कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२५

संरचनागत भ्रष्टाचारको मूल जड कर्मचारी र शिक्षक राजनीतिक कार्यकर्ता बन्नु हो : रास्वपा सांसद पराजुली

काठमाडौँ — नेपालमा हुने संरचनागत भ्रष्टाचारको जड सरकारी कर्मचारी शिक्षक राजनीतिक कार्यकर्ता बन्नु रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले बताएका छन् । सांसद पराजुलीले कर्मचारीलाई र शिक्षकहरूलाई राजनीतिक दलप्रति नभई राष्ट्र र जनताप्रति जवाफदेही बन्न आग्रह गरेका छन् । 

संरचनागत भ्रष्टाचारको मूल जड कर्मचारी र शिक्षक राजनीतिक कार्यकर्ता बन्नु हो : रास्वपा सांसद पराजुली

प्रतिनिधिसभाको सोमबारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै संरचनागत भ्रष्टाचारको अन्त्य गरिए सुशासन हुने बताए । राजनीति गर्ने मन भए कर्मचारी र शिक्षकबाट राजीनामा गरेर आउन पनि उनले चुनौती दिएका छन् । 'सेवा प्रवाह र सुशासनका कुरा गर्दाखेरि सबैभन्दा बाधक संरचनाभित्र भएको भ्रष्टाचार हो । त्यसको मूल जड भनेको राष्ट्रसेवक कर्मचारी र शिक्षकहरू राजनीतिक कार्यकर्ता बनिदिनु भयो,' उनले भने ।

सांसद पराजुलीले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र शीर्ष नेताहरूलाई कर्मचारी र शिक्षकहरूलाई कार्यकर्ता नबनाउन पनि आग्रह गरेका थिए । 'त्यसकारण शीर्ष नेताहरूलाई अनुरोध गर्न चाहन्छु, देशले आज परिवर्तनका लागि बलिदान खोजेको छैन, योगदान खोजेको छ । त्यसकारण प्रत्येक राष्ट्रसेवक कर्मचारीलाई तपाईंहरू आफ्ना कार्यकर्ता बनाउने कोसिस नगरिदिनुस् कृपया । शिक्षकहरूलाई कार्यकर्ता बनाउने कोसिस नगरिदिनुस् कृपया,' सांसद पराजुलीले आग्रह गरे, 'संसद्को रोष्ट्रमबाट सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई अनुरोध गर्न चाहन्छु तपाईंहरूले जागिर प्राप्त गर्नका लागि जुनसुकै अवस्था सिर्जना भयो, जुनसुकै राजनीतिक पार्टीको टिकट काट्नुपर्ने स्थिति सिर्जना भयो त्यसलाई बिर्सिदिनुस् । तपाईंहरू आज राष्ट्र सेवक हुनुहुन्छ, निर्धक्क भएर देश निर्माण गर्ने प्रक्रियामा सहभागी हुनुस् । कुनै पनि दलसँग जवाफदेही हुनु पर्दैन, जवाफदेही हुनुपर्छ भने यस देशका नागरिकसँग र राष्ट्रसँग ।'

राजनीति गर्ने भए पदबाट राजीनामा गरेर आउन पनि सांसद पराजुलीले आग्रह गरेका थिए । 'राजनीति गर्नुछ भने आफूले गरिराखेको जिम्मेवारीबाट राजीनामा दिएर आउनुस्, त्यसपछि राजनीति गर्नुस्, स्वागत छ ।'

नेपाली जनताले नयाँ नेता र दलभन्दा पनि विकास र समृद्धि खोजेको पराजुलीको भनाइ थियो । उनले भने, 'नेपाली जनताले आज नयाँ दल र नयाँ नेता खोजेको होइन, नेपाली जनताले खोजेको विकास हो, समृद्धि हो र सुशासन हो । यो स्थापित भएकै दलहरूले दिनुस्, हामी खुसी हुन्छौं ।' पुराना दलहरूले राम्रो काम नगरेकाले समयको बाध्यताले आज आफूहरू आउनुपरेको रास्वपा सांसद पराजुलीको भनाइ थियो । सुशासनका नारा र भाषण अति भएको भन्दै जनताले सुशासन, समृद्धि र विकास खोजेको उनको भनाइ थियो । सुशासन र विकासको बाधक बेथिति र भ्रष्टाचार रहेको उनको भनाइ थियो ।

राजनीतिक दलका शीर्ष नेताहरूले आफ्नो पार्टीका र आफूसँग जोडिएका व्यक्तिहरू भ्रष्टाचारमा संलग्न भए कारबाहीबाट जोगाउन लागिपरहेको पनि सांसद पराजुलीको भनाइ थियो ।

प्रकाशित : जेष्ठ ८, २०८० १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×