ्रातृ संस्थाहरू लथालिङ्ग बनेको, निर्वाचनमा टिकट वितरणदेखि परिचालनसम्म परम्परागत ढंगबाटै भएको गुनासो आएको बताए ।

प्रदेशस्तरका नेता कार्यकर्ताले पार्टी प्रजापरिषद् हुनबाट जोगाउन आव्हान गरेको अभियानमा देशभर पुगेका नेता एवम् नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्णले बताए । ‘यही नेतृत्व र अहिलेकै जस्तै कार्यशैली रहे पार्टी प्रजापरिषद् हुनसकछ भन्ने डर छ, गुनासो र चिन्ता छ,’ उनले अघि भने, ‘अब नेतृत्व नसच्चिए विकल्प छैन । विशेष महाधिवेशन बोलाऔँ, तपाईहरू नेतृत्व गर्नुहोस्, हामी हस्ताक्षर गर्न तयार छौँ ।’

उनले पार्टीभित्रको प्रतिपक्षले पनि कमजोर भूमिका निभाएको गुनासो आएको बताए । ‘पार्टीमा दुःख गरेको कार्यकर्ताको संरक्षण छैन, अवसर छैन । तर जसले भ्रष्टाचारको आरोप झेलिरहेको छ, कारबाही भोगिरहेको छ, उनीहरूमाथि पार्टीले कुनै कारबाही गर्दैन,’ उनले भने, ‘यो विषयमा सातै प्रदेशबाट उस्तै स्वरमा नेतृत्वको चर्को विरोध भएको छ । पार्टीभित्रका प्रतिपक्षको रुपमा शेखर कोइरालाको नेतृत्वसमेत कमजोर बनेको गुनासो छ ।’

सात प्रदेशमा अभियान सम्पन्न गरेका नेताहरुले अब अभियानलाई जिल्लास्तरमा केन्द्रित गर्ने जनाएका छन् ।

प्रकाशित : जेष्ठ ३२, २०८० १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×