कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नीरा हत्या प्रकरण : झापाबाट एक जना पक्राउ

काठमाडौँ — नीरा पाण्डेको हत्या आरोपमा शनिबार झापाबाट एक जना पक्राउ परेका छन् । सीआईबीको टोलीले मेचीनगर–१ बाट पाण्डेको हत्या आरोपमा विनोद विश्वकर्मालाई पक्राउ गरेको हो । पक्राउ परेका विकलाई हिरसासतमा राखेर थप अनुसन्धान भइरहेको सीआईबी स्रोतले जानकारी दिएको छ ।

नीरा हत्या प्रकरण : झापाबाट एक जना पक्राउ

कपनको सरस्वतीनगरस्थित आफ्नै पसल ‘नीरु किचेन’ भित्र बीभत्स हत्या गरिएको अवस्थामा उनी भेटिएकी थिइन् । हत्यामा संलग्नलाई सार्वजनिक गर्न ढिलाइ भएको भन्दै पीडित पक्ष, सरोकारवाला, अधिकारकर्मीले शनिबार दिउँसो माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गर्दै अनुसन्धान गरी चाँडो सत्यतथ्य पत्ता लगाउन माग राखिरहेका छन्  ।

यसअघि सरस्वतीनगर, बौद्ध, कपनको प्रहरी प्रभाग तथा चौकी चाबहिलमा समेत आन्दोलन गर्दै सरकारको खबरदारी गरिएको छ । दिनदहाडै हत्या हुन थालेपछि स्थानीय, व्यापारीले शान्ति सुरक्षाको माग गरेका छन् भने सांसदहरूले पनि चाँडो अनुसन्धान गरी सुरक्षाको प्रत्याभूति दिलाउन प्रतिनिधिसभामा सरकारको ध्यानाकर्षण गराएका छन् ।

नीरा गत वैशाख ७ मा दिउँसो ३ बजे ‘नीरु किचेन’ भित्रै मृत फेला परेकी थिइन् । उनको शरीरका विभिन्न भागमा चक्कु प्रहार गरी हत्या गरिएको थियो । नीराका आफन्त सचिन पाण्डेका अनुसार अर्घाखाँची माइती भएकी नीराको बागलुङका योगेन्द्रसँग विवाह भएको थियो । उनीहरू व्यापार, व्यवसाय गर्दै काठमाडौंमा बस्दै आएका थिए । विवाह गर्नुअघि नीरा सुकेधारास्थित आफ्नै दाइ यमलालको पसलमा डेढ वर्षजति सहयोगी भएर काम गरेकी थिइन् । आफन्त सचिन पाण्डेले बताए, ‘उहाँको दाइसँग बुझ्दा बुढाबुढीबीचको सम्बन्ध एकदमै राम्रो थियो भन्नुभएको छ ।’ ‘नीरु किचेन’ भन्दा केही पर अर्को पसल उनका श्रीमान्ले सम्हाल्थे ।

घटनाको दिन एक ग्राहक ‘नीरु किचेन’ पुग्दा नीरुलाई नदेखेपछि सोधखोज गर्दा पसलभित्रै चोटैचोट, रक्ताम्य स्थितिमा भेटिएकी थिइन् । प्रहरी प्रभाग, कपनको टोली घटनास्थल पुगेपछि नीरालाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए । नीराको शव हाल त्रिवि अस्पतालमै राखिएको छ । हत्यारा सार्वजनिक नभएसम्म दाहसंस्कार नगर्ने भन्दै नीराका आफन्त आन्दोलनरत छन् ।

प्रहरी प्रधान कार्यालय नक्सालका प्रवक्ता कुवेर कडायतले प्रारम्भिक अनुसन्धान भइरहेको हुँदा शुक्रबार गठित उच्चस्तरको छानबिन समितिले अनुसन्धान नसकी तत्कालै कसैलाई सार्वजनिक गर्ने अवस्था नरहेको बताएका थिए । हत्या प्रकरणको अनुसन्धान गर्न शुक्रबार प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एआईजी किरण वज्राचार्यको नेतृत्वमा उच्चस्तरको छानबिन समिति गठन गरेको उनले बताएका थिए ।

प्रकाशित : वैशाख १७, २०८० ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?