कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

वीरमा खुल्यो ब्रेन ट्युमर केन्द्र

काठमाडौँ — ब्रेन ट्युमरका बिरामीलाई एकै ठाउँमा सबै किसिमको उपचार उपलब्ध गराउन वीर अस्पतालमा ‘राष्ट्र्रिय ब्रेन ट्युमर केन्द्र’ स्थापना गरिएको छ । चिकित्सा विज्ञान राष्ट्र्रिय प्रतिष्ठानअन्तर्गतको वीरको स्नायु शल्यक्रिया विभागमा उक्त केन्द्र स्थापना गरिएको हो ।

वीरमा खुल्यो ब्रेन ट्युमर केन्द्र

केन्द्रमा ब्रेन ट्युमरको शल्यक्रियासँगै स्नायु चिकित्सक, क्यान्सर विज्ञ उपलब्ध हुनेछन् । गत बिहीबारदेखि सञ्चालनमा आएको केन्द्रमा बिरामीले सीटी, एमआरआई, रेडियसन, किमो, थेरापी, विभिन्न परीक्षणसहित चिकित्सा सेवासमेत पाउनेछन् ।

ब्रेन ट्युमर अत्यन्त घातक रोग मानिन्छ । ब्रेन ट्युमरको अर्थ मस्तिष्कमा असामान्य कोषिकाको वृद्घि हुनु हो । ब्रेन ट्युमर भए सामान्यतयाः अत्यन्त टाउको दुख्ने, रिंगटा लाग्ने, शरीरमा असन्तुलन जस्ता समस्या देखिन्छन् । ‘परीक्षणका लागि एउटा रोगीले १० ठाउँमा धाउनुपर्ने अवस्थाको अन्त गर्न र सहज रूपमा उपचार पाउन राष्ट्रिय ब्रेन ट्युमर केन्द्र स्थापना गरेका हौं,’ अस्पतालका स्नायु शल्यक्रिया विभागका प्रमुख प्रा.डा.राजीव झाले कान्तिपुरसँग भने, ‘देशभरिका अस्पतालसँग समन्वय गरेर तथ्यांक संकलन गर्ने र यसलाई सर्वसाधारणका लागि उपलब्ध गराउनु केन्द्रको उद्देश्य हो ।’

डा. झाका अनुसार केन्द्रले ब्रेन ट्युमरको उपचार गर्ने तथा यो रोगबारे जनचेतना फैलाउनेसमेत काम गर्नेछ । ‘हामीकहाँ ट्युमर धेरै ठूलो भइसकेपछि मात्र रोग पहिचान वा उपचारका लागि आउँछन्’, डा.झा भन्छन्, ‘त्यसले उपचारपछि पाउनुपर्ने सकारात्मक प्रतिफलमा धेरै कमी हुने गरेको छ ।’

मुलुकमा अधिकांश ब्रेन ट्युमरका बिरामी आँखा देख्न छाडेपछि, कान सुन्न नसकेपछि, बोल्न नसक्ने भएपछि, दिसा, पिसाब गरेको थाहा नपाउने भएपछि, विभिन्न किसिमको पक्षघातको लक्षण देखिएपछि वा छारेरोग भएपछि अस्पताल पुग्ने गरेको डा. झाको भनाइ छ । नेपालमा ब्रेन ट्युमरको अवस्थाबारे हालसम्म कुनै बृहत् अध्ययन–अनुसन्धान भएको छैन । वीरको स्नायु शल्यक्रिया विभागमा दैनिक आउने बिरामीमध्ये ५ देखि ८ जना ब्रेन ट्युमरका बिरामी हुने गरेका छन् ।

डा. झाका अनुसार नयाँ र पुराना गरी दैनिक १५ देखि २० जना ब्रेन ट्युमरका बिरामी अस्पताल पुग्छन् । ‘खासै अध्ययन नभए पनि नेपालमा समेत एक लाख जनसंख्यामा ५ देखि ७ जनासम्ममा ब्रेन ट्युमर देखिने गरेको छ’, डा.झा भन्छन्, ‘यस्ता ब्रेन ट्युमरमा ३० देखि ४० प्रतिशतसम्म क्यान्सरजन्य ट्युमर र ७० देखि ८० प्रतिशतसम्ममा क्यान्सररहित ट्युमर देखिने गरेको छ ।’

क्यान्सरसहितको गाँठोलाई ‘हाई ग्रेड’ र क्यान्सररहितलाई ‘लो ग्रेड’ ट्युमर भनिन्छ । लो ग्रेड ट्युमर युवामा बढी देखिन्छ । हाइ ग्रेड ट्युमर उमेर बढ्दै गएकाहरूमा बढी देखिने गरेको छ । पछिल्लो समय युवामा समेत हाइ ग्रेड ट्युमर देखिन थालेको डा.झा बताउँछन् । क्यान्सरजन्य ब्रेन ट्युमर आनुवांशिक कारणले समेत हुन्छ । ब्रेन ट्युमर भएको यकिन भएपछि क्यान्सरका कोषिका हटाउन शल्यक्रिया गरिन्छ ।

शल्यक्रियासँगै किमोथेरापी, रेडियसन थेरापीलगायतका उपचार विधि पनि प्रयोग गरिन्छ । अमेरिकन क्यान्सर सोसाइटीको अध्ययनले मानिसमा मस्तिष्क वा स्पाइन कर्डको ट्युमर हुने जोखिम १ प्रतिशतभन्दा कम हुन्छ ।

प्रकाशित : जेष्ठ ३०, २०८० ०६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×