कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

आत्मनिर्भर बन्दै युवती

दीपक परियार

पोखरा — गाउँमा डोजरले बाटो खन्दा स्याङ्जाकी सुस्मिता सार्की अरूसँगै हेर्न पुग्थिन् । घरको काम नै छोडेर डोजरले बाटो खनेको हेर्न मानिसहरू झुम्मिएको देख्दा उनलाई रमाइलो लाग्थ्यो । भविष्यमा एक्स्काभेटर चालक बन्छु भन्ने उनले सोचेकी थिइनन् ।

आत्मनिर्भर बन्दै युवती

घरको आर्थिक अवस्था कमजोर भएकाले उनी स्याङ्जाबाट पोखरा आएर मार्केटिङमा जागिर सुरु गरिन् । जागिर थालेको केही महिनामै १८ देखि २४ वर्षसम्मका महिलालाई निःशुल्क सीपमूलक तालिमको अवसर थाहा पाइन् । तालिमको सूचीमा थियो, एक्स्काभेटर अपरेटर । ‘सुरुमा सक्दिनँ कि जस्तो लागेको थियो,’ १९ वर्षीया सार्कीले भनिन्, ‘सिक्दै जाँदा सकिने रहेछ ।’ उनले २० दिनमा डोजर र ५ दिनमा एक्स्काभेटर चलाउन सिकिन् । कार्यमूलक प्रशिक्षण (ओजेटी) मा राम्रै काम गरिन् । तर उमेर नपुगेकाले चालक अनुमतिपत्र बनाउन पाइनन् ।

डोजर अपरेटरका लागि २० वर्ष र एक्स्काभेटरका लागि २४ वर्ष पुग्नुपर्छ । उमेर पुगेपछि चालक अनुमतिपत्र लिएर नेपालमै काम गर्ने योजना छ सुस्मिताको । डोजर, एक्स्काभेटरजस्ता भारी उपकरण चलाउने प्रायः पुरुष हुने भएकाले महिलालाई झट्टै विश्वास गर्ने वातावरण नरहेको अनुभव उनले सुनाइन् । ‘छोरी मान्छे भएर किन डोजर चलाउन आएको भन्ने प्रश्न सुरुमै तेर्सिन्छ,’ उनी भन्छिन्, ‘केटी मान्छेलाई कम विश्वास गर्छन् ।’

पोखरा भलामकी विपना हमालले बीएड पहिलो वर्ष पढ्दापढ्दै इलेक्ट्रिसियनको ३ महिने तालिम लिइन् । घरमा विद्युतीय सामग्री मर्मत गर्ने, तार जोड्ने काममा रुचि भएकैले उनले निःशुल्क तालिम लिएकी थिइन् । कार्यमूलक प्रशिक्षणका क्रममा उनले फेवा किनारबाट सराङकोट जोड्ने अन्नपूर्ण केबलकारको रेस्टुरेन्टमा विद्युत् जडानको काम गरिन् । काहुँखोलामा तला थप्न लागेको पुरानो घरमा उनले पहिलोपल्ट काम गर्ने अवसर पाइन् । आम्दानी गर्न थालिन् ।

महिलाको सीपलाई अझै विश्वास गर्ने वातावरण नभएकाले काम पाउन भने गाह्रो भएको उनको अनुभव छ । पोखराकै लभ्ली हिलमा घर बनाउने क्रममा भोगेको घटना उनले सुनाइन् । ‘हामीले काम गर्न सक्दैनौं भनेर घरधनीले राम्रो व्यवहार गर्नुभएन,’ २२ वर्षीया उनले भनिन्, ‘घर सम्पन्न भएपछि बल्ल तारिफ गरेर धन्यवाद दिए ।’ तालिम लिएपछि बिल्डिङ इलेक्ट्रिसियनका रूपमा काम गर्न आफूमा पूर्ण आत्मविश्वास रहेको उनी बताउँछिन् ।

प्लान इन्टरनेसनलको सहयोगमा राइट फर चिल्ड्रेनले सीटीईभीटीको पाठ्यक्रममा आधारित रहेर १४ विधामा युवतीलाई निःशुल्क तालिम प्रदान गरेको छ । युवा महिला रोजगार प्रवर्द्धन परियोजनाअन्तर्गत दुई वर्षको अवधिमा पोखरा महानगरमा रहेका ७ सय ४० जना विपन्न युवतीले तालिम लिइसकेका छन् । कम्प्युटर, मोबाइल मर्मत, सवारी चालक, सुरक्षा गार्ड, बिक्रेता, हाउसकिपिङ, रिसेप्सनिस्ट, सेवा, विल्डिङ इलेक्ट्रिसियन, मन्टेश्वरी, एक्स्काभेटर अपरेटर, हस्तकला, ट्रेकिङ गाइड, बारिष्टा तालिम युवतीले लिएका हुन् । तालिमपछि छुट्टाछुट्टै विधामा पूर्व प्रशिक्षार्थी सञ्जाल गठन गरेका छन् । प्रशिक्षार्थीले फेसबुक ग्रुप बनाएर आफ्ना मुद्दा उठाउन गर्ने, सिकाइ अनुभव, अवसरका बारेमा छलफल गर्छन् । नयाँ जागिर खोज्न, कार्यरत रहँदा आफूलाई परेका समस्या तथा चुनौतीहरू आदानप्रदान गर्न, परामर्श र मार्गदर्शन गर्न, रोजगारीका अन्य विषयका जानकारी साझा गर्न फेसबुक ग्रुप सहयोगी बनेको छ ।

पूर्वप्रशिक्षार्थीको कास्की जिल्लास्तरीय आलुमनाई सञ्जाल गठन भएको छ । सञ्जालमा १४ वटै क्षेत्रका प्रतिनिधि छन् । समितिकी अध्यक्ष लासाङ तामाङ पोखराकै टुकी रिसोर्टमा फ्रन्ट डेस्क अफिसरका रूपमा कार्यरत छिन् । तालिम लिएर कार्यमूलक प्रशिक्षण सकेपछि उनी लेकसाइडको कुटी रिसोर्टमा रिसेप्सनिस्टका रूपमा आबद्ध भएकी थिइन् । कोरोनापछि उनलाई टुकी रिसोर्टले बोलाएको थियो । भविष्यमा हस्पिटालिटी क्षेत्रमै स्वरोजगार बन्ने उनको योजना छ । ‘तालिमले हाम्रो आत्मविश्वास र क्षमतालाई बलियो बनायो,’ उनले भनिन्, ‘महिलाको सीपलाई विश्वास गरेर बराबरीको अवसर दिइनुपर्छ ।’

प्रशिक्षार्थीलाई कम्प्युटर, जीवन उपयोगी सीप, अंग्रेजी भाषा, संरक्षण तथा मनोपरामर्श तालिम पनि दिइएको थियो । प्लान इन्टरनेसनलकी परियोजना संयोजक हरिकला लम्सालका अनुसार ७ सय ४० मध्ये ३ सय ७७ जनाले रोजगारी पाइसकेका छन् । झन्डै २० जना विदेश गएका छन् । विभिन्न व्यावसायिक संघसंस्थासँगको साझेदारीमा प्रशिक्षार्थीलाई रोजगारी दिलाइएको छ । अपांगतामा काम गर्ने संघसंस्थासँग समन्वय गरी २८ जना अपांग युवा महिलालाई तालिम प्रदान गरिएकोमा ४ जना रोजगार भएका छन् । राइट फर चिल्ड्रेनका प्रमुख कार्यकारी अधिकृत अनील पौडेलले तालिमपश्चात् पनि रोजगारीका लागि संस्थाले सहजीकरण गर्ने बताए ।

प्रकाशित : जेष्ठ ८, २०८० ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

दूधको भुक्तानी माग्दै सुरू भएको किसानको आन्दोलनपछि भएको सहमतिबारे तपाईंको धारणा के छ ?