२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

अर्थमन्त्री महत र एमसीसीका उपाध्यक्ष ब्रुक्सबीच भेटवार्ता

रासस

काठमाडौँ — मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को युरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेटवार्ता गरेको छ ।

अर्थमन्त्री महत र एमसीसीका उपाध्यक्ष ब्रुक्सबीच भेटवार्ता

भेटका क्रममा एमसीसीले मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल विकास समितिअन्तर्गत अघि बढाइरहेका परियोजना कार्यान्वयनको समग्र स्थितिबारे छलफल भएको अर्थमन्त्री महतको सचिवालयले जनाएको छ ।

एमसीसी सम्झौता कार्यान्वयनमा जाने मिति (अगस्त २०२३) नजिकै आएको र यो कार्यान्वयनमा गएको मितिले पाँच वर्षभित्र आयोजना सम्पन्न गरिसक्नुपर्ने सन्दर्भमा यसको पूर्वतयारीका अवस्थाका बारेमा जानकारी लिन एमसीसीका पदाधिकारीको भ्रमण भएको सचिवालयले बताएको छ ।

भेटका क्रममा एमसीसी नायब उपाध्यक्ष ब्रुक्सले आयोजनाको जग्गा प्राप्ति, खरिद प्रक्रिया जस्ता पूर्वतयारीका काममा भएको प्रगतिप्रति खुसी व्यक्त गरे । त्यसैगरी, सम्झौता कार्यान्वयनमा जानुअघि सम्पन्न भइसक्नुपर्ने बाँकी कार्यका बारेमा पनि दुवै पक्षबीच विस्तृत छलफल भएको जनाइएको छ ।

भेटका क्रममा अर्थमन्त्री डा. महतले यो आयोजना पूर्वनिर्धारित समयावधिभित्रै सम्पन्न भई नेपालको आयोजना व्यवस्थापनमा उदाहरणीय बन्न सक्ने विश्वास व्यक्त गर्नाका साथै आयोजना चक्रमा आउने महत्त्वपूर्ण विषयहरूलाई कानुनको प्रक्रिया पूरा गरी यथाशीघ्र टुङ्ग्याउने प्रतिबद्धता जनाए ।

मन्त्री डा. महतले एमसिएअन्तर्गतका आयोजनाको सफलता अन्य आयोजनाका लागि पनि अनुकरणीय हुने विचार व्यक्त गर्दै एमसीसीका पदाधिकारीलाई नेपाल भ्रमण गरी छलफल गरेकामा धन्यवाद व्यक्त गरे ।

एमसीसी नायब उपाध्यक्ष ब्रुक्सले यसअघि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट गर्दै आयोजनाको जग्गा प्राप्तिमा सहजीकरणका लागि आग्रह गरेका थिए ।

मिलेनियम च्यालेन्ज नेपाल अकाउन्ट विकास समितिमार्फत करिब तीन सय १५ किलोमिटर चार सय केभी डबल सर्किट प्रसारणलाइन र करिब तीन सय पाँच किलोमिटर रणनीतिक सडक सञ्जाल विस्तार तथा मर्मतसम्भार परियोजनामा काम भइरहेको छ ।

प्रकाशित : जेष्ठ ८, २०८० २१:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी स्थापनाकालदेखि निरन्तर अध्यक्ष रहेका जसपा नेपालका उपेन्द्र यादव महाधिवेशनबाट फेरि आफैं नेतृत्वमा आएका छन् । पटक-पटक एउटै व्यक्ति नेतृत्वमा रहिरहनुलाई के भन्नुहुन्छ ?