माओवादी उपाध्यक्ष सापकोटा र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता 

कान्तिपुर संवाददाता

बेइजिङ — चीन भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ च्यान छाओबीच बिहीबार भेटवार्ता भएको छ ।

निवर्तमान सभामुख सापकोटा नेतृत्वको माओवादी पार्टी प्रतिनिधिमण्डल र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउ नेतृत्वको टोलीबीच बिहीबार चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको हो । उनीहरुबीच सुरुमा एक्लाएक्लै र त्यसपछि पदाधिकारीसहित भेटवार्ता भएको थियो । उनीहरुबीच दुई देश र दुई पार्टीको सम्बन्धका विषयमा छलफल भएको भेटमा सहभागी एक नेताले जनाए ।

भेटमा चिनियाँ विदेश विभाग प्रमुख लिउले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले लिएको आर्थिक विकास र समृद्धिको लक्ष्यमा चीनले निरन्तर सहयोग गर्ने बताएका छन् । जवाफमा उपाध्यक्ष सापकोटाले चीन नेपालको छिमेकीमात्र नभएर विकास साझेदार भएको चर्चा गर्दै नेपालको आर्थिक सामाजिक विकासमा पुर्‍याएको सहयोगका लागि चीनलाई धन्यवाद दिए । उनले आगामी दिनमा पनि चीनले सहयोग जारी राख्ने विश्वास व्यक्त गरेका थिए ।

यही जेठ ५ गते २० सदस्यीय सापकोटा नेतृत्वको पार्टी प्रतिनिधिमण्डल चीन गएको थियो । सुरुमा ल्हासा र मानसरोवरको भ्रमण एवं अवलोकन गरेको सापकोटा नेतृत्वको टोली अहिले राजधानी बेइजिङमा छ । भ्रमण टोलीमा पूर्वसभामुख सापकोटासहित पार्टी सचिवहरु हितमान शाक्य, गणेश शाह र डिलाराम आचार्य छन् । यसैगरी प्रदेश अध्यक्षहरु र केन्द्रीय नेताहरु पनि भ्रमण टोलीमा छन् । सापकोटा नेतृत्वको टोली जेठ १८ मा स्वदेश फर्कने कार्यक्रम छ ।


प्रकाशित : जेष्ठ ११, २०८० २२:०९
प्रतिक्रिया
पठाउनुहोस्

धनकुटामा एक व्यक्ति मृत फेला

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटा नगरपालिका-६ फोकल्यान्ड टापुमा बिहीबार एक व्यक्ति मृत फेला परेका छन् । मृतक स्थानीय ४२ वर्षीय बेलबहादुर राई रहेको प्रहरीले सनाखत गरेको छ । 

कोसी राजमार्गको धरान–धनकुटा खण्डको सडकबाट करिब २० मिटर तल झाडीमा राईको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

बुधबार साँझदेखि घरबाट हिँडेका उनको परिवार र आफन्तले खोजी गरिरहेका थिए । पैदल हिँड्ने क्रममा खोल्सीमा लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

मृतक राईको शव जिल्ला अस्पतालमा पोस्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको छ । राई केही महिनाअघि मात्रै वैदेशिक रोजगारीबाट फर्किएका थिए ।

प्रकाशित : जेष्ठ ११, २०८० २१:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×