कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकामा नेपाल चिनाउनेहरू

‘एक्सपोर्टर अफ दि इयर–२०२३’ प्राप्त गर्ने राजकुमार भण्डारी, रञ्जन कार्की र श्रद्धा पौडेल अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसद्वारा सम्मानित
जगदीश्वर पाण्डे

काठमाडौँ — अध्ययन होस् वा रोजगारी, अधिकांश नेपालीका लागि ‘सपनाको देश’ हो अमेरिका । तर त्यहाँ पुगेका नेपाली युवाले आफैं कम्पनी चलाउने र अमेरिकीहरूलाई समेत जागिर दिने कुरा भने विरलै सुनिन्छ । खासमा नेपालबाट विद्यार्थीे भिसामा अमेरिका पुगेका नेपाली युवामध्ये अधिकांश व्यक्तिगत संघर्षमै अल्झिरहन्छन् । पढाइअनुसार जागिरका लागि संघर्ष गर्छन् र आफू र आफ्नो परिवारको जीवनस्तरलाई मात्र सुधार गर्न सक्छन् । 

अमेरिकामा नेपाल चिनाउनेहरू

तर अमेरिका पढ्न छिर्ने सबै युवा विद्यार्थीहरूको कथा र व्यवस्था भने उस्तै नहुँदो रहेछ । केही युवा यस्ता पनि छन्, जो अमेरिका गएर त्यहाँ पढाइमा अब्बल बन्दै काम गरेपछि आफूले नै काम गरेको कम्पनी खरिद गरिसकेका छन् । आफूले जागिर आएको कार्यालयको प्रमुख बनेर स्वयं अमेरिकीहरूलाई समेत जागिर दिने हैसियतमा पुगेका छन् । यस्तै अब्बल युवामध्येका एक हुन्, कास्की लामाचौरका ३८ वर्षीय राजकुमार भण्डारी । लामाचौरदेखि अमेरिकाको राष्ट्रपति भवन ह्वाइटहाउसको रोज गार्डेनसम्म उनले गरेको लोभलाग्दो यात्राले नेपालका युवाहरू पनि कति सक्षम छन् भन्ने देखाएको छ ।

साउथ डाकोटा स्टेट युनिभर्सिटीबाट एनालाइटिकल केमेस्ट्री (रसायनशास्त्र) मा विद्यावारिधि गरेका छन् भण्डारीले । उनकै नेतृत्वको ‘साइनसिक्स’ ले अमेरिकाको ‘स्मल बिजनेस एड्मिनिस्ट्रेसन’ ले प्रदान गर्ने ‘एक्सपोर्टर अफ दि इयर–२०२३’ हालै प्राप्त गरेको छ । साइनसिक्स कम्पनीले प्राविधिमा आधारित औषधिहरूको परीक्षण गर्ने हाई पफर्मेन्स लिक्इड क्रोमाटोग्राफी (एचपीएलसी), अनुसन्धान प्रयोगशालाहरू, विश्वविद्यालयहरू, कीटनाशक विश्लेषणहरू तथा वातावरणीय प्रयोगशालालगायतमा प्रयोग हुने सामग्री उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ । कम्पनीमा हाल २६ जना कार्यरत छन् । कम्पनीको प्रशासनिक कार्यालय नथ क्यारोलिनामा छ भने फ्याट्री मिनिसोटामा । एक सयभन्दा बढी मुलुकमा व्यापार गर्ने साइनसिक्सले बढी निर्यात गरेका कारण अवार्ड पाउन सफल भएको हो । अमेरिकाको ‘स्मल बिजनेस एड्मिनिस्ट्रेसन’ ले ३ करोड ३० लाख साना कम्पनीबाट साइसिक्सलाई छनोट गरेको हो ।

साइनसिक्सका अध्यक्ष राजकुमार भण्डारी, उपाध्यक्ष रञ्जन कार्की र अध्यक्ष भण्डारीका ‘एडभाइजर टु दि प्रेसिन्डेन्ट एन्ड मेन्टर’ को जिम्मेवारी सम्हालेकी श्रद्धा पौडेललाई अन्तर्राष्ट्रिय मजदुर दिवस (मे १) मा अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले ह्वाइटहाउसको रोज गार्डेनमा बोलाएर सम्मान गरेका हुन् । ‘अमेरिका आउने, पढ्ने, जागिर खाने र कम्पनी चलाउने सपना त देखिएको थियो । तर अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिले ह्वाइटहाउसमै बोलाएर यस्तो सम्मान पाइएला भन्ने सोचेको थिइन्,’ भण्डारीले कान्तिपुरसँगको कुराकानीमा भने, ‘अवार्ड पाउँदा ज्यादै गर्व लागेको छ ।’

रोचक कुरा के छ भने, २००४ मा पोखराबाट गाडीमा काठमाडौं आएका थिए भण्डारी । स्नातक पढ्न अमेरिका जाँदा हो, उनले पहिलो पटक जहाज चढेको । २०१३ मा आमा–बाबुलाई अमेरिका बोलाएका भण्डारीले राष्ट्रपति भवनह्वाइटहाउस अगाडि गएर परिवारसँग फोटो खिचे । ‘त्यतिबेला कसैले मलाई तिमी कुनै दिन यो भवनमा सम्मानका लागि छिर्छौ भनेको भए, पत्याउने कुरै थिएन,’ उनले भने, ‘तर अहिले विश्वकै शक्तिशाली देशका राष्ट्रपति र उपराष्ट्रपतिले बोलाएर सम्मान गर्नुभयो । काम गर्‍यो भने सफलता मिल्छ भन्ने सन्देश हो यो । यसले धेरै युवालाई प्रोत्साहन मिल्छ भन्ने लाग्छ ।’

भण्डारीलाई सम्मान गर्ने क्रममा सबैभन्दा पहिला राष्ट्रपति बाइडेनले उनलाई बधाई दिए । त्यति नै बेला भण्डारीले आफू नेपालबाट आएको बताउन भ्याए बाइडेनलाई । बाइडेनले आफूलाई नेपालका विषयमा थाहा भएको बताएको सम्झन्छन् भण्डारी । ‘तपाईंहरूले अमेरिका आएर अमेरिकीलाई जागिर दिनुभएको छ । त्यसप्रति हामीलाई गर्व छ,’ बाइडेनले भण्डारी, कार्की र पौडेललाई भनेका थिए । उपराष्ट्रपति ह्यारिसले पौडेलसँग हाल मिलाउँदै भनिन्, ‘अमेरिकी सपना ।’ वासिङ्टन डीसीस्थित नेपाली दूतावासबाट भण्डारीले पछि थाहा पाए, खासमा यस्तो सम्मान पाउने उनी पहिलो नेपालीमूलका अमेरिकी हुन् । अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले पनि यी युवाको टोलीलाई दूतावासमा बोलाएर सम्मान र प्रोत्साहन दिए । ‘यसले हामीलाई थप खुसी बनायो,’भण्डारीले थपे ।

साइनसिक्स कम्पनी सन् १९८५ मा स्थापना भएको हो । भण्डारीले कम्पनीमा २०१५ को जुलाईबाट काम थालेका हुन् । त्यही बेलामा उनलाई उक्त कम्पनी किन्न अफर आएको थियो । तर उनले किनेनन्, काम मात्र गरिरहे । तर सन् २०२१ को सुरुवातमा फेरि कम्पनी किन्ने अफर आयो, त्यसपछि सोही कम्पनीमा काम गर्ने साथी पौडेलसँगको सल्लाहमा किने । भण्डारी र पौडेलले दुई छुट्टै विभाग हेर्थे । दुवै जना मिलेको खण्डमा कम्पनी किनेर चलाउन सकिन्छ भन्ने निचोड निकालेर खरिद गरेको बताउँछन् भण्डारी ।

२००४ मा अमेरिका गएका भण्डारीको अर्को वर्ष आइपुगेकी श्रद्धा पौडेलसँग भेट भयो । भेटघाट बाक्लिएसँगै पछि प्रेममा परे उनीहरू । र, २०११ मा विवाह गरे । ‘श्रद्धा मेरो जीवन र कम्पनीको लागि एउटा महत्त्वपूर्ण पात्र हुन् । उनी नभएको भए मैले यो सफलता हासिल गर्न सक्दैनथेँ,’ भण्डारीले भने ।

साइनसिक्स उपाध्यक्ष कार्की पनि पोखरा छिनेडाँडाका हुन् । उनले भण्डारी पढेकै गण्डकी बोर्डिङ स्कुलमै पढेका हुन् । स्कुलमा भण्डारी कार्कीका सिनियर थिए । नाताले मावली भण्डारी भण्डारीकै प्रोत्साहनमा केसी पनि अमेरिका पुगेका हुन् । मेकानिकल इन्जिनियरिङ गरेका उनले पछि एमबीए गरे । ‘राज दाइ मेरो अभिभावक हो । अध्ययन यात्रामा सहयोग गर्नुभएका उहाँकै आग्रहमा २०१८ को अक्टोबरबाट कम्पनीमा काम गर्न थालें,’ उपाध्यक्ष कार्कीले भने, ‘अहिले म मिनिसोटामा कम्पनी हेर्छु । दाइले साउथ क्यारोलिनामा प्रशासनिक कार्यालय हेर्नुहुन्छ ।’

तस्बिर सौजन्य : साइनसिक्स

प्रकाशित : जेष्ठ ४, २०८० ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?