एकै गाउँका ६ युवा सगरमाथामा

गोर्खा लाप्राकका सन्दीप गुरुङ, युक्त गुरुङ, सुमन गुरुङ, बिसबहादुर गुरुङ, रामबहादुर गुरुङ र इमान गुरुङले एकै सिजनमा चुमे सर्वोच्च शिखर
हरिराम उप्रेती

गोरखा — धार्चे गाउँपालिका–४ लाप्राकका सन्दीप गुरुङ सानैदेखि मनास्लु क्षेत्र भ्रमणमा आएका पर्यटकसँग झुम्मिन्थे । क्याम्प ट्रेल गर्दै मनास्लु जाने पर्यटकको बास लाप्राकमा हुन्थ्यो, कक्षा ६ पढ्दै सन्दीपले उनीहरूको भरिया बनेर लार्केपास गर्ने अवसर पाए ।

त्यसपछि ट्रेकिङ क्षेत्रमै जीवन बिताउने योजना बुनेका उनी एलएलसीपछि पर्यटकको भरिया बनेर ट्रेकिङ क्षेत्रमा होमिए । भरिया बनेको दशक नबित्दै २५ वर्षीय सन्दीपले सगरमाथाको सफल आरोहण गरेका छन् । उनले गत वैशाख २३ मा सर्वोच्च शिखर चुमेका हुन् ।

‘हिमाल आरोहण गर्न धेरै चुनौती छ,’ सन्दीप भन्छन्, ‘ट्रेकिङ क्षेत्रमा लागेपछि ६ हजार मिटर उचाइको ६ वटा पिक चढेको छु, त्यही अनुभवले सगरमाथा चढ्न सकेकामा गर्व लागेको छ ।’ उनले इलिट एक्सपेड कम्पनीमार्फत हिमाल आरोहण गरेका हुन् । अब पाकिस्तानको केटु र ब्रोडपिक आरोहण गर्ने उनको योजना छ ।

यसै वर्षको सिजनमा सन्दीपसहित लाप्राकका ६ युवाले सगरमाथाको सफल आरोहण गरेका छन् । युक्त गुरुङ, सुमन गुरुङ, बिसबहादुर गुरुङ, रामबहादुर गुरुङ र इमान गुरुङले गतसाता सर्वोच्च शिखर चुमेसँगै गाउँभरि चर्चा भएको छ ।

युक्तले गत मंगलबार सातौंपटक सगरमाथाको शिखर चुमेर गुरुङ समुदायबाट सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने रेकर्ड राखेका छन् । उनले पनि इलिट एक्सपेड कम्पनीमार्फत आरोहण गरेका हुन् । उनले २२ वर्षको उमेरमा पहिलो पटक सन् २०११ मा सगरमाथा आरोहण गरेका थिए । त्यसपछि २०१७, २०१८, २०१९ तथा २०२२ मा दुई पटक सगरमाथा शिखर चुमेका थिए । ‘ट्रेकिङ क्षेत्रमा आबद्ध भएको १८ वर्ष भयो, मिहिनेत गरेपछि फल पाउने रहेछ,’ उनले भने ।


१५ वर्षदेखि ट्रेकिङ क्षेत्रमा आबद्ध २८ वर्षीय रामबहादुरले गत वैशाख २० मा सर्वोच्च शिखर टेकेका हुन् । ‘स्कुल पढ्दैदेखि दसैं–तिहारको बिदामा पर्यटकको भारी बोक्न जान्थ्यौँ, एसएलसी सिध्याएपछि यसै क्षेत्रमा भरिया भएर काम गर्दै पछि गाइड बनेँ,’ उनले भने, ‘काम गर्दै जाँदा अहिले एभरेस्ट पनि चढ्ने मौका मिल्यो ।’ सुरुका पाइला अप्ठ्यारा भए पनि शिखर चुमिसकेपछि छुट्टै आनन्द आउने राम बताउँछन् । अब उनी मनास्लु हिमाल चढ्ने योजनामा छन् ।

२४ वर्षीय ओम गुरुङले पनि यही सिजनमा सगरमाथाको सफल आरोहण गरे । उनले गत मंगलबार दिउँसो २ बजे सगरमाथाको शिखर चुमेका हुन् । गाउँका अग्रजहरूको बाटो पछ्याउँदै ट्रेकिङ क्षेत्रमा जोडिएको उनको भनाइ छ ।


गण्डकी प्रदेशका पहिलो सगरमाथा आरोहीका रूपमा इमानसिं गुरुङको नाम आउँछ । सन् २००० मा सगरमाथाको सफल आरोहण गरेका उनको २००५ मा मनाङको कङगारु हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएको थियो ।

यसरी कीर्तिमानी अगुवालाई पछ्याउँदै लाप्राक गाउँका युवा प्रत्यक्ष–अप्रत्यक्ष ट्रेकिङ क्षेत्रमा जोडिएका हुन् । लाप्राकका करिब ६० प्रतिशत स्थानीय पर्यटन तथा पर्वतारोहण क्षेत्रमा छन् । सगरमाथा आरोही, माउन्टेन गाइड, ट्रेकिङ गाइड, असिस्टेन्ट गाइडदेखि सहयोगीको भूमिकामा आबद्ध छन् । लाप्राक घर भएका अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक ४ जना छन् । उनीहरूले नै पर्वतारोहण पथप्रदर्शको प्रशिक्षण गराउँदै आएका छन् । अधिकांश स्थानीयले पर्यटन व्यवसायलाई मुख्य पेसा बनाएपछि धार्चेलाई ‘आरोही गाउँपालिका’ घोषणाको माग पनि उठ्दै आएको छ ।


लाप्राकका अधिकांश युवा ट्रेकिङ क्षेत्रमै आबद्ध भएकाले यो वडालाई आरोहीको गाउँको रूपमा परिचित गराउनुपर्ने धार्चे–४ का रोजन गुरुङ बताउँछन् । ‘एउटै वडाको नौ जनाले सगरमाथा आरोहण गरिसकेका छन्,’ उनले भने, ‘मनास्लु र अरू पिक चढ्ने पनि धेरै छन् । यो गाउँको मात्र नभएर जिल्लाकै गौरवको कुरो हो । यसले गाउँका युवालाई ट्रेकिङ क्षेत्रमा लाग्न अझै उत्साह थपेको छ । लाप्राकलाई आरोही गाउँ घोषणा गर्न पालिका र प्रदेश सरकारले पनि पहल थाल्नुपर्छ ।’

प्रकाशित : जेष्ठ १२, २०८० ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्

नेपालको स्तरोन्नतिपछिको प्रभावबारे छलफल 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर–हमदीबीच अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा नेपाललाई पर्ने प्रभावबारे छलफल भएको छ । 

अतिकम विकसित मुलुकबाट नेपालको स्तरोन्नतिबाट पर्न सक्ने प्रभाव न्यूनीकरणका लागि सहकार्य गर्न ढकालले सिंगरसमक्ष आग्रह गरे । साना तथा मझौला उद्योग व्यवसायको क्षमता विकास, दक्ष जनशक्ति उत्पादन, निजी क्षेत्र र तीनै तहका सरकारसँग समन्वयका विषयमा सहकार्य गर्नेबारे पनि उनीहरूबीच छलफल भएको हो । उक्त अवसरमा महासंघको नयाँ नेतृत्वले अघि सारेका पाँच प्रमुख प्राथमिकताबारे पनि ढकालले अवगत गराएका थिए ।

महासंघको नयाँ नेतृत्वले आर्थिक संकट समाधानको लागि रणनीति तय गर्ने, लगानीको वातावरण बनाउने, राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने विषयलाई प्राथमिकतामा राखेको छ ।

छलफलमा आवासीय संयोजक हाना सिंगरले महासंघका अध्यक्षले राखेका विषयलाई आफूले महत्त्वसाथ लिएको बताइन् । दिगो विकास लक्ष्य र स्तरोन्नति विशेष चासोका रूपमा हेरिएको उनको भनाइ छ । स्तरोन्नतिलाई सहज बनाउन रणनीति तयार पार्ने क्रममा सरकार, निजी क्षेत्र र संयुक्त राष्ट्रसंघले सहकार्य गर्न सक्ने उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ १२, २०८० ०७:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×