कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
उपनिर्वाचन

एमालेको मतमा पनि ठूलो क्षति

गठबन्धनलाई जनताले अनुमोदन नगरेको उपनिर्वाचनको परिणामले देखाउँछ । तर गठबन्धनको सबैभन्दा बढी आलोचना गर्ने एमालेलाई यसको फाइदा भएन । बरु गठबन्धनलाई नै सहयोग गरिरहेको रास्वपाका लागि भने यो चुनाव बढी फलदायी देखियो ।
मणि दाहाल

काठमाडौँ — प्रतिनिधिसभाका उपनिर्वाचनमा नेकपा एमालेले आफ्नो परम्परागत मत गुमाएको छ । गत वर्ष मंसिरमा ४ को चुनावमा तनहुँ-१, चितवन-२  मा एमालेले प्राप्त गरेको र उपनिर्वाचनको प्राप्त गरेको मतको अन्तर धेरै देखिएको छ । एमालेको पक्षमा ५ महिनाअघि ती क्षेत्रमा देखिएको जनमत अहिले खस्केको छ । 

एमालेको मतमा पनि ठूलो क्षति

तत्कालीन सत्ता गठबन्धनविरुद्ध लडेर ७८ स्थान जितेको एमाले समानुपातिकतर्फ पहिलो दल बनेको थियो । यो उपनिर्वाचिनमा एमालेले कुनै क्षेत्र नगुमाए पनि मत गुमाउनुको अर्थ भने बृहत् छ ।

आमनिर्वाचनपछि एमालेले पार्टी सुदृढीकरणका लागि देशभर 'मिसन ग्रासरुट' सञ्चालन गरेको थियो । संभावित मध्यावधि निर्वाचनलाई लक्षित गर्दै एमालेले अभियान सुरु गरेको थियो । तर त्यो अभियान सकिए लगत्तै भएको उपनिर्वाचनमा एमालेको मत खस्केको देखिएको छ । लामो समयदेखि सुस्ताइरहेको पार्टीलाई चलायमान गराउनका लागि सो अभियान सञ्चालन गरेको र त्यसले पार्टीलाई झनै मजबुत बनाएको दाबी एमालेले गर्दै आएका थियो । तर चुनावी मतले भने त्यस्तो संकेत गरेको छैन । बारा २, चितवन २ र तनहुँ १ मा एमालेका उम्मेदवारहरु ठूलो मतान्तरका साथ तेस्रो स्थानमा खुम्चेका छन् ।

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले कांग्रेस तथा एमाले दुवैले परम्परागत तरिकाले जनमतलाई जोगाउन नसकेको अवस्था निर्माण भएको संकेत गरेका छन् ।

‘स्थानीय निर्वाचनमै केही संकेत देखिएको थियो। आमनिर्वाचन हुँदै उपनिर्वाचनमा आइपुग्दा झनै बढेको छ । हाम्रो अपिलले जनतालाई छुन सकेको देखिएन । यस्तो अवस्था कसरी सिर्जना भयो त्यसलाई कसरी चिर्ने भन्ने विषयमा गम्भीर रुपमा लिनुपर्छ’ उपाध्यक्ष पाण्डेले इकान्तिपुरसँग भने, ‘विगतमा पनि सुशासनसहितका विषयलाई प्रमुख एजेण्डा बनाएर नयाँ दलहरु आउँदा त्यस्ता दलहरुले अपील गर्न सकेका थिएनन् । अहिले नयाँ दलले केही गर्छ कि भन्ने अपेक्षा गरेको देखियो ।’

पाण्डेले एमालेसहित दलहरुले लिने एजेण्डा र संगठन तरिकामा परिवर्तन गर्न आवश्यक रहेको देखिएको बताए । ‘अहिले आएको मत लाक्षणिक मात्रै होइन,’ पाण्डेले भने । ‘हाम्रो यत्रो संगठन हुँदाहुँदै किन मत आएन र रास्वपाले संगठन नै नबनाउने भन्दै छ आएको छ जनताले पत्याए । हाम्रा संगठनहरु कतै आम मानिसको विषयले प्राथमिकता पाउने भन्दा व्यक्तिगत स्वार्थतिर बढी केन्द्रित भए कि ? ’ उपाध्यक्ष पाण्डेले भने । पाण्डेले इतिहासको कुराले मात्रै मतदातालाई अपिल गर्न नसक्ने बताए ।

चितवन-२ र तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेस तथा बारा-२ मा जनता समाजवादी पार्टी र जनमत पार्टीबीच मुख्य प्रतिस्पर्धा विषय बने पनि दोस्रो ठूलो दल नेकपा एमालेले पनि मतमा क्षति व्यहोरेको छ । यसले आगामी दिनमा देशको पहिलो कम्युनिष्ट पार्टीको मतमा पनि ठूलै ‘खतराको घण्टी’ बजेको संकेत भने देखाएको छ ।

हालसम्म परिणाम सार्वजनिक भएका तनहुँ-१ र चितवन-२ मा एमालेका उम्मेदवारले मंसिरमा भएको आमनिर्वाचनमा प्राप्त गरेको मत समेत जोगाउन सकेको छैन । चितवन र तनहुँ दुवैमा एमालेका उम्मेदवारहरु क्रमश: रामप्रसाद न्यौपाने र सर्वेन्द्र खनाल तेस्रो स्थानमा रहे । मंसिरमा भएको आमनिर्वाचनमा बारा-२ मा एमालेले जनता समाजवादी पार्टी (जसपा)सँग तालमेल गरेको थियो । आइतबार भएको उपनिर्वाचनमा बारा-२ मा पनि एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलल ठूलो मतान्तरका साथ तेस्रो स्थानमा देखिएका छन् ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीले के कारण जनतालाई अपिल गर्न सकेन त्यस विषयमा गम्भीरतापूर्वक छलफल हुने बताए ।

‘हामी प्रतिस्पर्धामा आउने अपेक्षा गरेका थियौं तर परिणामले त्यस्तो देखाएन । रास्वपातर्फ भोट एकोहोरिएको देखियो,’ ज्ञवालीले भने, ‘जिल्लाहरुबाट हामीले प्रतिवेदन मागेका छौं के कारणले अहिले जस्तो परिणाम आयो भनेर । त्यसमा गम्भीरतापूर्वक समीक्षा गर्नेछौं । हाम्रो अपिलले जनतालाई किन छुन सकेन भनेर ।’

यसैबीच नेकपा एमालेले वैशाखको अन्तिम साता झापामा केन्द्रीय कमिटीको बैठक बोलाएको छ । मंसिरमा भएको आमनिर्वाचनपछि पहिलो पटक एमालेले केन्द्रीय कमिटीको बैठक वैशाख २८ र २९ गते झापामा गर्न लागेको हो ।

चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले करिब ७० प्रतिशत मत ल्याउँदा एमालेका उम्मेदवार न्यौपाने १० हजार ९ सय ३६ मतका साथ तेस्रो स्थानमा रहे । यो कुल सदर मतको १४ प्रतिशत मात्रै हो । न्यौपाने एमाले चितवन जिल्ला कमिटीका अध्यक्ष हुन् । मंसिरमा भएको आमनिर्वाचनमा एमालेले चितवन-३ मा कांग्रेसका बागी दिनेश कोइरालालाई सघाउन पार्टी केन्द्रले न्यौपानेको उम्मेदवारी फिर्ता लिएको थियो ।

एमालेका प्रभाव क्षेत्र मानिएको इच्छाकामना गाउँपालिकाबाट गणना सुरु गर्दा न्यौपानेले सुरुमा अग्रता कायम गरेका थिए । त्यो अग्रता प्रारम्भिक चरणमा मात्रै थियो । एमालेले आफ्नो त्यो किल्ला पनि जोगाउन सकेन ।

मंसिरमा भएको निर्वाचनमा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ५२ मत ल्याएका थिए । त्यस समयमा इच्छाकामनामा एमालेको अग्रता रहेको थियो । पोखरेलभन्दा न्यौपानेको मत करिब २६ प्रतिशतले कमी भएको छ । २०७४ सालको आमनिर्वाचनमा पोखरेल ४४ हजार ६ सय ४० मत ल्याउँदै विजयी भएका थिए ।

चितवनको भन्दा कमजोर प्रदर्शन तनहुँ-१ मा पनि देखियो । ५ महिना अघि भएको आमनिर्वाचनमा काठमाडौं-६ बाट पराजित भएका सर्वेन्द्र खनाललाई तनहुँमा पुन: उम्मेदवार बनाएको थियो । पूर्व प्रहरी महानिरीक्षक खनालले ८ हजार ४ सय ८८ मत प्राप्त गरेका छन् । अघिल्लो निर्वाचनमा एमालेका उम्मेदवार एकबहादुर रानाले १९ हजार ९ सय ८१ मत पाएका थिए । खनालले राना प्राप्त गरेको मतभन्दा करिव ६० प्रतिशत मत कम ल्याएका छन् । निर्वाचन क्षेत्रमा पर्ने ४२ वटा वडामध्ये एमालेका उम्मेदवारले एक वटामा मात्रै अग्रता काम गर्न सफल भएका थिए । आमनिर्वाचमा एमालेले समानुपातिकतर्फ १६ हजार ६ सय ८३ मत प्राप्त गरेको थियो । जबकी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले भने आमनिर्वाचन भन्दा ५ हजार ५ सय ३९ मत ल्याएका छन् । जुन अघिल्लो चुनावभन्दा २१ प्रतिशतले कम हो । सो क्षेत्रमा लामो समयदेखि कांग्रेसको वर्चश्व रहँदै आएको थियो । २०७४ सालमा एमाले र माओवादी केन्द्रको चुनावी गठबन्धन हुँदा एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठ विजयी भएका थिए ।

मतगणना जारी रहेको बारा-२ मा पनि एमाले ठूलो मतान्तरका साथ तेस्रो स्थानमा रहेको छ । सत्तारुढ गठबन्धनको उम्मेदवार रहेका जसपा अध्यक्ष उपेन्द्र यादव २८ हजार ४ सय १५ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीमा शिवचन्द्रप्रसाद कुशवाहाले २३ हजार ३ सय ३४ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार पुरुषोत्तम पौडेलको पौडेलको मतमा निकै नै अन्तर रहेको छ । उनले १० हजार २ सय १६ मत प्राप्त गरेका छन् ।

‘रास्वपालाई जितका लागि बधाई छ । नेपाली समाजमा असन्तुष्टिलाई क्यास गर्न सजिलो छ तर त्यसलाई सम्बोधन गर्न गाह्रो छ,’ ज्ञवालीले भने ‘उहाँहरुले एकदमै बढी आशा देखाउनु भएको छ । भोलि पूरा नहुँदा निराशा अझै बढ्ने हो कि भन्ने चिन्ता छ ।’

प्रकाशित : वैशाख १२, २०८० २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?