कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

परिस्थिति बिग्रेलाजस्तै थियो, मोदीजीसँग वान-टु-वान वार्तापछि सम्हालियो : प्रधानमन्त्री दाहाल

'मोदीसँग ३ पटक वान-टु-वान भेटवार्ता भयो । त्यसले पनि परिस्थितिलाई सहज बनायो । धेरै मेहनत गरियो । मलाई त एकचोटि त बिग्रिन्छ क्यारे, बिगार्छन् क्यारे भन्ने चिन्ता भएकै थियो । एम्बेसीमा मेरो अनुहारमा कुनै चमक थिएन, कुनै दबाब भएजस्तो थियो । यसमा मोदीजीले नै इनिसियटिभ लिएजस्तो देख्छु ।'

नयाँ दिल्ली — प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा कुरा बिग्रेला बिग्रेलाजस्तो भएर सम्हालिएको बताएका छन् । शुक्रबार बिहान नयाँदिल्लीमा नेपाली पत्रकारहरूसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग ३ पटक वान-टु वान भेटवार्तापछि वातावरण सहज भएको बताएका हुन् । 

परिस्थिति बिग्रेलाजस्तै थियो, मोदीजीसँग वान-टु-वान वार्तापछि सम्हालियो : प्रधानमन्त्री दाहाल

बुधबार नयाँदिल्ली पुग्दाका दिन केही जटिलता आउने हुन् कि जस्तो वातावरण रहेको प्रधानमन्त्री दाहालले बताए । 'हामीले जुन अपेक्षा र तयारीका साथ आएका थियौँ । बीचमा अलिकति कम्प्लेक्सिटी आउने हो कि जटिलता आउने हो कि भन्याजस्तो पनि थियो आउँदाका दिन,' उनले भने ।

बुधबार बेलुकाको अवस्था जटिल भए पनि बिहीबार बिहानबाट वातावरण सहज बन्दै गएको प्रधानमन्त्री दाहालले बताए । 'अस्ति बेलुकाको स्थिति अर्कै थियो, हिजो बिहानबाट बिस्तारै वातावरण सकारात्मक बन्दै गयो र हैदराबाद हाउसको रिजल्ट आयो । एमओयू भयो, अग्रिमेन्ट भयो । हस्ताक्षर भयो । त्यो सबैले गर्दा यो भिजिट महत्त्वपूर्ण भयो,' उनले भने ।

बुधबार दिल्ली ओर्लिएपछि नेपाली दूतावास पुग्दा आफ्नो अनुहारमा कुनै चमक नभएको समेत उनले बताए । आफूलाई कुनै दबाब भएजस्तो महसुस भए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै पहलमा वातावरण सहज हुन पुगेको उनले बताए । 'मोदीसँग ३ पटक वान-टु-वान भेटवार्ता भयो । त्यसले पनि परिस्थितिलाई सहज बनायो । धेरै मेहनत गरियो । मलाई त एकचोटि त बिग्रिन्छ क्यारे, बिगार्छन् क्यारे भन्ने चिन्ता भएकै थियो । एम्बेसीमा मेरो अनुहारमा कुनै चमक थिएन, कुनै दबाब भएजस्तो थियो । यसमा मोदीजीले नै इनिसियटिभ लिएजस्तो देख्छु,' उनले भने ।

आफूले प्रधानमन्त्रीका रूपमा चार पटक भारत भ्रमण गरे पनि यो भ्रमण ऐतिहासिक भएको उनले बताए । पहिलेका भ्रमणलाई भन्दा यस पटक भारतीय सञ्चारमाध्यमले पनि राम्रो स्थान दिएको उनले बताए । ' कुल मिलाएर राम्रो भयो । चौथो पटक प्रधानमन्त्रीका रूपमा आएँ । दोस्रो भ्रमण स्टेट भिजिट नै थियो । राष्ट्रपति भवनमै बसेको थिएँ । तर अहिले भारतीय मिडियाले पनि मेरो भ्रमणका बारेमा बढी नै कभरेज गरेको पाएँ,' उनले भने ।

त्यस्तै प्रधानमन्त्री दाहालले यस पटकको मुख्य 'आउटकम' लङटर्म पावर डिल नै भएको बताए । ऊर्जा क्षेत्रमै नेपालको सम्भावना भएको उल्लेख गर्दै दाहालले भने, ' हामीले सबैभन्दा जोड दिएको दीर्घकालीन ऊर्जा सम्झौता हो । हामीसँग भएको पोटेन्सियल भनेको पावर सेक्टर नै हो ।'

आफूले भारतीय समकक्षी मोदीसँगको भेटमा सीमा विवाद थाती राखेर नेपाल-भारत सम्बन्धमा ब्रेकथ्रु हुन नसक्ने बताएको प्रधानमन्त्री दाहालले बताए । उनले भने, 'मैले मोदीजीलाई सीमा विवाद कायम राखेर नेपाल-भारतबीच ब्रेक थ्रु हुन सक्दैन भनेँ । नेपाल-भारत सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास मोदीजीले राख्नु भएको छ । उहाँकै मुखबाट सीमा समस्या हल गर्ने कुरा महत्त्वपूर्ण हो ।'

प्रकाशित : जेष्ठ १९, २०८० ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×