नैकापबाट चोरिएको लिच्छविकालीन सरस्वती मूर्ति न्यूयोर्कमा

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् ८० दशकको सुरुवातमा विष्णुदेवी मन्दिर(नैकाप)बाट चोरिएको सातौं शताब्दीको सरस्वती मूर्ति अमेरिकाको न्यूयोर्कस्थित एक निजी संग्रहकर्ताको संकलनमा भेटिएको छ ।

न्यूयोर्कस्थित प्रसिद्ध कला संग्रहकर्ता रोबर्ट हटफिल्ड एल्सबर्थको संकलनमा पाइएको नेपाली सम्पदाको टाउको र दुवै हात भने चुँडिएको अवस्थामा देख्न सकिन्छ । नेपाली कला–सम्पदाको खोजी तथा घरफिर्ती अभियानमा संलग्न ‘लस्ट आर्टस् अफ नेपाल’का अनुसार, यो मूर्ति चोरीकै क्रममा टुटफुट भएको र यसको खुट्टाको अंश भने मन्दिरमै रहेको छ । तर मूर्तिको टाउको, हातहरु कहाँ छन् भन्ने अझै थाहा हुन सकेको छैन ।

‘यो चोरिएको मूर्ति देवी सरस्वतीको थियो, बाहिर चर्चामा आएजस्तो पार्वती वा लक्ष्मीको होइन’,नैकाप/तीनथाना क्षेत्र समेटिने चन्द्रागिरी नगरपालिका—१५ का पूर्ववडाध्यक्ष उत्तम राउतले कान्तिपुरसँग भने—‘चोरिएको मूर्तिको बाँकी खुट्टा(कमलाकृति)को अंशमा उभ्याएर अहिले सरस्वतीको प्रतिमूर्ति प्रतिस्थापन गरेका छौं । हरेक वर्ष यहाँ सरस्वती पूजाका दिन ठूलो मेलासहित पूजाआजा हुने गरेको छ ।’

राउतका अनुसार, यस्तै लिच्छविकालीन केही मूर्तिहरु अंगभंग अवस्थामै विष्णुदेवी मन्दिर परिसरमा रहेकै छन् । सम्भवत तेहृौं शताब्दीमा काठमाडौं उपत्यकामा भएको मुस्लिम समुदायको आक्रमणका बेलामा यी मूर्तिहरु अंगभंग पारिएका हुन सक्छन् । यही परिसरमा तीनवटा मात्रिका, उमामहेश्वर, महादेव र विष्णुदेवीका मूर्तिको सम्पदा वैभव यथावत छ ।

काठमाडौंमा नैकापबाट मच्छेगाउँ जाँदा बाटैमा भेटिने विष्णुदेवी मन्दिरबाट सरस्वतीको प्रस्तर मूर्ति चोरएपछि यहाँ अहिले प्रतिलिपि राखेर पूजा–प्राथना हुँदै आएको छ । यो मूर्ति सम्पदाको तस्बिर अस्ट्रियन वास्तुविद् कार्ल प्रुस्चले सन् १९७५ र नेपाली अन्वेषक शुक्रसागर श्रेष्ठले सन् १९८१ मा लिएका थिए । स्विस अध्येता उल्रिच भोन स्क्रोडरको ‘नेप्लिज स्टोन स्कल्प्चर्स, भोल्युम १ (प्लेट २२४)’ मा पनि नैकापको यो मूर्ति तस्बिर तथा विवरण उल्लेखित छ ।

सरस्वती मूर्तिका संकलक एल्सबर्थको ८५ वर्षको उमेरमा सन् २०१४ अगस्टमा न्यूयोर्क निवासमै निधन भइसकेको छ । तर उनले कहाँबाट कसरी यो सम्पदा हात पारे भन्ने उल्लेख गरिएको छैन । विशेषत चिनियाँ कला–सम्पदामा रुचि राख्ने एल्सबर्थले भारतीयसहित एसियाली पुरातात्विक सम्पदाको संग्रह गर्दै आएका थिए । उनले आफू जीवित छँदै कतिपय मूर्ति/सम्पदा न्यूयोर्कको मेट्रोपोलिटान म्युजियम, फिलाडेल्फिया, बोस्टन र ओहियो(क्लेभलेन्ड)का म्युजियमहरुमा बिक्री गरेका थिए ।

यसैगरी, लस्ट आर्टस् अफ नेपालका अनुसार पन्ध्रौं शताब्दीको अर्को नेपाली सम्पदा पनि अमेरिकाको भर्जिनिया म्युजियम अफ आर्टस्‌मा फेला परेको छ । ललितपुरको थेचो गाउँमा चल्ने जात्रामा प्रयोग हुने हड्डीबाट बनेको एप्रोन (सम्भवत नवदुर्गा नर्तकको गहना) भर्जिनियामा फेला परेको हो ।

प्रकाशित : चैत्र १९, २०७९ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्

अदानचुलीमा विवाद छैन, अब द्रुतगतिमा काम अघि बढ्छ : अध्यक्ष सिंह

जनकबहादुर शाही

हुम्ला — अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनबिक्रम सिंहले आन्तरिक विवाद समाधान भएकाले गाउँपालिकाका सबै काम द्रुतगतिमा अघि बढ्ने बताएका छन् । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच विवाद नभएको अध्यक्ष सिंहले बताए । 

वडाध्यक्ष र अन्य जनप्रतिनिधिहरुले अध्यक्ष र उपाध्यक्षलाई सँगै राखी सहमति गराएपछि अदानचुली गाउँपालिकाको विवाद टुंगिएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं. ५ का अध्यक्ष कमल छत्यालले बताए । विगत २/३ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारी खटनपटन र पालिकाबाट संचालित विभिन्न योजनाबारे विवादपछि सिंगो पालिका नै अनिर्णयको बन्दी बनेको थियो । अध्यक्ष र उपाध्यक्षबीच सहमतिसँगै पालिकाका सबै काम रफ्तारमा अघि बढ्ने प्रवक्ता छत्यालले बताए ।

आपसी सहमतिसँगै पालिका अध्यक्ष सिंहको नेतृत्वमा उपाध्यक्ष, सबै वडाका अध्यक्ष, अन्य जनप्रतिनिधिहरुसहित पालिकाभित्र संचालन गरिएका विभिन्न योजनाहरुको शनिबार संयुक्तरुपमा अनुगमन गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाहीले बताए ।

गल्फागाडदेखि कालागाडसम्म १६ किलोमिटर सडक विश्व बैंकको सहयोगमा कालोपत्र हुने भएकाले त्यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)का लागि सडक आसपास रहेका भौतिक संरचना, सडक छेउछाउको घर जग्गाको प्रारम्भिक तथ्यांक संकलन थालेको हो ।

कर्णाली प्रदेशअन्तर्गत प्रादेशिक स्थानीय सडक सुधार आयोजना सुर्खेत, विश्व बैंकको आर्थिक सहयोग निर्माण गर्न लागिएको गल्फागाडदेखि कालागाडसम्मको १६ किलोमिटर सडक ८ मिटर चौडाई हुने अदानचुली गाउँपालिकाले जनाएको छ ।

प्रकाशित : चैत्र १९, २०७९ १३:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×