बारा- २ मा लोसपाले जसपालाई सघाउने

लोसपाका नेता राजेन्द्र महतोले पार्टीले गठबन्धनका उम्मेदवारलाई सघाउने निर्णय गरेकाले आफू निर्वाचन नलड्ने जानकारी दिए ।
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभाको बारा निर्वाचन क्षेत्र नम्बर- २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जनता समाजवादी पार्टीका उम्मेदवारलाई सघाउने भएको छ । जसपाले अध्यक्ष उपेन्द्र यादवलाई उम्मेवार बनाउने तयारी गरेको छ ।  

लोसपाका अध्यक्ष महन्थ ठाकुरले उक्त निर्णय लिएका हुन् । बारा- २ को उपनिर्वाचनमा लोसपाका नेता राजेन्द्र महतो आकांक्षी थिए । महतोले पार्टीले गठबन्धनका उम्मेदवारलाई सघाउने निर्णय गरेकाले आफू निर्वाचन नलड्ने कान्तिपुरलाई जानकारी दिए ।

बारा -२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो । बारा- २ मा कांग्रेस, माओवादी केन्द्रलगायतका सत्तारुढ दलहरूले पनि यादवलाई नै सघाउने निर्णय गरिसकेका छन् । बारा- २ सहित चितवन- २ र तनहुँ- १ मा २०८० बैशाख १० गते उपनिर्वाचन हुँदैछ । निर्वाचनका लागि सोमबार मनोनयन दर्ता गर्ने चुनावी कार्यतालिका छ ।


प्रकाशित : चैत्र १९, २०७९ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्

कृष्णपुरबाट दुई लाखको अवैध सामान बरामद

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको कृष्णपुर नगरपालिकाबाट २ लाख रुपैयाँभन्दा बढीको अवैध मालसामान प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय झलारी र रैकवारको संयुक्त टोलीले शनिबार वीरेन्द्र सामुदायिक वनमा बेवारिसे अवस्थामा उक्त सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले बताए ।

डीएसपी डाँगीका अनुसार बरामद गरिएको सामानमा कुलार तीन थान, जुत्ता, स्टेप्लाइजर र पिठोसँगै दुईवटा मोटरसाइकलसमेत रहेको छ । उक्त सामानको मूल्य २ लाख ३ हजार रहेको बताइएको छ । बरामद गरिएको सामान गड्डाचौकी भन्सार कार्यालयलाई बुझाइएको उनले बताए ।

प्रकाशित : चैत्र १९, २०७९ १८:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×