कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जनगणनाको तथ्यांकमा दोहोरिएको मिथ्यांक

१५० जातमध्ये ६७ मात्र जनगणनाले समेट्यो : मधेसी आयोग
नभएको ‘राई’ भाषाको वक्ता १ लाख ४४ हजार
पहिचानलाई लिएर भएका मागलाई सम्बोधन भएको मानवशास्त्रीको भनाइ
गणेश राई

काठमाडौँ — राष्ट्रिय तथ्यांक कार्यालयले दोस्रो चरणमा सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को नतिजामा मुलुकभित्र १४२ जातजाति, १२४ भाषा र १० धर्म मान्ने समुदाय रहेको उल्लेख छ । अघिल्लो जनगणनाको तुलनामा १७ जातजाति बढेको छ भने एउटा भाषा थपिएको छ ।

जनगणनाको तथ्यांकमा दोहोरिएको मिथ्यांक

पहिचानको मुद्दाका रूपमा चौतर्फी दबाब बढेपछि कार्यालयले पहिलो चरणमा सोल्टी होटेलमा प्रधानमन्त्रीको उपस्थितिमा सार्वजनिक गरेको नतिजामा जातजाति, भाषा र धर्मको तथ्यांक समेटेको थिएन । कार्यालयले गत शुक्रबार (जेठ १९ गते) प्रेस विज्ञप्तिमार्फत उक्त नतिजा सार्वजनिक गरेको हो ।

नतिजा प्रकाशन भएसँगै तथ्यांकमा मिथ्यांक दोहोरिएको पाइएको छ । नतिजा प्रकाशनअघि जातजाति, भाषा र धर्मको विषयलाई लिएर विभिन्न समुदायले तथ्यांक कार्यालयको ध्यानाकर्षण गराउँदै आएका थिए । ‘राष्ट्रिय तथ्यांक कार्यालयमा जातजाति, भाषा र धर्म सम्बन्धमा सरोकारवाला विभिन्न व्यक्ति तथा संस्थाहरूबाट करिब ७० वटा माग/ध्यानाकर्षण पत्र दर्ता भएको,’ विज्ञप्तिमा छ, ‘यस सम्बन्धमा विज्ञ र संवैधानिक आयोगका सम्बन्धित कर्मचारीहरूको सहभागितामा परामर्श गरिएको र विभिन्न व्यक्ति तथा संस्थाहरूसँग छलफल गरिएको थियो । साथै संवैधानिक आयोगहरू, भाषा आयोग तथा मन्त्रालयहरूसँग पनि छलफल गरी राय सुझाव लिइएको थियो ।’ जनगणनाका उत्तरदाताको जवाफ र विज्ञ समूहको सिफारिसअनुसार यी जातजाति र भाषाको संख्या यकिन गरिएको जनाइएको छ ।

जनगणना २०६८ को तथ्यांकमा १२५ जातजातिमा १७ वटा थपिएको जनाइएको छ । यस्तै, अघिल्लो तथ्यांकमा उल्लेख १२३ भाषामध्ये १२ वटा विदेशी भाषा बोल्ने व्यक्तिको संख्या न्यून भएकाले ‘अन्य भाषा’ अन्तर्गत समावेश गरी हाल नयाँ थप भएका १३ वटा भाषासमेत गरी १२४ मातृभाषा कायम गरिएको विज्ञप्तिमा उल्लेख छ ।

जनगणनाको तथ्यांकअनुसार मुलुकको कुल जनसंख्या २ करोड ९१ लख ६४ हजार ५ सय ७८ जना रहेको छ । जसमा १ करोड ४९ लाख ११ हजार २७ महिला र १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ पुरुष रहेका छन् ।

कुल जनसंख्याका हिसाबले दसौं स्थानसम्म रहेका जातिमा सबैभन्दा धेरै १६ दशमलब ४५ प्रतिशत अर्थात् ४७ लाख ९६ हजार ९ सय ९५ जना क्षत्री जातिको जनसंख्या रहेको छ । दोस्रो स्थानमा पहाडी ब्राम्हण जातिको ११ दशमलब २९ प्रतिशत (३२ लाख ९२ हजार ३७३) रहेको छ । तेस्रोमा मगर जातिको २० लाख १३ हजार ४९८ (६.९ प्रतिशत), थारु १८ लाख ७ हजार १ सय २४ (६.२ प्रतिशत) रहेको छ ।

त्यसपछिको जनसंख्या तामाङ १६ लाख ३९ हजार ८ सय ६६ (५.६२ प्रतिशत), विश्वकर्मा १४ लाख ७० हजार १० (५.०४ प्रतिशत) रहेको छ । मुसलमान १४ लाख १८ हजार ६७७ (४.८६ प्रतिशत), नेवाः (नेवार) १३ लाख ४१ हृजार ३६३ (४.६ प्रतिशत), यादव १२ लाख २८ हजार ५८१ (४.२१ प्रतिशत) र दसौं क्रममा राई जाति ६ लाख ४० हजार ६७४ (२.२ प्रतिशत) रहेको छ ।

सबैभन्दा कम नुराङ जातिको जनसंख्या ३६ जना रहेको देखिएको छ । त्यसैगरी बनकरिया १८० जना छन् । लोपोन्मुख राउटेको जनसंख्या ५६६ जना र राउटे (खाम्ची) भाषा बोल्न ७४१ जना देखिएको छ । यस्तै, कुसुन्डा जातिको जनसंख्या २५३ जना र कुसुन्डा भाषा बोल्ने २३ जना छन् ।

धार्मिक हिसाबले हिन्दू २ करोड ३६ लाख७७ हजार ७ सय ४४ रहेको छ । बौद्ध २३ लाख ९३ हजार ५ सय ४९ रहेको छ । इस्लाम १४ लाख ८३ हजार ६६ रहेको छ । किरात ९ लाख २४ हजार २ सय ४ रहेको छ । क्रिस्चियन ५ लाख १२ हजार ३ सय १३ रहेको छ । प्रकृति धर्म मान्ने १ लाख २ हजार ४८ जना रहेका छन् । बोन धर्म मान्ने ६७ हजार २ सय २३ रहेका छन् । जैन धर्म मान्ने २३९८, बहाई मान्ने ५३७ र शिख मान्ने १४९६ रहेका छन् ।

मुलुकमा १२४ भाषा बोलिने तथ्यांकले देखाएका छ । सबैभन्दा बढी ४४ दशमलब ८६ प्रतिशतले नेपाली भाषा बोल्दछन् । त्यसपछि मैथिली ११ दशमलव ०५ प्रतिशत, भोजपुरी ६ दशमलव २४ प्रतिशत, थारु ५ दशमलब ८८ प्रतिशत, तामाङ ४ दशमलव ८८ प्रतिशतले बोल्दछन् ।

एक प्रतिशतभन्दा बढी संख्याले बोल्ने भाषामा बज्जिका ३ दशमलव ८९ प्रतिशत, अवधि २ दशमलव ९६ प्रतिशत, नेपालभाषा (नेवारी) २ दशमलव ९६ प्रतिशत, मगर ढुट २ दशमलव ७८ प्रतिशतले बोल्दछन् । यस्तै, डोटेली १ दशमलव ७ प्रतिशत, उर्दू १ दशमलव ४२ प्रतिशत, याक्थुङ/लिम्बू १ दशमलव २ प्रतिशत तथा गुरुङ १ दशमलव १२ प्रतिशतले बोल्दछन् ।

एक प्रतिशतभन्दा कम ०.०२ प्रतिशत वक्ता संख्या रहेको भाषा ५७ वटा छन् । २५ वटा भाषा ० दशमलव ०१ प्रतिशतले बोल्दछन् । त्यस्तै, साद्री र अंग्रेजी भाषा १ हजार ३ सयले बोल्छन् । तीसँगै २९ वटा भाषाको वक्ता शून्य प्रतिशत छ जसमा सबैभन्दा थोरै २३ जनाले कुसुन्डा बोल्न छन् ।

मधेशी आयोगका अध्यक्ष विजय दत्तले सिफारिस गरेको १५० जातमध्ये ६७ जातलाई जनगणनाको तथ्यांकमा समेटिएको बताए । ‘जनगणनाको नतिजा आइसकेपछि आयोगको बैठक बसेर तराई मधेसका मधेसी र गैर मधेशीको जातलाई सम्बोधन गर्न राष्ट्रिय तथ्यांक कार्यालयलाई फेरि पत्राचार गर्ने निर्णय गरेका छौं,’ अध्यक्ष दत्तले कान्तिपुरसित भने, ‘त्यसै पनि मधेशी समुदायको पहुँच राज्यमा पुग्न सकेको छैन । तथ्यांकमै छुटेपछि आरक्षण व्यवस्थामा नकारात्मक प्रभाव पारेको छ । मूल मर्म एकातिर व्यवहार अर्कोतिर भएको अवस्था छ ।’

विज्ञका अनुसार मुलुकमा एक जाति एक भाषा, बहुजाति एक भाषा, एक जाति बहुभाषा बोल्ने समुदाय छन् । जसअनुसार किरात राई जातिभित्र करिब २६ वटा भाषा बोल्ने समुदायमा पर्दछन् । ती भाषा बान्तावा, चाम्लिङ, तिलुङ, कुलुङ, थुलुङ, वाम्बुले, दुमी, लुङखिमलगायत भनेर चिनिन्छन् । ती भाषालाई ‘राई’ भनिँदैन । तथ्यांकमा भने ‘राई’ भाषा बोल्नेको संख्या १ लाख ४४ हजार ५ सय १२ जना रहेको उल्लेख छ । २०६८ को जनगणनामा समेत ‘राई’ भाषा भनेर १ लाख ५९ हजार उल्लेख थियो ।

‘त्यतिखेर पनि त्यो संख्या आफैंमा अमूर्त, गोलमटोल थियो किनभने राई समूहभित्र बान्तावा, चाम्लिङलगायत २६ भाषा बोलिन्छन्,’ भाषाशास्त्री तारामणि राईले भाषा आयोगले २०७८ को जनगणनाको भाषाको तथ्यांक प्रदेशको भाषा पुनरावलोकन गर्न सकिने प्रावधान राखेको उल्लेख गर्दै भने, ‘राई भाषामात्र भनेकाले प्रदेश–१ को सरकारकारी कामकाजको भाषा प्रयोगमा समस्या आयो । अहिलेको तथ्यांकले पनि राई भाषा भनेर उल्लेख छ । यसले भाषा नीतिमा ठूलो असर पार्नेछ । बारम्बार त्रुटि दोहोरिनुले राष्ट्रिय तथ्यांक विभागका निर्णय असफल भएको देखिन्छ । संघीय संरचनाअनुसार टप–डाउन अप्रोचबाट अब बटम अफ अप्रोचमा जान जरुरी छ ।’ उनले भाषामाथि त्रुटि दोहोरिदै आएकाले अब वास्तविक भाषावक्ताको सर्वेक्षण हुनुपर्ने बताए ।

जाति र भाषाबारे भएको त्रुटि सच्याउन किरात राई यायोक्खाले ध्यानाकर्षण गराउँदै आएको तथा मिथ्यांक नसच्चिएको भनेको छ । ‘राष्ट्रिय तथ्यांक कार्यालयलाई किरात राई जातिको सरोकारको विषयमा बारम्बार ध्यानाकर्षण गरिएको, ज्ञापनपत्र बुझाइएको र पटक–पटक छलफल गरिएको तर राई जातिको विशेषता र विविधतालाई नबुझी मिथ्यांक सार्वजनिक गरेप्रति घोर भर्त्सना गर्दै अहमति प्रकट गर्दछौं,’ अध्यक्ष जीवन हाताचो राईले विज्ञप्तिमा भनेका छन् । कुलुङ, बान्तावा, चाम्लिङ, याम्फु, नाछिरिङ, बाहिङ/बायुङ, थुलुङ, खालिङ, आठपहरिया, मेवाहाङ, साम्पाङ र लोहरुङलाई जातिको विवरणमा समावेश गरिएकाले त्यसलाई राई जातिमा समावेश गर्न भनेको छ । यस्तै, देवास राई र बायुङ राईको विवरण छुटेकाले सच्याउन भनेको छ ।

मानवशास्त्री जनक राईले जनगणनाको नतिजाअनुसार पहिचान र आरक्षणका कारण जातजातिको संख्या बढेको बताए । ‘पहिले पनि यस्तै हुन्थ्यो, कतिपय अवस्थामा जनगणनाको तथ्यांकलाई मिथ्यांक भनिए पनि त्यो भन्न मिल्दैन,’ त्रिविका प्राध्यापक राईले भने, ‘सानो संख्यामा छुट्टै देखिँदा राज्यबाट पाउने थप सेवा, सुविधा पाउने र आरक्षणको व्यवस्था भएको कारण जातजातिको संख्या बढेको देखिन्छ । विशेषगरी तराईमा केही जात बढेको देखिन्छ । अन्यत्र उस्तै रह्यो । तर, त्यसमा कुन कुन जाति बढेको भनेर छुट्टाइएको छैन । ठूला समुदायभन्दा पनि थोरै समुदायमा हामी फरक हौं भनेर बढेको देखिन्छ ।’

पहिचानलाई लिएर भएका मागलाई सम्बोधन भएको मानवशास्त्री राईको ठहर छ । ‘विगतमा लिम्बू मात्र भनिन्थ्यो, अहिले समुदायको मागअनुसार ‘याक्थुङ/लिम्बू’, ‘नेवार’ मात्र भनिएकोमा ‘नेवाः/नेवार’ बनाइएको देखिन्छ,’ उनले भने, ‘यसैगरी विगतमा ‘झाँगड’ भनेर उल्लेख गरिन्थ्यो अहिले समुदायको मागअनुसार हटाएर ‘उराँव’ मात्र उल्लेख गरिएको छ । मैले उराँवबारे अध्ययन पनि गरेको छु ।’ यसैगरी विगतमा छुटेका जातिलाई थप भएको बताए । कुन जातिजाति वा भाषा बोल्ने वा धर्म मान्ने व्यक्ति कहाँ कुन प्रदेश, जिल्ला र पालिकामा बस्छ भन्ने यकिन तथ्यांक दिइएकोले विश्वसनीय रहेको उनको कथन छ ।

प्रकाशित : जेष्ठ २३, २०८० २१:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?