जलविद्युत आयोजनाको सुरुङबाट चुहिएको पानी नरोकेपछि कार्यालयमा स्थानीयको तालाबन्दी

सुरुङबाट १५ दिनदेखि चुहिएको पानी अझै रोकिएन । ४२ प्रभावित परिवारलाई अन्यत्र सार्नुपर्ने स्थानीयको माग छ । विज्ञ र प्रजिअको टोली प्रभावित क्षेत्रमा पुगे पनि कुनै पहल गरिएको छैन ।
टीकाप्रसाद भट्ट

रामेछाप — लिखु २ जलविद्युत आयोजनाको सुरुङ चुहिएको १५ दिन बितिसक्दा पनि पानी नरोकिएपछि प्रभावित क्षेत्रका बासिन्दाले आयोजनाको कार्यालयमा तालाबन्दी गरेका छन् । स्थानीयले सुरुङभन्दा तलको बसोवास गर्ने ४२ परिवारलाई अन्यत्र सार्नुपर्ने माग राखेका छन् ।

रामेछापको उमाकुण्ड १ गुम्देलको पेकरनासका बासिन्दाको भनाइ जस्तै लिखु २ आयोजनाले सुरुङमा पानी हालेपछि उक्त टोलमा जताततैबाट पानीको मूल फुटेको छ । पानीको मात्रा बढ्ने क्रममा छ । पहराहरुबाट पानी झरेको छ । खोला र खोल्सी परेको स्थानमा खोला नै बगेको छ । ‘हामी निदाउन पाएका छैनौं सुरक्षित स्थानमा सारियोस्,’ स्थानीय विमला कार्की भन्छिन्, 'भोलि भोलि नभनियोस् । अहिले नै यसको समाधान चाहिएको छ ।'

आयोजनाले परिक्षणका लागि सुरुङमा पानी हालेदेखि उक्त गाउँमा त्रास फैलिएको छ । जताततै मूल फुटेका छन् । यसअघि कहिल्यै पानी नदेखिएको स्थानमा पानीको खोला भएपछि गाउँलेहरुले बस्ती सार्नका लागि याचना गरिरहेका छन् । तर आयोजनाले स्थानीको माग सम्बोधन गर्ने सुरसार गरेको छैन ।

उक्त स्थानका सबैले अन्यत्र बसोवासको प्रबन्ध नगराएसम्म आयोजनाको काम अघि बढाउन नदिने अडान राख्दै आयोजनाको उत्पादन गृहमा तालाबन्दी गरेका छन् । आयोजनाले भने उक्त पानी सुरुङबाट चुहिएको नभएर मूल फुटेको जनाउँदै बस्ती अर्को स्थानमा सार्ने काम गर्न नसकिने संकेत गर्दै आएको छ । तर स्थानीयले भने पर्याप्त वर्षा नभएकाले मूल फुट्ने समय नभएको, पानी चुहिएर बगेको ठाउँमा यसअघि कहिल्यै मूल नफुटेको र पानीको मात्रा अस्वभाविक रुपमा बढेकोले आयोजनाको भनाइसँग सहमत छैनन् ।

उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले सुरुङ चुहिएको स्थान अवलोकन गर्दा यसअघि कहिल्यै पनि पानी नभएको स्थानमा मूल फुटेको र हरेक दिन पानीको मात्रा बढ्दै गएकोले सुरुङबाटै पानी चुहिएको अनुमान गरेका छन् । विगतमा पानी पलाउने कुवा पँधेरा मात्र नभई पहराबाट पनि पानी झरेकोले स्थानीयको त्रास स्वभाविक रहेको सुनुवारले बताए । ‘पेकरनास क्षेत्रमा रुवावासी छ, स्थानीयको निन्द्रा हराएको छ,’ सुनुवारले भने, 'आयोजनाले टेरेको छैन ।'

सुरुङमा पानी हालेपछि पेकरनास क्षेत्रमा अस्वभाविक रुपमा पानी देखिएपछि आयोजनाले विज्ञको टोली झिकाएको छ । विद्युत् विकास विभाग र नेपाल विद्युत् प्राधिकरणका विज्ञसहितका प्राविधिकहरु मंगलबार अपराह्न प्रभावित क्षेत्रमा पुगेर काम थालेका छन् । ‘प्राविधिकहरुले पानी चुहिएको क्षेत्रको अध्ययन अवलोकन गर्ने काम गर्न थालेको र प्रभावित क्षेत्रको अवलोकनका आफैं पनि त्यस क्षेत्रमा पुगेको प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बताइन् ।

निरौलाका अनुसार पानी चुहिने क्रम बढेकाले केही परिवारलाई सुरक्षित स्थानमा सार्नुपर्ने माग आएको छ । 'त्यसबाहेक विज्ञहरुले प्राविधिक रुपमा गरेको अनुसन्धानको प्रारम्भिक प्रतिवेदन दिनुपर्ने माग स्थानीले गरेका छन्,' निरौलाले भनिन्, 'हाम्रो पनि प्रतिवेदन आओस् भन्ने चाहना छ ।' उनले समस्या समाधानका लागि स्थानीय बासिन्दा र आयोजनासँग छलफल गर्ने बताइन् ।

रामेछाप र सोलुखुम्बु जिल्लाको सीमा भएर बग्ने लिखु नदीको पानी प्रयोग गरी दुगड समूहले निर्माण गरेको ५५ मेघावाटको उक्त आयोजना अन्तिम चरणमा छ । सुरुङमा पानी हालेर परिक्षण गर्ने काम भइरहेको आयोजनाका संचालक राजन खत्रीले भने ।

स्थानीय बासिन्दा ईश्वरी कार्की सुरुङभन्दा तल पर्ने गाउँमा कुनै पनि बेला सुरुङ फुटेर ध्वस्त बनाउने पो हो कि भन्ने त्रास फैलिएको बताउँछिन् । 'गाउँमा सबैको रुवावासी छ, आयोजना पक्ष टसमस भएको छैन,' कार्की भन्छिन्, 'अहिले भित्रबाट सुरुङ टालेर पानी सुकाए पनि भोलिका दिनमा फेरि फुट्ला भन्ने पिरलो छ ।'

प्रकाशित : जेष्ठ १२, २०८० १४:५५
प्रतिक्रिया
पठाउनुहोस्

पशुपतिमा जलहरी बनाउने विषयमा महालेखाले उठाएको थियो प्रश्‍न

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्ता पक्षले एमाले अध्यक्ष केपी ओलीलाई निराधार भ्रष्टाचारको आरोप लगाएको भन्दै शुक्रबार एमालेले संसद् अवरुद्ध पार्‍यो । एमालेको अवरोधपछि २० मिनेटका लागि स्थगित बैठक डेढ घन्टासम्म पनि पुन: संचालन हुन सकेको छैन । एमालेले संसद् अवरोध गर्नेसम्मको विषय बनाएको पशुपतिमा जलहरी लगाउँदा भ्रष्टाचार भएको विषय यसअघि महालेखा परीक्षकको कार्यालयले समेत प्रश्न उठाएको योजना हो ।

पशुपतिनाथ मन्दिरमा जलहरी लगाउने योजनामा महालेखा परीक्षकको ५९ औँ प्रतिवेदनले नै प्रश्न उठाएको थियो । महालेखाले पशुपतिनाथमा जलहरी लगाउने बेला सुनको यकिन विवरण नआएको प्रष्टसँग लेखेको थियो ।

प्रतिवेदनअनुसार ओली प्रधानमन्त्री भएकै बेला सरकारले पशुपति मन्दिरको शिवलिङ्गको गर्भगृहलाई पूर्ण रुपले ढाक्ने गरेर १०३ किलो ७७३ ग्राम सुन खरिद गर्न ८० करोड ११ हजार खर्च गरेको थियो ।

'विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिङ्क १२.७५ ग्रामसमेत प्रयोग गरी १०७ किलो ९२४.७५ ग्राम सुन कायम भएको उल्लेख छ । निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ्ग बनाई जलहरीमा लगाएको उल्लेख छ । रिङ्ग बनाउन प्रयोग भएको सुनको मूल्य रू. ७ करोड ८६ लाख ४६ हजार रहेको छ,' महालेखाले प्रतिवेदनमा लेखेको छ, 'जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिमाण रिङ्ग बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस गरेको छैन ।'

माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले बुधबारको प्रतिनिधिसभा बैठकमा पूर्वप्रधानमन्त्री ओली सरकारमा बस्दा धेरै वटा भ्रष्टाचारका काण्डहरु आएको र पशुपतिनाथ मन्दिरमा सुनको जलहरी लगाउने बेला पित्तल लगाएको भन्दै आरोप लगाएका थिए । त्यसदिन भने एमालेले कुनै प्रतिक्रिया दिएको थिएन ।

शुक्रबार एमालेले त्यही विषयलाई उठाएर संसद् अवरुद्ध पारेको छ ।

प्रकाशित : जेष्ठ १२, २०८० १४:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×