एमालेबाट तनहुँमा खनाल र चितवनमा न्यौपाने उम्मेदवार

बाराबारे अनिर्णित
कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले)ले तीन निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमध्ये दुई क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ । एमालेको शनिबार बसेको सचिवालय बैठकले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ र चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनका उम्मेदवारको नाम टुंगो लगाए पनि बारा क्षेत्र नम्बर २ को उम्मेदवार भने टुंगो लगाउन सकेन । 

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सचिवालय बैठकपछि दिएको जानकारीअनुसार तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाल प्रहरीका पूर्वमहानिरीक्षकसमेत रहेका नेता सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरिएको पनि गुरुङले जानकारी दिए ।

दुवै निर्वाचनलाई सम्बन्धित क्षेत्रीय, जिल्ला र प्रदेश कमिटीले सिफारिस गरेको गुरुङको भनाइ थियो ।

बारा निर्वाचन क्षेत्र नम्बर २ मा भने कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय भइनसकेको गुरुङले बताए । 'बारा निर्वाचन क्षेत्र नम्बर २ मा थप छलफल गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ । सिफारिस प्राप्त भए पनि थप छलफल गर्नुपर्ने आवश्यकता ठानेको हुनाले कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय गर्ने अधिकार केन्द्रीय हेडक्वार्टरलाई दिएको छ,' उनले भने ।

बारा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचन उम्मेदवारबारे अध्यक्ष केपी शर्मा ओलीले पार्टी वरिष्ठ उपाध्यक्ष, महासचिव, जिल्लाका नेताहरूसँग छलफल गरेर उम्मेदवार टुंगो लगाउने निर्णय भएको गुरुङले बताए । उनले उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा एमालेले उम्मेदवार बनाउने पनि बताए ।

तीनवटै निर्वाचन क्षेत्रमा २०८० वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

प्रकाशित : चैत्र १८, २०७९ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्

कोशी, वाग्मती र गण्डकी प्रदेशमा वर्षा

कान्तिपुर संवाददाता

काठमाडौँ — पश्चिमी र स्थानीय वायु सक्रिय हुँदा हाल देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । कोशी, वाग्मती र गण्डकी प्रदेशमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार अहिले स्थानीय र पश्चिमी वायुको प्रभाव कोसी, वाग्मती र गण्डकी प्रदेशमा बढी छ ।

देशैभर यो प्रणाली सक्रिय रहेको उनले जानकारी दिइन् । साथै शनिबार रातिसम्म सक्रिय हुने र आइतबारदेखि विस्तारै हट्ने उनले जानकारी दिइन् ।

शनिबार राति देशभर आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने प्रक्षेपण गरिएको छ ।

महाशाखाका अनुसार आइतबार दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित : चैत्र १८, २०७९ १६:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×