फेरि द्वन्द्व चर्काएर फाइदा लिन चाहने तत्व सलबलाइरहेका छन् : प्रधानमन्त्री दाहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले टुंगोमा पुगेको शान्ति प्रक्रिया र प्राप्त उपलब्धिलाई उल्ट्याउन चाहने शक्ति र व्यक्तिहरुबाटै अहिले संक्रमणकालीन न्यायलाई अवरुद्ध पार्ने कोसिस भइरहेको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको २३ औँ वार्षिकोत्सवमा बोल्दै प्रधानमन्त्री दाहालले संक्रमणकालीन न्यायको विषयलाई टुंगोमा पुग्न नदिँदै पुन: द्वन्द्व चर्काएर फाइदा लिन चाहने तत्वहरु सलबलाइरहेका बताए ।

'नेपालमा १० वर्षे जनयुद्ध र ऐतिहासिक जनआन्दोलनका बलमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना सम्भव भएको हो । दसवर्षे द्वन्द्वपश्चात २०६३ मंसिर ५ मा भएको विस्तृत शान्ति सम्झौताबाट देशले शान्तिप्रक्रियामा पाइला चालेपश्चात शान्ति सम्झौतामा उल्लेखित संविधानसभावाट संविधान निर्माण, माओवादी योद्धाहरुको नेपाली सेनामा समायोजन, हतियार व्यवस्थापन, पुनर्निर्माणलगायतका विषयहरु टुङ्गोमा पुगिसकेका छन्,' उनले भने, 'बाँकी रहेको सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय चाँडै टुंगोमा पुर्याउन राजनीतिक तहमा समझदारी भएको छ । तर शान्ति प्रक्रिया र यसमार्फत् प्राप्त उपलब्धि उल्ट्याउन चाहने कतिपय शक्ति र व्यक्ति अहिले पनि सक्रमणकालीन न्यायलाई अवरुद्ध गर्ने कोशिस गरिरहेका छन् । यो विषय टुङ्गोमा नपुग्दै पुनः द्वन्द्वलाई चर्काएर फाइदा लिन चाहने तत्वहरु बेलाबेलामा सल्बलाउने गरेका छन् ।'

उनले विस्तृत शान्ति सम्झौताको घरेलु मोडेल जस्तै संक्रमणकालीन न्यायलाई पनि छुट्टै घरेलु मोडलबाट पीडितलाई न्यायको अनुभूति र विश्वका लागि अनुकरणिय हुने गरी टुंगोमा पुग्नुपर्ने बताए ।

उनले राष्ट्रिय मानव अधिकार आयोगलाई २३ औँ वर्ष पार गरेको अवसरमा शुभकामना दिँदै आयोगको अन्तरार्ष्ट्रिय वर्गीकरणमा घटुवा गर्ने परिस्थिति बनेकोमा सरकारले त्यस्तो छवि गिर्न नदिन सम्पूर्ण प्रयास गर्ने बताए ।

'आयोग विगतमा 'ए'स्तरमा रहँदै आएकोमा वर्तमान पदाधिकारीहरुको नियुक्ति प्रक्रियामाथि प्रश्न उठाई मानव अधिकार आयोगहरुको स्तर निर्धारण गर्ने संयुक्त राष्ट्र संघीय निकाय ग्लोबल एलाइन्स फर नेशनल ह्युमन राइट्स इन्ष्टिच्यूसनले अहिले 'बि' मा झार्न प्रस्ताव गरेको सन्दर्भ सरकारले जानकारीमा लिएको छ । आयोगको 'ए' स्तर कायम राख्न सरकारले गर्नुपर्ने जुनसुकै कार्य गर्न सरकार प्रतिबद्ध छ,' उनले भने ,'तर आयोगका पदाधिकारीवाट पनि आयोगको 'ए' स्तर कायम राख्न आफूले गर्नुपर्ने सबै कार्य गर्न गम्भीर र जिम्मेवार हुनु पर्दछ ।'

प्रधानमन्त्री दाहालले सरकार लैङ्गिक समानता, समानुपातिक समावेशीकरण, सहभागिता र सामाजिक न्यायलगायत मानव अधिकारको मूल्य, मान्यताका आधारमा मानव अधिकारको उपभोग गर्न पाउने वातावरण निर्माण गर्दै, सबै प्रकारका जातीय तथा लैङ्गिक विभेदको अन्त्य, हिंसा तथा दण्डहीनताको अन्त्य गर्न प्रतिबद्ध रहेको बताए ।

प्रकाशित : जेष्ठ १२, २०८० १७:१०
प्रतिक्रिया
पठाउनुहोस्

चार कान्तिपुरकर्मीसहित १९ जना पुरस्कृत

कान्तिपुर संवाददाता

काठमाडौँ — चार कान्तिपुरकर्मीसहित १० पत्रकार, प्रशिक्षक, खेलाडी पुरस्कृत भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार एक समारोह आयोजना गरेर राष्ट्रिय खेलकुद प्रतिभा एवं खेल पत्रकारिता पुरस्कार तथा सम्मान प्रदान गरेको हो । पुरस्कृत पत्रकार, खेलाडीलगायतलाई  युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले प्रमाणपत्र र नगद प्रदान गरे । 

रेडियो कान्तिपुरका मकवानपुर संवाददाता सुवास विडारी वाग्मती प्रदेशतर्फ 'पत्रकारिता प्रोत्साहन पुरस्कार'बाट पुरस्कृत भएका छन् । पत्रकारिता प्रोत्साहन पुरस्कार समावेशीतर्फ कान्तिपुर दैनिकका कास्की संवाददाता दिपक परियार, दैलेख संवाददाता ज्योति कटुवाल पुरस्कृत भए । यस्तै कान्तिपुर टेलिभिजनका मोरङ संवाददाता अर्जुनकुमार सुवेदी कोशी प्रदेशतर्फ पुरस्कृत भएका छन् ।

प्रदेशगत पत्रकारिता प्रोत्साहन पुरस्कार पाउनेमा मधेस प्रदेशबाट संजीवकुमार शाह (महोत्तरी), गण्डकी प्रदेशतर्फ धनबहादुर गुरुङ (स्याङ्जा), लुम्बिनी प्रदेशतर्फ विजय नेपाल (पाल्पा), कर्णाली प्रदेशतर्फ ललितबहादुर बुढा (सुर्खेत), सुदूरपश्चिम प्रदेशतर्फ पूर्णबहादुर खड्का (अछाम) छन् । सिन्धुपाल्चोकका पत्रकार सिताराम कोइरालाले खेलकुद पत्रकारिता पुरस्कार पाएका छन् ।

यस्तै पुरस्कृत हुने खेलाडीहरुमा उसुतर्फ विश्व बुढामगर (रुकुम पुर्व) र मिना ग्लान (नुवाकोट) छन् । तेक्वान्दोतर्फ गिता विष्ट (कैलाली), निरज देउवा (डडेलधुरा), प्रेमकुमार दर्नाल (सर्लाही) तथा बास्केटबलतर्फ रामबहादुर तामाङ (सिन्धुपाल्चोक) छन् ।

खेलकुद मन्त्रालयले करातेका तारा श्रेष्ठ गुरुङ (धनकुटा), दिपेन्द्र ढकाल (काभ्रेपलान्चोक) र खेल चिकित्सक प्रा. डा. नवीसमानसिंह प्रधान (ललितपुर) लाई पनि पुरस्कार दिएको छ ।

पुरस्कार तथा सम्मान हस्तान्तरण कार्यक्रममा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, मन्त्रालयका सहसचिव इमनारायण श्रेष्ठ, कुमारप्रसाद दाहाल, छनोट समितिका पदाधिकारी, खेलकुद प्रतिभा तथा खेल पत्रकारहरु र मन्त्रालयका कर्मचारीलगायत सहभागी थिए ।

प्रकाशित : जेष्ठ १२, २०८० १७:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×