कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

८ रुपैयाँको औषधि २ रुपैयाँ २८ पैसामा

दीपेन्द्र शाक्य

संखुवासभा — खाँदबारी शीतलपाटीका दिनेश पोखरेल बिरामी परेपछि उपचारका लागि बिहीबार जिल्ला अस्पताल पुगे । चिकित्सकले जाँचपछि लेखेको औषधि अस्पतालद्वारा सञ्चालित फार्मेसीमा किन्न सुझाए ।

८ रुपैयाँको औषधि २ रुपैयाँ २८ पैसामा

सबै औषधिको मूल्य ४ हजार रुपैयाँ भए पनि उक्त सरकारी अस्पतालको फार्मेसीका कर्मचारीले १ हजार रुपैयाँ दिन भन्दा पहिले बढी रकम तिर्दै आएका पोखरेल छक्क परे । उनले सोधीखोजी गरेपछि काउन्टरका कर्मचारीले अहिले अस्पतालको फार्मेसीमा औषधि किन्दा ५० देखि ८० प्रतिशतसम्म छुट हुने गरेको बताए । उनले योभन्दा पहिले किन महँगोमा औषधि किन्नुपरेको भनेर थप जिज्ञासा राखे । फार्मेसी प्रमुख धीरज रौनियारले यो वर्षदेखि कोटेसनको साटो ई–बिडिङ प्रक्रियाबाट औषधि खरिद गरेकाले सस्तो परेको जानकारी दिए । पोखरेलले यो सहुलियतले बिरामीलाई धेरै राहत पुगेको बताए । ‘केही महिनामात्रै यो सुविधा बाह्रै महिना लागू हुनुपर्छ,’ उनले भने ।

खाँदबारीकै गोपाल अधिकारी पनि एक महिनायता औषधि किन्न जिल्ला अस्पतालकै फार्मेसीमै पुग्छन् । ‘चिकित्सकलाई पनि देखाउन मिल्ने, औषधि पनि सस्तो पाइने,’ उनले भने, ‘औषधि धेरै छुटमा पाइन्छ भनेपछि यहीं नियमित किन्ने गरेको छु, यिनै औषधि बाहिर किन्दा अचाक्ली महँगो पर्छ ।’ जिल्ला अस्पतालमा दैनिक ३ सय बढी बिरामी उपचारका लागि आउँछन् ।

स्वास्थ्य सेवा संवेदनशील क्षेत्र भएकाले अस्पतालले सुरु गरेको यो सुविधालाई निरन्तरता दिन जरुरी देखिएको उनले बताए । उक्त अस्पतालको फार्मेसीमा बजारमा ८ रुपैयाँ पर्ने ४० एमजीको प्यान्टोप्राजोल २ रुपैयाँ २८ पैसामा उपलब्ध छ । २० रुपैयाँ पर्ने सिफिक्जिम ९ रुपैयाँ ६० पैसा र ६ रुपैयाँ पर्ने एसिक्लोफिनाकको १ रुपैयाँ ६८ पैसामा किन्न पाइन्छ । यीबाहेक २ सय १० प्रकारका औषधि र ७१ प्रकारका सर्जिकलमा प्रयोग हुने औषधि/सामग्री ५० देखि ८० प्रतिशतसम्म छुटको व्यवस्था गरेको रौनियारले बताए । भारी छुट गर्दा पनि २० प्रतिशत नाफै हुने गरेको अस्पतालले जनाएको छ ।

‘यसबाट बिरामीले महँगो औषधि किन्नबाट छुटकारा पाएका छन्’ रौनियारले भने,‘यो वर्षबाट हामीले कोटेसनबाट औषधि नकिन्ने निधो गरेका छौं ।’ अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ बमोजिम स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्न फार्मेसी विषयका दक्ष जनशक्तिमार्फत अस्पतालले आफ्नै फार्मेसी सेवा सञ्चालन गरेको हो । अस्पतालमा आउने सेवाग्राहीलाई सुलभ एवं गुणस्तरीय सेवा दिँदै आएको अस्पतालले जनाएको छ । अस्पतालले सरकारले तोकेका ७० प्रकारका निःशुल्क औषधि र स्वास्थ्य बिमामा आबद्ध बिरामीका लागि चाहिने हरेक औषधि पनि सहजै उपलब्ध गराएको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यले सरकारी अस्पतालको सेवा भुइँका मान्छेसम्म पुर्‍याउने उद्देश्यले औषधिमा थप सेवा सुविधा दिएको बताए । ‘औषधिमा ८० प्रतिशतसम्म छुट दिएर पनि सेवा प्रदान गर्न सकिन्छ भन्ने देखिएको छ,’ शाक्यले भने, ‘यो सेवा सुविधालाई आगामी वर्ष पनि निरन्तरता दिन्छौं ।’ शाक्यका अनुसार औषधि खरिद गर्दा कोटेसन प्रक्रियाबाट गर्न नहुने रहेछ भन्ने ज्ञान भएको छ ।

औषधि कारोबारका एक जानकारका अनुसार कोटेसन प्रक्रियाभित्र लुकेको कमिसनको जालोले बिरामी र उनीहरूका परिवारजन आर्थिक मारमा पर्दै आएका थिए । ‘जिल्ला अस्पतालले ई–बिडिङमार्फत औषधि सिन्डिकेटलाई तोडेर प्रशंसनीय काम गरेको छ’ उनले भने, ‘अस्पतालले निरन्तरता दिन सक्यो भने मुलुकभरिकै सरकारी स्वास्थ्य सेवा संस्थाका लागि यो उदाहरणीय कदम हुनेछ ।’

प्रकाशित : चैत्र १९, २०७९ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×