ईपीजीको विषय उठाएर माहोल बिगार्नतिर लागिएन : प्रधानमन्त्री दाहाल

नयाँ दिल्ली — चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी)को प्रतिवेदनको विषय उठाएर माहोल बिगार्नतर्फ आफू नलागेको बताएका छन् ।

ईपीजीको विषय उठाएर माहोल बिगार्नतिर लागिएन : प्रधानमन्त्री दाहाल

भ्रमणकै क्रममा शुक्रबार बिहान पत्रकारहरूसँग भएको संक्षिप्त कुराकानीमा प्रधानमन्त्री दाहालले ईपीजीको विषय उठाएको भए महोल बन्नेभन्दा थप बिग्रनसक्ने स्थिति आफूले देखेकाले त्यसलाई उठाएर माहोल बिगार्नतर्फ नलागेको बताएका हुन् ।

‘ईपीजीको विषय उठ्दै उठेन‚ उठाएर माहोल बिगार्नतिर पनि लागिएन । यो कुरा उठाएको भए माहोल बन्दैन थियो । फेरि यसैलाई उठाएर हुने कुरा पनि किन बिगार्ने भन्ने भयो‚’ उनले भने‚ ‘ईपीजीको विषय नेपालमा हामीले गम्भीरतापूर्वक लिएका हौं । मलाई के लाग्यो भने यही विषयमा विवाद गरेर सबै काम अड्काएर राख्नुभन्दा फुकाउने काम सबै फुकाउँदै गयो भने पछि वातावरण बनाएर यो ईपीजी पनि एउटा विन्दुमा गएर सम्बोधन हुन्छ ।’ राम्रा काम अघि बढाउँदै गएपछि ईपीजीको विषय पनि सम्बोधन हुनेमा आफू विश्वस्त रहेको प्रधानमन्त्री दाहालले बताए ।


दुई मुलुकबीचका विविध विषयमा छलफल गरेर सम्बोधनका लागि सुझाव दिन गठित समूहको पहिलो संयुक्त बैठक २०७३ असारमा काठमाडौंमा भएको थियो । २०७५ असार १५ र १६ मा काठमाडौंमै भएको नवौं बैठकले ईपीजी प्रतिवेदन सुरुआतमा भारतीय प्रधानमन्त्रीलाई हस्तान्तरण गर्ने र त्यसपछि नेपालका प्रधानमन्त्रीलाई बुझाउने निर्णय गरेको थियो । ईपीजी प्रतिवेदन तयार भएपछि नेपाल र भारतका प्रधानमन्त्रीबीच पटक–पटक भेटवार्ता भइसकेको छ । तर प्रतिवेदन बुझ्ने काम भने अहिलेसम्म हुन सकेको छैन ।

आफ्नो भ्रमणले नेपाल-भारतबीच रहेका विभिन्न समस्याहरूको विकल्पहरूबारे सोच्न सुरु भएको भन्दै सीमा विवादबारे पनि सकारात्मक संवाद सुरु भएको उल्लेख गरे । उनले भने‚ ‘सीमा विवादलाई राखिराख्ने हो भने त कहिले सुल्झिने भएन भन्ने भयो । त्यसकारण पनि हिजोबाट सकारात्मक संवाद सुरु भयो ।

छलफल गर्ने क्रममा शारदा ब्यारेजको पानीको कुरा पनि उठेको बताउँदै उनले भने‚ ‘लोअर शारदा ब्यारेजको पानीको विषय आयो कि एक्जिस्टिङ युज अफ वाटर भन्ने कुरा आइदिने भयो । त्यसपछि महाकाली सन्धि र पञ्चेश्वरको कुरा अगाडि नबढ्ने भन्ने कुरा आयो‚’ उनले भने‚ ‘अहिलेचाहिँ ती सबै कुरा छाडेर महाकाली सन्धिलाई नै मध्यनजर गर्दै पञ्चेश्वरको डीपीआर सुरु गरौं भन्नेतिर लाग्यौं । डीपीआर सुरु गरिसकेपछि त बनाउने प्रक्रिया स्वतः अगाडि जान्छ । नेपालमा र पहिला भारत-नेपालमा जसरी सहमति भएको थियो‚ त्यो रूपमा नभएर नयाँ रूपमा यसलाई प्राथमिकता दिएर अगाडि बढाउने भन्ने कुरा भयो ।’

समग्रमा भ्रमणको परिणाम सकारात्मक आएको भन्दै प्रधानमन्त्री दाहालले अब राम्रो मोमेन्टम लिएर अघि बढ्न सबैलाई आग्रह गरे ।

नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणको विषयमा बोल्दै उनले आफूले यसअघि नै नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले नै प्रमाणीकरण गर्नुपर्छ भनेको तर संयोगले आफू भारत भ्रमणमा जानेबेलामै राष्ट्रपतिले प्रमाणीकरण गरेको बताए । ‘मेरो भारत भ्रमणसँग यो विषय नजोडियोस् भन्ने मेरो चाहना थियो । तर त्यो संयोग हो‚’ उनले भने ।

प्रकाशित : जेष्ठ १९, २०८० ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?