कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

विमानस्थल बनाउने होड, बजेटमात्रै उड्यो

गोरखाको पालुङटार विमानस्थलमा गाईभैंसी चराउने र खेलकुद प्रतियोगिता गरिन्छ
रुकुमको चौरजहारी विमानस्थलमा काँडेतार हटाएर स्थानीयले बिस्कुन सुकाउँछन्
कान्तिपुर टिम

काठमाडौँ — चुनावमा भोट बटुल्ने उद्देश्यले सम्भाव्यता अध्ययनबिना बनाइएका विमानस्थलमा राज्यको लगानी त भएको छ, तर उडान नहुँदा बजेट मात्र खेर गएको छ । काठमाडौंसहित देशभर ५२ विमानस्थल छन्, जसमध्ये १९ वटा बन्द छन् । चालु अवस्थाका ३३ मध्ये २० विमानस्थल दुर्गम तथा हिमाली भेगमा छन् तर त्यहाँ पनि कहिले जहाज आउने हो, यकिन हुँदैन । 

विमानस्थल बनाउने होड, बजेटमात्रै उड्यो

काठमाडौं, विराटनगर र जनकपुर उडान हुने ओखलढुंगाको रुम्जाटार विमानस्थल तीन वर्षयता बन्द छ । धावनमार्ग कालोपत्र भएपछि सातामा एउटा उडान हुँदै आए पनि कोभिड महामारी सुरु भएयता बन्द भएको हो । २०२६ मा पिलाटस पोर्टरले अवतरण सुरु गरेको यहाँ २०३१ देखि नियमित उडान भएको थियो ।

ओखलढुंगाको सुनकोशीमा पुल नबनुन्जेल विमान उडिरहेकै थियो । सात वर्षअघि सुनकोशीको पक्की पुल बनेपछि हवाई यात्रु घटे । मध्यपहाडी राजमार्गको ट्र्याक खुलेपछि राजधानी जान बाटो छोट्टियो । विमानस्थल बन्द भएपछि हाल नागरिक उड्डयन कार्यालय सहयोगी राजकुमार राईले कुरिरहेका छन् । पर्यटकीय मौसमका बेला सोलुखुम्बुका विमानस्थलमा मौसम प्रतिकूल हुँदा यहाँ हेलिकोप्टर आकस्मिक अवतरण हुने गरेका छन् । त्यस्तै, ओखलढुंगाको खिजिदेम्बामा १३ वर्ष लगाएर कच्ची धावनमार्ग निर्माण सकिएको चण्डेश्वरी विमानस्थलमा तीन वर्षअघि परीक्षण भयो तर उडानले निरन्तरता पाएन ।

कालोपत्र गरिएका खोटाङका तीन विमानस्थलमध्ये रावाबेसी–३ स्थित लामीडाँडा विमानस्थल अढाई वर्षदेखि बन्द छ । परीक्षणपछि विमानस्थल बन्द भएको रावाबेसीका अध्यक्ष फटिककुमार श्रेष्ठले बताए । नियमित उडान भर्न पटक–पटक अनुरोध गरे पनि बेवास्ता गरिएको उनको भनाइ छ ।

दिक्तेल–रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित मनमाया राई खानीडाँडा विमानस्थलमा साताको एक/दुई उडान मात्र हुने गरेको छ । खोटेहाङ गाउँपालिकाको थामखर्क विमानस्थलमा शनिबार र बुधबार साताका दुई उडान हुने गरेको पालिका अध्यक्ष उदिमबहादुर राईले बताए ।

गण्डकी प्रदेशमा भने एक अन्तर्राष्ट्रियसहित सात विमानस्थल छन् । गत पुसदेखि सञ्चालनमा आए पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुन सकेको छैन । यसअघि अति व्यस्त पोखराकै पुरानो विमानस्थल अहिले मुस्ताङको जोमसोमसम्म साना जहाज, हेलिकोप्टर र अल्ट्रालाइट (फुच्चे जहाज) उडानका लागि मात्र प्रयोगमा छ ।

यसबाहेक मुस्ताङको जोमसोम विमानस्थल पनि प्रयोगमा छ । कालोपत्र भएर पनि बागलुङको बलेवा र मनाङको हुम्डे विमानस्थल प्रयोगविहीन छन् । बागलुङकै ढोरपाटन र गोरखाको पालुङटार विमानस्थल बेकामे छन् । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड–१ चराङगाउँको तल्लो फाँटमा विमानस्थल बनाउने योजना कागजमै सीमित छ ।

बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित बलेवा विमानस्थल कालोपत्र गरेको डेढ वर्ष भयो । काष्ठमण्डप उमा एन्ड संयुक्त निर्माण कम्पनीले ८ करोड २४ लाख ३४ हजार रुपैयाँको लागतमा अघिल्लो वर्ष जेठमा विमानस्थल कालोपत्र गरेको थियो । २०१६ देखि २०१८ सम्म स्थानीयले खनेर विमानस्थल बनाएका थिए । २०५० सम्म नियमित जहाज चलेको विमानस्थल पोखरा–बागलुङ सडक खुलेपछि बन्द भएको थियो । बलेवाबाट काठमाडौं, पोखरा र भैरहवाका लागि नियमित उडान हुने गरेकामा सडकले ठप्प भएको स्थानीय कृष्णबहादुर खड्काले बताए ।

२०७२ मा तत्कालीन पर्यटनमन्त्री लोकेन्द्र बिष्ट र शिक्षामन्त्री दीनानाथ शर्मा नियमित जहाज चलाउने प्रतिबद्धता जनाउन सरकारी जहाज चढेर बलेवा उत्रेका थिए । २०७५ मा बागलुङ नगरपालिकाले खाली सिटको भार व्यहोर्ने गरी दुई महिनासम्म साताको दुई दिन जहाज चलाएको थियो । एयरपोर्ट पुग्ने सडक कच्ची भएकाले यात्रु नजाने र गएकाले पनि सास्ती खेपेपछि नगरपालिकालाई घाटा भयो, त्यसपछि उडान पनि बन्द भयो ।

मनाङको हुम्डे विमानस्थलमा प्राधिकरणले २०६९/७० मा ९ करोड खर्चेर ६ सय मिटरबाट धावनमार्ग नौ सय मिटर बनाई कालोपत्र गरेको थियो । त्यही वर्षको मंसिरमा तत्कालीन मन्त्री तथा प्राधिकरणका अधिकारीहरू नेपाल वायुसेवा निगमको ट्वीनअटर चढेर हुम्डे ओर्लिए । उनीहरू फर्किएपछि भने मनाङमा जहाज पुगेको छैन । ‘रनवे कालोपत्र गरेपछि झन् जहाज आएन,’ होटल तिलिचोका सञ्चालक छिरिङलोप्साङ गुरुङले भने । मनाङको चामेसम्म सडक निर्माण भएर गाडी चल्न थालेपछि जहाज नउडेको पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङको भनाइ छ ।

संघीय संरचनापछि गण्डकी प्रदेश सरकारले मनाङमा जहाज उडाउने प्रयास गरेको थियो । समिट एयरको जहाज चढेर २०७६ भदौ २७ मा हुम्डे ओर्लिएका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनाङमा नियमित उडानको पहल थाल्ने आश्वासन दिएका थिए । अझ, तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले त्यही वर्षको असोज १० देखि नियमित उडान हुने भाषण गरे । ‘जहाज आउँछ होला भनेर बसियो, आउँदै आएन,’ हुम्डेका कान्छा गुरुङ भन्छन् । धावनमार्ग विस्तार र कालोपत्र हुनुअघि साताको दुई पटक उडान हुन्थ्यो । मनाङमा नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजले मात्रै उडान भर्दै आएको थियो । उडान बन्द हुँदा विमानस्थलका भौतिक संरचना जीर्ण भएका छन्, कर्मचारी पनि छैनन् ।


हुम्डे विमानस्थल

गोरखाको पालुङटार–५ मा १ सय ८५ रोपनी ओगटेको विमानस्थल प्रयोगमा आउन नसकेपछि गौचरन बनेको छ । २०३२ सम्म उडान भइरहेको एक किलोमिटर लम्बाइ र दुई सय मिटर चौडाइको यो विमानस्थलमा अहिले गाईभैंसी चराउने र बेलाबखत खेलकुद प्रतियोगिता हुने गर्छन् । ‘अपग्रेडका लागि पहल भइरहेको तर बजेट सुनिश्चित भएको छैन,’ पालुङटार नगरप्रमुख विवश चिन्तनले भने । उनका अनुसार प्राधिकरणले ग्राभेल गर्ने र सम्याउने काममा अघिल्लो वर्ष झन्डै डेढ करोड खर्च गरेको थियो ।

दाङको तुलसीपुरस्थित टारिगाउँमा ३६ बिघा १० कट्ठा १० धुरमा फैलिएको विमानस्थलमा अहिले सातामा ६ दिन उडान हुन्छ । पटक–पटक चल्ने र बन्द हुने गर्दै आएको यो विमानस्थल हरेक चुनावमा सबै राजनीतिक दलको चुनावी एजेन्डा बन्ने गरेको छ । भएको विमानस्थल नियमित नभइरहेका बेला घोराही–१० नारायणपुरमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भन्दै सर्वेक्षणसमेत गरियो तर प्रगति शून्य छ । २०११ फागुन ११ मा परीक्षण उडान गरिएपछि टारिगाउँमा लगातार २०५२ सम्म नेपाल एयरलाइन्सको जहाज चलेको थियो । त्यतिबेला कहिलेकाहीं दिनमा तीन–चार उडान पनि हुन्थे । २०५२ मा एक्कासि इन्धन र यात्रु अभाव भएको भन्दै उडान बन्द गरियो । त्यसपछि नियमित जहाज उड्न सकेन । त्यतिबेला नेपाल एयरलाइन्सले दाङबाट काठमाडौं, नेपालगन्ज, रुकुमको चौरजहारी र सल्लेमा उडान गरिरहेको थियो । २०६० मा फेरि नेपाल वायुसेवा, सीता र यती एयरलाइन्सले जहाज उडाउन थाले । हरेकले सातामा एक/एक उडान गरे । २०६६ सम्म लगातार उडान भयो । २०६७ देखि २०७० सम्म विमानस्थल कालोपत्र गर्न थालेपछि उडान बन्द भयो ।

कालोपत्र सकिएपछि तुलसीपुर उद्योग वाणिज्य संघको अगुवाइमा गोमा एयरलाइन्सले २०७२ मा नौ महिना उडान गर्‍यो । त्यतिबेला टिकटको जिम्मा संघले लिएर जहाज चलाएको थियो । २०७४ पछि समिट एयरलाइन्सले केही समय उडान गर्‍यो । त्यसपछि फेरि बन्द भयो । विमानस्थल विस्तार गरी ठूला जहाज चल्ने र नियमित बनाउन गुरुयोजना बनाएर काम गरिरहेको तुलसीपुर उपमहानगर उपप्रमुख स्यानी चौधरीले बताइन् । ‘यसका लागि योजना बनाएर प्राविधिक अध्ययनसहित काम गरिरहेका छौं,’ उनले भनिन् । शनिबार दुईवटा र अन्य दिन एक/एक उडान भइरहेको प्राधिकरण तुलसीपुरका प्रमुख गणेश अर्यालले बताए ।

बेलाबेला आशा जगाउने तर चल्न नसक्ने नियति गुल्मीको रेसुंगा विमानस्थलको छ । बाक्लो बस्ती रहेको रेसुंगा–१० सिमीचौरको थालेमाले डाँडोलाई २०६३ देखि विमानस्थल निर्माणमा प्रयोग गरियो । झन्डै ७० घर विस्थापित भए । एमाले नेता प्रदीप ज्ञवाली पर्यटनमन्त्री भएकै बेला विमानस्थलको शिलान्यास गरिएको थियो । त्यसपछिका वर्षमा बजेट विनियोजन गरेर निर्माण सुरु भयो । २०७० को चुनावमा ज्ञवाली पराजित भएपछि विमानस्थल निर्माण पनि रोकियो । उनी २०७४ मा निर्वाचित भएपछि फेरि काम अघि बढ्यो । २०७९ को चुनावअघि नै सम्पन्न भएको विमानस्थलमा जहाज उडाउने उनको प्रयास थियो तर सफल भएनन् । २०७९ मा कांग्रेसबाट चन्द्र भण्डारी निर्वाचित भए । त्यसपछि विमानस्थल सञ्चालन प्रक्रिया अघि बढ्यो । पुसमा परीक्षण उडान सफल पनि भयो तर अहिलेसम्म पनि उडान हुन सकेको छैन । ‘अब त जहाज उड्ला र चढौंला भन्ने आशै हरायो,’ रेसुंगा–२ का भक्तबहादुर कुँवरले भने, ‘बनाउने बेला राजनीतिक खिचातानीले ढिला गरे पनि बनेपछि त त्यस्तो नहोला भनेको अहिले पनि त्यस्तै भइरहेको छ ।’

१ सय ५६ रोपनीमा फैलिएको रेसुंगा विमानस्थल ५ सय २० मिटर लम्बाइ र २० मिटर चौडाइको रनवे छ । विमानस्थलको धावनमार्ग निर्माण एवं कालोपत्र, टावर निर्माण, जग्गा अधिग्रहणलगायतमा ३३ करोड खर्च भएको छ । पछिल्लो परीक्षणका क्रममा विमानस्थलमा तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले ११ जना यात्रु बराबरको हवाई भाडाको सुनिश्चितता रेसुंगा नगरपालिकाले गर्ने सहमति भएकाले २ सातापछि नियमित उडान हुने घोषणा गरेका थिए । तर, अहिले उडान भएको छैन ।

अर्घाखाँचीको सन्धिखर्क–१० अर्घाभगवतीमा पनि विमानस्थल निर्माणाधीन छ । चार वर्षदेखि काम सुरु भएको विमानस्थलमा झन्डै १० करोड बजेट खर्च भएको छ । निर्माण व्यवसायी नारायणप्रसाद बन्जाडेका अनुसार अहिले टर्मिनल भवनका लागि डाँडोको माटो काट्ने, सम्याउने र तारजाली लगाउने काम भइरहेको छ । अब टर्मिनल भवन, रनवेका लागि पिचको काम सुरु गरिने उनले बताए । अर्घाखाँचीबाट लगातार चार पटक चुनाव जित्दै आएका प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले विमानस्थल निर्माणका लागि पहल गरेका थिए । उनले हरेक चुनावमा विमानस्थल निर्माण गरेर जहाज उडान गर्ने बताउँदै आएका छन् ।


हिमाली जिल्ला मनाङस्थित ३ हजार ३ सय ३० मिटर उचाइको हुम्डे विमानस्थल । तस्बिर : आश गुरुङ/कान्तिपुर

निर्माण सुरु भएको ३७ वर्षपछि कालीकोटको कोटवाडा विमानस्थलमा कालोपत्र गरियो । ७ वर्षअघि परीक्षण उडान भएको विमानस्थलमा अहिलेसम्म नियमित उडान भएको छैन । स्थानीय ७५ वर्षीय नरबहादुर विष्ट ३३ वर्षको उमेरदेखि कोटवाडाको पाखो खनेर विमानस्थल निर्माणमा संलग्न भएका थिए । ‘अहिलेजस्तो खन्ने डोजर, ढुंगा, माटो बोक्ने र टिपर भए त उहिल्यै काम सकिन्थ्यो,’ उनले भने, ‘कोदालो, साबेल, गैंतीले खनेर भैंसीको छालामा माटो बोकेर काम गर्‍यौं ।’

२०७३ माघमा कोटबाडा विमानस्थलमा तारा एयरले परीक्षण उडान गरेको थियो । अहिले विमानस्थल कालोपत्रसहित टर्मिनल टावर, खानेपानी, बिजुली, सुरक्षा, धावनमार्गको सुधारलगायतका काम सकिएको प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताए । विमानस्थल कालोपत्रको ठेक्का पाएको गौरी पार्वती श्याम एन्ड शंकर जेभीले सम्झौताअनुसारको काम सकेर हस्तान्तरणको तयारी गरेको छ । कम्पनीले विमानस्थल कालोपत्रका लागि १३ करोड ८६ लाख रुपैयाँमा सम्झौता गरेको थियो । नरहरिनाथ–१ का वडाध्यक्ष पुर्थी विष्टका अनुसार २०४२ सालमा तत्कालीन जिल्ला पञ्चायत सभापति दीपबहादुर शाहीको पालामा विमानस्थल खन्न ७५ हजार रुपैयाँ आएको थियो । सशस्त्र द्वन्द्वका बेला ०५८ फागुनमा अछाम मंगलसेन आक्रमणका दोषी खोज्दै आएको सेनाले धादिङ जोगीमारा, काभ्रे, सिन्धुली र रामेछापका २८ र ७ स्थानीय गरी ३५ जनाको हत्या गरेपछि अवरुद्ध भएको विमानस्थल निर्माणको काम शान्ति स्थापनापछि सुरु भएको थियो ।

आठ वर्षअघि कालोपत्र गरिएको रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा त्यसयता जहाज चलेको छैन । कच्ची धावनमार्ग हुँदासम्म उडान भइरहने विमानस्थल कालोपत्रपछि ठप्प भएको हो । अहिले विमानस्थललाई डोल्पा, जुम्ला र जाजरकोटका पर्यटन विकासमा टेवा पुर्‍याउने गरी ७२ सिटे जहाज ओर्लने क्षमता भएको हवाई मैदानमा विस्तार गर्न लागिएको कर्णाली प्रदेशका पूर्वअर्थमन्त्रीसमेत रहेका स्थानीय गोपाल शर्माले बताए । अर्थ मन्त्रालयले त्यसका लागि बजेटसमेत विनियोजन गरिसकेको छ । उनका अनुसार विमानस्थलको डीपीआर र मुआब्जा वितरणका लागि ९ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

चौरजहारी विमानस्थलको २०७० फागुनदेखि २०७२ भदौसम्म ५ करोड ५९ लाख रुपैयाँको लागतमा धावनमार्ग कालोपत्र गरिए पनि त्यसयता एउटै जहाज आएको छैन । सुरुमा नेपाल वायु सेवा निगमले जहाज नभएको भन्दै उडान बन्द गराएको थियो भने हाल यात्रु नभएको कारण देखाउँदै जहाज आउन छाडेका छन् । चौरजहारीस्थित कार्यालय हटाएकै ६ वर्ष भएको छ । ‘कार्यालय हुँदा कहिल्यै जहाज आइहाल्छ कि भन्ने आस हुन्थ्यो,’ स्थानीय झुपबहादुर बुढाले भने, ‘निगमले कार्यालय नै हटाएपछि त्यो आस पनि मरेको छ ।’ उडान बन्द भएपछि स्थानीयले काँडेतार हटाएर बिस्कुन सुकाउने र पशुचौपाया चराउने गर्न थालेका छन् ।

धमाधम बने, उडान अनिश्चित

सुदूरपश्चिमका ९ जिल्लामध्ये डडेलधुराबाहेक सबैमा विमानस्थल छ । बैतडीको पाटन, डोटी, बाजुराको कोल्ट, अछामको साँफेबगर र बझाङको विमानस्थल कालोपत्र गरिएको छ । तर, कैलालीको गेटा विमानस्थलबाहेक अन्यत्र हवाई सेवा नियमित छैन ।

२६ वर्षपछि पुनः सञ्चालनमा आएको बैतडीको पाटन विमानस्थल डेढ वर्षमै बन्द भयो । पाटन विमानस्थलसँगै एकै दिन उद्घाटन भएको बझाङको देवल विमानस्थल भने आंशिक रूपमा सञ्चालनमा छ । २०३५ मा निर्माण भएको उक्त विमानस्थल २०७७ असोजमा १२ वर्षपछि पुनः सञ्चालनमा आएको थियो । अहिले समिट एयरले सातामा दुई दिन उडान गरिरहे पनि हिमाल आरोहणको समय र वर्षात्को समयमा जहाज चल्दैन । २०७८ कात्तिकको बाढीले सडक सम्पर्क विच्छेद भएपछि वायु सेवा निगमले थालेको नियमित उडान गत असोजबाट बन्द भएको छ ।

अछामका दुईमध्ये साँफेबगर विमानस्थलमा अहिले समिट एयरले हरेक सोमबार धनगढी र मंगलबार नेपालगन्ज उडान भर्दै आएको छ । अर्को कमलबजार विमानस्थल भने गौचरन बनेको छ । २०२४ मा निर्माण सुरु भएर २०३२ मा सञ्चालनमा आएको साँफेबगर विमानस्थलमा २०४४ सालदेखि २०५८ सम्म नियमित उडान हुन्थ्यो । यस्तै, ४ सय ९० मिटर धावनमार्ग कालोपत्र गरिएको डोटीको दिपायल विमानस्थलमा केही समय समिट एयरले धनगढी उडान सञ्चालन गरे पनि हाल बन्द छ । दार्चुलाको गोकुलेश्वरमा रहेको विमानस्थल कालोपत्र भइरहेको छ । बाजुराको कोल्टी विमानस्थलमा भने नेपालगन्जबाट निजी क्षेत्रका वायु सेवाको उडान नियमित छ । लामो समय बन्द रहेको कञ्चनपुरको मझगाउँ विमानस्थल स्थानीय, प्रदेश र संघीय सरकारको त्रिपक्षीय साझेदारीमा निर्माणको काम भइरहेको छ । अहिले धावनमार्गको सबबेस बनाइँदै छ । २०३४ देखि २०५७ सम्म सञ्चालनमा रहेको उक्त विमानस्थल द्वन्द्वका बेला सुरक्षा कारण देखाउँदै बन्द गरिएको थियो । यस क्षेत्रका उद्योगी व्यवसायीदेखि सर्वसाधारणले विमानस्थल सञ्चालनका लागि बेलाबेला दबाबमूलक कार्यक्रम गर्दै आएका थिए । अहिले रत्नवाटिका क्षेत्रको जमिनको भोगाधिकार प्राप्त गर्ने प्रक्रिया अघि बढेको विमानस्थलका आयोजना प्रमुख मीनराज ओझाले बताए । भोगाधिकार प्राप्त नहुँदासम्म काम प्रभावित नगर्ने सहमति भएको छ ।

३२ वर्ष पुरानो टर्मिनल

बाँकेको नेपालगन्ज विमानस्थलमा दिल्ली उडान गर्न योग्य बनाउने गरी काम भइरहेको छ । अहिले विमानस्थलमा आधुनिक मापदण्डअनुसारको कस्टम चेकिङ, क्वारेन्टाइन, इमिग्रेसनसहितको आन्तरिक र अन्तर्राष्ट्रिय दुवै किसिमका हवाई उडानका लागि आवश्यक टर्मिनल भवन बनिरहेका छन् ।

पुसको पहिलो सातादेखि पुरानो टर्मिनल भवनदेखि पश्चिम हवाई जहाज राख्ने ह्यांगर नजिकै भूमिगतसहित तीनतले आधुनिक भवनको निर्माण भइरहेको छ । ‘तीन वर्षमा निर्माण कार्य सक्ने लक्ष्य छ,’ प्राधिकरण नेपालगन्जका प्रमुख सुरेश खनालले भने, ‘अहिलेको भवन निकै सानो र पुरानो भएकाले सुविधा सम्पन्न बनाउन थालिएको हो ।’

सरकारले विमानस्थलको भौतिक पूर्वाधार निर्माण तथा स्तरोन्नति गर्न दुई वर्षअघि पनि ३ अर्ब रकम विनियोजन गरेको थियो । तर, तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले २०७८ फागुनमा यहाँको बजेट खोसेर सुदूरपश्चिममा आफ्नो क्षेत्रका विमानस्थललाई वितरण गरेपछि निर्माण नै रोकिएको थियो । ३२ वर्षअघि निर्माण गरिएको टर्मिनल भवन निकै सानो छ । त्यति बेला नेपाल वायु सेवा निगमका ५ वटा ट्वीनअटर जहाजले मात्र उडान भर्थे । अहिले काठमाडौं, पोखरासहित कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी जिल्लामा गरी दैनिक ५० देखि ६० वटा उडान हुँदै आएका छन् । यात्रु र जहाजको संख्या बढेकाले टर्मिनल भवन अति नै साँघुरो भएको हो । अहिले गुरुयोजनाअनुसार एयरबस ३२० ल्यान्ड गराउने, यहाँबाट दिल्ली उडान गर्न सक्ने तुल्याउने प्राधिकरणको योजना छ । विमानस्थल सुधारअन्तर्गत नयाँ कन्ट्रोल टावर र कार्गो टर्मिनल भवन निर्माण गर्ने लक्ष्य छ । अहिलेको १७ सय मिटरको धावनमार्ग विस्तार गरेर २५ सय पुर्‍याउने गरी काम भइरहेको छ ।

सुरज कुँवर (काठमाडौं), कुम्भराज राई (ओखलढुंगा), डम्बरसिं राई (खोटाङ), दुर्गालाल केसी (दाङ), गगनशिला खड्का (गुल्मी), वीरेन्द्र केसी (अर्घाखाँची), कृष्णप्रसाद गौतम (सुर्खेत), तुलाराम पाण्डे (कालीकोट), वसन्तप्रताप सिंह (बझाङ), मेनुका ढुंगाना (अछाम), मोहन शाही (डोटी), भवानी भट्ट (कञ्चनपुर) र जे पाण्डे (बाँके)‚ प्रकाश बराल (बागलुङ)‚ घनश्याम खड्का (म्याग्दी)‚ आश गुरुङ (लमजुङ)‚ हरिराम उप्रेती (गोरखा)

प्रकाशित : चैत्र २९, २०७९ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×