विदेशी लगानी प्रतिबद्धता ३५ प्रतिशत कम


काठमाडौँ — चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म १ सय ५९ उद्योगमा २० अर्ब ५६ करोड बराबरीको विदेशी लगानी स्वीकृत भएको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्ष ३५.४ प्रतिशतले प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता घटेको हो ।


आर्थिक वर्ष ०७८/७९ को सोही अवधिमा १ सय ४९ उद्योगमा ३१ अर्ब ८३ करोड रुपैयाँ विदेशी लगानी स्वीकृत भएको थियो ।
आर्थिक सर्वेक्षण ०७९/८० अनुसार उद्योग विभागमा फागुन मसान्तसम्म ५ हजार ७ सय ९२ उद्योगमा ४ खर्ब ३९ अर्ब ७८ करोड रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत भएको छ । यस्ता उद्योगबाट ३ लाख १ हजार ५ सय ९८ जनालाई रोजगारी सिर्जना हुने अनुमान छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म वैदेशिक लगानी स्वीकृति पाएका उद्योगमध्ये सेवामूलक उद्योग ३३.२, पर्यटन उद्योग ३३ र उत्पादनमूलक उद्योग २२.५ प्रतिशत र बाँकी अन्य क्षेत्र छन् ।
स्वीकृत लगानीमध्ये ऊर्जामूलक क्षेत्रमा २९.७, सेवा क्षेत्रमा २३.३, पर्यटन क्षेत्रमा २२.२ र उत्पादनमूलक क्षेत्रमा १७.२ प्रतिशत लगानी रहेको छ । प्रस्तावित रोजगारी उत्पादनमूलक उद्योगमा सबैभन्दा बढी र पूर्वाधार उद्योगमा सबैभन्दा कम छ ।
फागुनसम्म विदेशी लगानीको स्वीकृति पाएका उद्योगमध्ये कुल लगानीका आधारमा सबैभन्दा बढी चीनको ४४.७ र भारतको २३.५ प्रतिशत छ । लगानी स्वीकृति संख्याका आधारमा समेत सबैभन्दा बढी चीनको ७.४ र भारतको १४.४ प्रतिशत छ । गत फागुनसम्म एक अर्ब १७ करोड रुपैयाँ खुद प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो ९२.८ प्रतिशतले कम हो । गत आर्थिक वर्षको ९ महिनासम्म यस्तो लगानी १६ अर्ब ३० करोड रुपैयाँ थियो ।
प्रकाशित : जेष्ठ १५, २०८० ०६:३८