राजदूतले रद्द मागपत्र प्रमाणीकरण गर्दा तीन सय कामदार अलपत्र

श्रम काउन्सिलर ढकालले आधिकारिकता र काम दिन सक्ने हैसियत नभएको भन्दै मागपत्र रद्द गरिदिएका थिए, उनी नेपाल फर्किएलगत्तै त्यही मागपत्र राजदूत पौडेलले ब्युँताइदिए 
होम कार्की

काठमाडौँ — मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले रद्द भइसकेको मागपत्र ब्युँताएपछि स्टार डोमेन रिसोर्सेस कम्पनीमा गएका तीन सय कामदार अलपत्र परेको खुलेको छ ।


क्वालालम्पुरस्थित नेपाली दूतावासका श्रम काउन्सिलर दीपक ढकालले आधिकारिकता र रोजगारी दिन सक्ने हैसियत नभएको भन्दै मागपत्र रद्द गरिदिएका थिए । ढकाल नेपाल फर्केपछि पौडेलले उक्त मागपत्र प्रमाणीकरण गरेका थिए । त्यही मागपत्रअनुसार गत फेब्रुअरी दोस्रो साता मलेसिया पुगेका कामदार कामविहीन बनेका हुन् ।

वैदेशिक रोजगार ऐनले दूतावासमा पेस भएको मागपत्रको प्रमाणीकरण गर्ने अधिकार श्रम काउन्सिलर वा श्रम सहचारीलाई दिएको छ । राजदूत पौडेलले श्रम काउन्सिलर नभएको बेला ६ वटा म्यानपावर कम्पनीमार्फत् कामदार ल्याउन पाउने गरी स्टार डोमेनको मागपत्र आफैं प्रमाणीकरण गरिदिएका थिए । त्यति बेला काम दिलाउने सुनिश्चितता नगरी मागपत्र प्रमाणीकरण गरिएको थियो । स्टार डोमेलन बंगलादेशबाट लगेका ५ सय ५० कामदारसमेत अलपत्र छन् ।

स्टार डोमेनले नेपालबाट ९ सय कामदार लैजाने भन्दै अक्टोबरमै नेपाली दूतावासमा प्रमाणीकरणका लागि मागपत्र पेस गरेको थियो । ‘एकैपटक ठूलो संख्यामा मागपत्र पेस गरेपछि कम्पनीको हैसियत बुझ्न खोज्यौं, तर मागपत्रमा कम्पनीको आधिकारिक इमेल थिएन । मलेसिया सरकारको प्रणालीमा कम्पनीको कानुनी हैसियत जाँच गर्न खोज्दा पनि देखिएन,’ दूतावासका एक अधिकारीले भने, ‘त्यो फाइल रोकिएपछि श्रम काउन्सिलरमाथि दबाब दिइएको थियो ।’ उनका अनुसार फाइल पेस भएको एक महिनापछि कम्पनी सञ्चालक भन्दै एक जनालाई दूतावासमा ल्याइएको थियो । मागपत्र पहिला पेस गर्ने सञ्चालकको हस्ताक्षर र सञ्चालक दाबी गर्दै पछि दूतावासमा आएका व्यक्तिको हस्ताक्षर नै फरक थियो । पछि आउने सञ्चालकले कामदारलाई कहाँ काम दिने स्पष्ट कार्ययोजना पेस गर्न नसकेपछि काउन्सिलरले फाइल नै रद्द गरिदिएको ती अधिकारीको भनाइ छ ।

श्रम काउन्सिलर ढकाल फर्केलगत्तै रद्द मागपत्रलाई राजदूत पौडेलले प्रमाणीकरण गरिदिएका थिए । ‘उपसचिवसरहको कर्मचारीले समस्या छ भन्दै रोकिदिएपछि किन राजदूतले प्रमाणीकरण गरिदिए ?,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीले भने, ‘यसमा सिधासिधा राजदूत प्रभावमा परेको देखिन्छ । समयमा उचित ध्यान पुर्‍याउन नसक्दा तीन सय कामदार समस्यामा परे । एक नेपाली व्यवसायीले नै आत्महत्या गर्नुपर्ने अवस्था सिर्जना भयो ।’

राजदूत पौडेल भने ठूलो संख्यामा कामदारको माग भएपछि कम्पनीले व्यवस्थापन गर्न सक्छ कि सक्तैन भनेर छानबिनमा मात्रै राखिएको बताउँछन् । ‘हामी कम्पनीमाथि छानबिनमा थियौं । कागजात पनि बलियो भएर पेस भयो । प्रमाणीकरण गर्नुअघि नै कलिङ भिसा जारी भइसकेको थियो,’ उनले भने ।

श्रम सचिव एकनारायण अर्यालले तीन सय कामदार अलपत्र परेको विषयलाई गम्भीर रूपले लिएको बताए । ‘एउटै कम्पनीमा यति धेरै नेपाली कसरी अलपत्र परे भनेर अनुसन्धान गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिइएको छ,’ उनले भने । विभागका महानिर्देशक मदन दाहालले स्टार डोमेनलाई कामदार पठाउने ६ वटा म्यानपावरलाई सोमबार नै स्पष्टीकरण पेस गर्न आदेश दिइएको बताए । ‘काम नै दिन नसक्ने कम्पनीमा कामदार किन लगियो, कसको कारणले यस्तो हुन गयो भनेर स्पष्टीकरण मागेका छौं,’ उनले भने, ‘विभागले मागपत्र प्रमाणीकरण पनि अध्ययन गरिरहेको छ ।’

स्टार डोमेनमा ओमेगा इन्टरनेसनलबाट ७५, मार्भलेस इम्प्लोइमेन्ट नेपालबाट ६५, जेपी ओभरसिजबाट ५६, गोल्डेन इन्टरनेसनलबाट ४६, नुर अपर्चुनिटिजबाट ४५ र अनमोल ओभरसिजबाट १४ जना गएका थिए । म्यानपावर कम्पनीहरूले उनीहरूसँग जनही २ लाख ८० हजारदेखि ३ लाख ५० हजार रुपैयाँसम्म असुलेका छन् । म्यानपावर कम्पनीहरूले स्टार डोमेनसँग भिसा किनेका थिए । स्टार डोमेनको मागपत्र नेपाली व्यवसायी महेन्द्रजंग शाहीले म्यानपावर कम्पनीहरूलाई बिक्री गरेका थिए । शाही गैरआवासीय नेपाली संघ मलेसियाका पूर्वअध्यक्ष पनि हुन् । कामदार पठाउने मार्भेलेस इम्प्लोइमेन्टका सञ्चालक रिन्जी राई अप्रिल ७ मा कामदार राखिएको होस्टलको बाथरुममा झुन्डिएको अवस्थामा फेला परेका थिए ।

मलेसियाको कम्पनी आयोग (एसएसएम) का अनुसार स्टार डोमेनका लगानीकर्ता निर्देशकमा जीयूआई सी लालसियाङ र सीओ स्विलियोङ छन् । ३० जुन २०२२ सम्मको आर्थिक प्रतिवेदनअनुसार कम्पनी ५० हजार ६ सय ५८ रिंगेट घाटामा थियो । यो कम्पनीको सम्पत्ति भने ६४ हजार ७ सय १४ रिंगेट छ । मलेसियाको श्रम विभागका निर्देशक रोसलान बहरीले स्टार डोमेनमाथि अनुसन्धान भइरहेको बताए । ‘नेपाली र बंगाली कामदारलाई कामविहीन बनाएको पाइयो । हामी पनि स्टार डोमेनमाथि अनुसन्धान गरिरहेका छौं,’ उनले भने ।

वैदेशिक रोजगार मागपत्र निर्देशिकाले कामदारको सुरक्षालाई प्राथमिकता दिई मागपत्र प्रमाणीकरणको अधिकार २०७५ जेठदेखि दूतावासलाई नै दिएको थियो । दूतावासले अधिकार दुरुपयोग गर्न थालेको म्यानपावर व्यवसायीहरूले बताउँदै आएका छन् । श्रममन्त्री शरतसिंह भण्डारीले तीन सय नेपाली अलपत्र परेको विषयलाई गम्भीर रूपमा लिइएको बताए । ‘व्यवस्थापनमा ध्यान दिन निर्देशन दिइसकेको छु,’ उनले भने ।

अलपत्र कामदारलाई अर्को कम्पनीमा स्थानान्तरण गरी काम दिलाउने जिम्मा मलेसियाले लिएको छ । कामदारहरू सप्लाई कम्पनीमा भने नजाने अडानमा छन् ।

प्रकाशित : जेष्ठ १०, २०८० ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्

८७५ नक्कली शरणार्थीको फाइल रोक्दा ताप्लेजुङ सरुवा

गिरोहले थमाएको फाइल सदर नगरेपछि तत्कालीन नासु सुरेन्द्रराज दाहाललाई तत्कालीन गृहमन्त्री खाण र सचिव पाण्डेले २०७८ भदौ ३० मा सरुवा गरिदिएका थिए
केशव दुलाल ८७५ नक्कली नामको फाइल बोकेर दमक पुगेका थिए
देवेन्द्र भट्टराई

काठमाडौँ — सजिलै धन कमाउने प्रपञ्चमा राज्यशक्ति र सत्ताको दुरुपयोग कतिसम्म हुन सक्छ भन्ने उदाहरण हुन्, सुरेन्द्रराज दाहाल ।

नक्कली भुटानी शरणार्थीको फाइल सदर नगरेकै कारण दुई वर्षअघि उनलाई तत्कालीन गृहमन्त्री बालकृष्ण खाण र सचिव टेकनारायण पाण्डेले बेलडाँगी (दमक) भुटानी शरणार्थी शिविर व्यवस्थापन समिति प्रमुखबाट ताप्लेजुङ सरुवा गरिदिएका थिए । संयोग, खाण पक्राउ परेकै दिन वैशाख २७ मा उनको ताप्लेजुङबाट इलाका प्रशासन कार्यालय दमकमा सरुवा भएको छ ।

इलाका प्रशासन कार्यालय उर्लाबारीमा कार्यरत नायब सुब्बा दाहाललाई गृह मन्त्रालयले २०७७ साउनमा बेलडाँगी शरणार्थी शिविरको नियमित कामकाज हेर्ने व्यवस्थापन प्रमुख (आरसीयू) तोकेको थियो । त्यति बेला शरणार्थी शिविरमा अनधिकृत मान्छेको आउजाउ–चहलपहल निकै देखिन्थ्यो । अलिक पछि सरकारी सम्पर्क–पहुँचमा रहेको रवाफसहित केशव दुलाल, सानु भण्डारीहरू दाहाललाई भेट्न आइपुगे । उनीहरूले नाम सूचीसहितको फाइल दिँदै दाहाललाई भने, ‘यो फाइल तु सदर गरेर गृहमा पठाइहाल्नुपर्‍यो, यसमा माथिको आदेश जोडिएको छ ।’

भुटानी शरणार्थी समस्याको दीर्घकालीन समाधानका लागि एउटा कार्यदलले काम गरिसकेको र त्यसको प्रतिवेदन गृह मन्त्रालयमा बुझाइसकेको विषयमा दाहाल जानकार थिए तर प्रतिवेदनभित्र के छ भन्ने उनलाई थाहा थिएन । बालकृष्ण पन्थी नेतृत्वको कार्यदलले ०७६ कात्तिकमा बुझाएको प्रतिवेदन औपचारिक रूपमा अझै सार्वजनिक भएको छैन । दुलालले बुझाएको फाइल हेर्दै र रुजु गर्दै अघि बढ्न खोज्दा दाहालले त्यस्ता नाम, शरणार्थी ठेगाना वा पहिचान पत्ता लगाएनन् । त्यसपछि नायब सुब्बा दाहालले त्यसमा हस्ताक्षर गर्न मानेनन् ।

त्यसअघि झापाको दमक र मोरङको पथरी–शनिश्चरेमा रहेका ६ हजार ३ सय ५० शरणार्थीको पहिचानका लागि बनेको संयुक्त प्रमाणीकरण टोली (जेभीटी) ले सन् २०१९ मार्चमा ४ सय २९ जनाको सूची तयार गरेको थियो, जसमा गृह मन्त्रालयका तर्फबाट स्थानीय प्रतिनिधिका रूपमा यिनै दाहालको नाम र हस्ताक्षर थियो । त्यही कारण थप नामको सूचीमा पनि उनकै हस्ताक्षर गराउन खोजिएको रहेछ । दाहालले नमानेपछि केन्द्रबाट ताकेता आउन थाल्यो । ‘२०७८ साउनमा गृह सचिव बनेर आएका टेकनारायण पाण्डेले फाइल सदर गरेर तत्काल गृहमा पठाउनू भनेर फोनमै ताकेता गरे, गृहमन्त्री खाणका तर्फबाट पनि पीए भन्नेहरूले कल गरिरहे,’ दाहालले सुनाए, ‘नक्कली शरणार्थी बनाएर पठाउनु अपराध हो, जेल जान्नँ भनेर फाइल सदर गरिनँ । अनि दशा सुरु भयो ।’

अड्डी लिनासाथ दाहाललाई २०७८ भदौ ३० मा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ सरुवा गरियो ।

उनका अनुसार सरुवा चाहेको भन्ने नक्कली पत्र गृह मन्त्रालयमा दर्ता गराएर २४ घण्टाभित्रमा सरुवापत्र तयार गरिएको थियो । ‘त्यसबेला म शरणार्थी शिविर हेर्ने जिम्मेवारीसहित इलाका प्रशासन कार्यालय, उर्लाबारी (मोरङ) मा थिएँ,’ उनले सुनाए, ‘तत्काल सरुवा गराउन नसक्ने हो भने काठमाडौं फिर्ता आउनू भनेर गृहमन्त्री खाणले मोरङका त्यो बेलाका सीडीओ काशीराज दाहाललाई भनेको जानकारी पाएँ । अनि म ताप्लेजुङ गएँ ।’


अहिले नक्कली शरणार्थीको जालो खुल्दै गएपछि र पूर्वगृहमन्त्री खाणले बयानमा आफू कुनै प्रकारको गिरोहमा संलग्न नरहेको बयान दिएको समाचार सुनेपछि ‘थामिन नसकेको’ भन्दै दाहाल मंगलबार राति कान्तिपुरको फोन सम्पर्कमा आएका हुन् । आफू सामान्य निजामती कर्मचारी भए पनि सर्वसाधारणलाई शरणार्थी बनाएर विदेश पठाउने भन्दै मन्त्री, सचिवसहितका उच्चपदस्थले गरेको घिनलाग्दो कामको साक्षी प्रमाणका रूपमा आफूले बोल्न चाहेको उनले बताए । ‘त्यो बेला फाइल सदर गरेर माथि पठाएको भए आज ८ सय ७५ जना नेपाली सक्कली भुटानी शरणार्थी भइसक्ने थिए कि ?’ दाहालले कान्तिपुरलाई भने, ‘राज्यमा भएको यस्तो दोहन र राष्ट्रद्रोहका बारेमा मैले मेरो तहबाट बोल्नैपर्छ । त्यसैले आफ्नै मन्त्रालयका मन्त्री र सचिवको दुर्नियतबारे बोलेको हुँ ।’

खाण गृहमन्त्री भएकै बेला २०७९ जेठमा पन्थी कार्यदलमा अध्ययन गर्न भनेर झापाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अर्को उपसमिति बनाइएको थियो । ‘त्यति बेला पनि त्यही अड्केको ८ सय ७५ जनाको सूचीसहितको फाइल अघि बढाउन दबाब दिइएको रहेछ । फाइलबारे बुझ्न झापा जिल्ला प्रशासनबाट मलाई फोन आएको थियो । मैले किर्ते फाइल अघि बढ्यो भने तिमीहरू सबै जाकिन्छौँ भनेको थिएँ,’ दाहालले सुनाए, ‘धन्न, सहायक सीडीओले फाइल अघि बढाउनुभएनछ ।’

नक्कली अनुसूची भएको फाइल र प्रतिवेदन सदर नभएकै कारण गिरोहले उठाइसकेको करोडौं रुपैयाँको हिसाब झन्झन् गोलमाल हुँदै गएको दाहालको अनुमान छ । ‘फाइल रोक्ने सुब्बा’ का रूपमा चिनिएका दाहालले पूर्वमन्त्री खाण र सचिव पाण्डेबाट पाएको प्रताडनाका बारेमा उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंसहितका प्रहरी निकायमा बयान दिइसकेका छन् । खाण पक्राउ परेकै दिन वैशाख २७ मा गृह मन्त्रालयले दाहाललाई इलाका प्रशासन कार्यालय दमकमा सरुवा गरेको छ । अन्यायमा परेको थाहा पाएरै गृहले फेरि दमकमा सरुवा गरिदिएको उनको भनाइ छ ।

तत्कालीन गृहमन्त्री खाण र सचिव पाण्डेले नक्कली शरणार्थीको फाइल प्रकरणमा असहयोगी रहेका एक शाखा अधिकृतलाई पाँचथर र अर्का उपसचिवलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिदिएको गृहस्रोतले जनाएको छ । ती कर्मचारीलाई शरणार्थी मामिला हेर्ने गृहको स्थानीय प्रशासनअन्तर्गत सुरक्षा तथा समन्वय महाशाखाबाट सरुवा गरिएको थियो ।

प्रकाशित : जेष्ठ १०, २०८० ०७:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×