कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

दलितले छोएको भन्दै भतेर घोप्ट्याइयो

दीपक परियार

पोखरा — व्रतबन्धमा दलित र गैरदलितलाई छुट्टाछुट्टै भान्सा बनाएर जातीय विभेद गरेको आरोपमा कास्कीको माछापुच्छ्रे–५ रिभानका सन्तोष परियार र सुजन लामिछाने पक्राउ परेका छन् । आरोपित जनप्रतिनिधि वडासदस्य रामजी लामिछाने र स्थानीय सरिता लामिछाने ‘फरार’ छन् । 

आफन्तको व्रतबन्धमा भाग लिन पोखरा–२९ भण्डारढिकका नारायण परियार फागुन २५ मा पुर्ख्यौली गाउँ रिभान पुगेका थिए । सन्तोष परियारका दुई छोरा साहिल र समीरलाई दानदक्षिणा गरेर उनी भतेरतिर लम्किए । भान्सामा खटिएकी स्थानीय सरिता लामिछानेले थर सोधेपछि उनले आफू परियार भएको बताए । ‘दमाई’ हरूका लागि छुट्टै भान्सा भएको भन्दै लामिछानेले उनलाई २० मिटर परै रोकिन् ।

नारायण छुट्टाछुट्टै भान्सा हुनु गलत रहेको बताएर भतेरतिर अघि बढे । त्यतिबेलै वडासदस्य रामजी लामिछानेले दलितले छुँदा भान्सा जुठो भएको भन्दै दाल, भात, तरकारी भुइँमा घोप्ट्याइदिए । स्थानीय सुजन लामिछाने ‘दमाईहरू बाहुनको भान्सामा आउने ?’ भन्दै बम्किए । ‘अहिलेको जमानामा छुवाछूत हुनु हुँदैन भन्दा वडासदस्यले नै दलितहरू ठूलो पल्टिन्छौं भनेर भान्सा घोप्ट्याउनुभयो,’ परियारले भने, ‘झ्न आफन्त पनि गैरदलिततिर लागेर मलाई नै गाली गर्न थालेपछि अपमानित भएको महसुस गरेँ ।’

घटना त्यत्तिकैमा रोकिएन । बेलुका सन्तोष परियारले नारायणलाई फोन गरेर उनले भान्सा छोइदिएकाले सबै पाकेको खाना फाल्नुपर्दाको घाटा बेहोर्न भने । नारायणका अनुसार सन्तोषले आफ्नो १ लाख ५० हजार रुपैयाँ खेर गएको, पाहुनाको पनि अपमान भएको र व्रतबन्ध नै विफल भएकाले खर्च बेहोर्न भनेका थिए । आफ्नो कुलकुटुम्बबाट निकालेको र कुल मन्दिरमा पनि प्रवेश गर्न नदिने धम्की सन्तोषले फोनमा दिए ।

दलित र गैरदलितको छुट्टाछुट्टै भान्सा व्यवस्था गरेर, छोइछिटो भन्दै खाना फालेर जातीय विभेद गरेको भन्दै नारायणले सन्तोष परियार, जनप्रतिनिधि रामजी लामिछाने, स्थानीय सरिता लामिछाने र सुजन लामिछानेविरुद्ध चैत ६ मा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराए ।

प्रहरीले सन्तोष र सुजनलाई पक्राउ गरी थुनामा राखेको छ । जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ अन्तर्गत कारबाही गरी क्षतिपूर्तिसमेत भराउन नारायणले माग गरेका छन् ।

कास्कीमा रहेका राजनीतिक दलका भ्रातृसंगठन, संघसंस्थाले घटनाको विरोध गर्दै दोषीलाई कारबाही गर्न माग गरेका छन् । मुक्ति समाज, नेपाल दलित संघ, नेपाल दलित मुक्ति मोर्चा, नेपाल दलित मुक्ति संगठन, दलित महिला संघ (फेडो), विश्वकर्मा समाज, मिजार समाज, दलित सञ्जाल कास्कीलगायतले संयुक्त विज्ञप्ति जारी गर्दै जातीय विभेदपूर्ण घटनाप्रति खेद व्यक्त गरेका छन् । उनीहरूले पीडकलाई तत्काल कारबाहीको दायरामा ल्याउन र पीडितलाई न्याय दिलाउन अपिलसमेत गरेका छन् । इन्सेक गण्डकीले पनि जातीय विभेद गर्नेलाई कारबाही गर्न गरेको मागप्रति ऐक्यबद्धता रहेको बताएको छ । इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले पीडितको मागप्रति आफूहरूको ऐक्यबद्धता रहेको बताए ।

प्रकाशित : चैत्र १९, २०७९ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×