मिटरब्याजपीडितसँगको वार्ता सहमतिनजिक

कान्तिपुर संवाददाता

काठमाडौँ — गृह मन्त्रालयले गठन गरेको वार्ता टोली र मिटरब्याजपीडित किसानबीचको वार्ता सहमतिनजिक पुगेको छ । सरकारी टोली र किसानबीच शुक्रबार दिनभर वार्ता भएको थियो ।

सरकारी टोलीका संयोजक गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माका अनुसार शनिबार फेरि वार्ता हुनेछ । ‘उहाँहरूले उठाउनुभएका सबै मागप्रति हामी संवेदनशील छौं, वार्ता सहमतिनजिक छ,’ उनले भनिन् ।

आन्दोलनरत किसानले बिहीबार आफ्ना १० बुँदे माग सरकारलाई बुझाउँदै मिटरब्याजविरुद्धको संघर्ष समितिका संयोजक मनोजकुमार पासवानको नेतृत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेका थिए । १० बुँदे मागको पहिलो बुँदामै ‘मिटरब्याजपीडितको समस्या समाधान गर्न अधिकारसम्पन्न उच्चस्तरीय आयोग’ गठन गर्नुपर्ने माग छ ।

सरकारी वार्ता टोलीका सदस्य सचिव दिलकुमार तामाङले पीडित किसानको मागअनुसार नै त्यस्तो आयोग गठनको प्रक्रिया अगाडि बढाएको बताए । गृहमन्त्रीको पदभार ग्रहण गरेलगत्तै नारायणकाजी श्रेष्ठले ‘मिटरब्याजपीडितको समस्या समाधान गर्न अधिकारसम्पन्न तीन सदस्यीय आयोग गठनको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्ने’ निर्णय गरेका छन् । गृह मन्त्रालयका अनुसार विशेष अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा तीन सदस्यीय आयोग प्रस्ताव गरिएको छ ।

पीडित किसानले सरकारी वार्ता टोलीसमक्ष तमसुक व्यवस्था खारेज गर्नुपर्ने, चेक वा तमसुकबाट साहुकारले किसानविरुद्ध मुद्दा दायर गरेकामा उनीहरूको सम्पत्तिको स्रोत खोजी गर्ने कानुन निर्माण गर्नुपर्ने, साहुकारको अवैध ठहरिएको सम्पत्ति जसको नामबाट आएको उसैको नाममा फिर्ता हुने व्यवस्था गर्नुपर्ने, वैदेशिक रोजगारमा जान चाहने युवाका लागि सरकारको ग्यारेन्टीमा बैंकबाट सरल र सहज कर्जाको व्यवस्था गर्नुपर्नेलगायत माग राखेका छन् ।

संघर्ष समितिका संयोजक पासवानका अनुसार ऋण तिरिसकेपछि पनि पुरानो तमसुक नष्ट नगरी साहुले त्यसैका आधारमा मुद्दा चलाएपछि अदालतबाट जारी भएका पक्राउपुर्जीका बारेमा के गर्ने भन्ने विषयमा अहिलेसम्म सरकारी टोलीले स्पष्ट दृष्टिकोण बनाउन सकेको छैन ।

त्यसैगरी ऋण तिरेपछि पनि ऋण लिँदा राजीनामा पास गरिदिएका जग्गा फिर्ता नभएकालाई कसरी न्याय दिने भन्नेबारे पनि सरकारले स्पष्ट दृष्टिकोण दिन सकेको छैन । ‘कानुन बनाउने मागमा सरकारी वार्ता टोली सकारात्मक छ,’ संयोजक पासवानले भने, ‘विगतका घटनालाई कसरी सम्बोधन गर्ने भन्नेमा सरकारी टोली स्पष्ट छैन ।’

प्रकाशित : चैत्र १८, २०७९ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्

सुधारिएको प्रदर्शनमा उपाधि

आयुष घलान र मनीष डाँगीको गोलमा नेपालले फाइनलमा लाओसलाई २–१ ले हराएर प्रधानमन्त्री त्रिदेशीय कप जित्यो
राजु घिसिङ

काठमाडौँ — दक्षिण पूर्वी एसिया र दक्षिण एसियाली फुटबलमा कमजोर मानिएका टिमलाई बोलाइएको प्रतियोगिता ‘प्रधानमन्त्री त्रिदेशीय कप’ मा समूह चरणका दुई खेलमा स्वाभाविक लय गुमाएको मात्रै होइन, निकै फितलो प्रदर्शन गरेकाले नेपाली टिम आलोचित भएको थियो । यद्यपि फाइनलमा स्थान बनाएको नेपालले उपाधि होडमा सुधारिएको प्रदर्शन गर्दै लाओसविरुद्ध पछाडि परेको स्थिति उल्टाएर २–१ को नतिजासहित दशरथ रंगशालामा शुक्रबार उपाधि जितेको छ ।

‘फिफा मेन्स इन्टरनेसनल म्याच क्यालेन्डर’ को अवसरमा आयोजित अनौपचारिक प्रतियोगितामा दुवै टिमले तोकिएका दुई–दुई खेल खेलिसकेकाले फिफाको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण मान्यता प्राप्त खेलको रूपमा नरहेको फाइनल वास्तवमै आकर्षक रह्यो । नयाँ प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको आगमन र स्थापित खेलाडीको अस्ट्रेलिया पलायनपछि नयाँ फुटबलरको बाहुल्यमा नेपाली टिमले हिउँदे झरीमा रुझ्दै रंगशाला प्रवेश गरेका ९ हजार १ सय ६५ दर्शकसामु जितेको उपाधि अर्थपूर्ण रह्यो । मनीष डाँगीले ८८ औं मिनेटमा निर्णायक गोल गर्दै नेपालले नियमित समयमै सफलता दिलाएका हुन् ।

पहिलो : फिफा वरीयतामा आफूभन्दा तलका टिम र स्तरकै हिसाबले पनि तल्लोस्तरका टिम ल्याएर पनि घरेलु टिमले आफ्नै मैदानमा समूह चरणमा गतिलो प्रदर्शन गर्न सकेको थिएन । नेपालले उद्घाटनमा लाओसलाई २–० ले पराजित गरे पनि प्रदर्शनको आधारमा पाहुना टिम नै बलियो थियो । नयाँ स्ट्राइकर दीपकराज सिंह ठकुरीले इन्ज्युरी समयमा गोल गरेपछि नेपालले भुटानविरुद्ध हार टारेको खेल १–१ मा टुंग्याएको थियो । अर्को पहाडी मुलुकविरुद्ध ३९ वर्ष लामो प्रतिस्पर्धाको इतिहासमा नेपाली टिम पहिलोपल्ट जितबाट वञ्चित भएको थियो । खेलमा वर्चस्व पनि भुटानकै थियो । अर्थात् नतिजा र प्रदर्शन दुवै आधारमा नेपालले भुटानसँग इतिहासकै सबैभन्दा खराब फुटबल प्रधानमन्त्री कपमा आएर खेल्यो ।

दोस्रो : राष्ट्रिय टिमका स्थापित र भविष्यका खेलाडीको अस्ट्रेलिया पलायनले नेपाली फुटबललाई ठूलै असर पारेको छ । नेपालकै सबैभन्दा ठूलो उपलब्धिको रूपमा एएफसी सोलिडारिटी कप (सन् २०१६) को उपाधि जित्ने क्रममा फाइनलमा निर्णायक गोल गरेका सुजल श्रेष्ठले यही प्रतियोगिताकै दौरान देश छाडे । उनीसँगै राष्ट्रिय टिमबाट खेलिसकेका डिफेन्डर रन्जित धिमाल पनि अस्ट्रेलियातिर लागे । फुटबल करिअरभन्दा राम्रो आम्दानीसहित सुरक्षित भविष्य रोज्नेक्रममा दुई वर्षयता ४० भन्दा बढी फुटबलर अस्ट्रेलिया पुगेका छन् । त्यसैले राष्ट्रिय टिममा अनुभवी खेलाडी थोरै छन्, नयाँकै बाहुल्य छ । यसकै उदाहरण हो, त्रिदेशीय कपका लागि छनोट गरिएको टिममा नयाँ ६ खेलाडी ।

नेपाली फुटबल इतिहासकै सबैभन्दा ठूलो उपलब्धिको रूपमा कुचिङ (मलेसिया) मा सोलिडारिटी कपको ट्रफी चुमेको सात वर्ष पनि पूरा भएको छैन । तर, त्यो टिमका गोलकिपर किरण चेम्जोङ, डिफेन्डर अनन्त तामाङ, आदित्य चौधरी, अग्रपंक्तिका अञ्जन विष्ट, नवयुग श्रेष्ठ र भरत खवास गरी ६ खेलाडीमात्रै प्रधानमन्त्री कपको उपाधि विजेता टिममा छन् । धेरै टाढा जानुपर्दैन । प्रशिक्षक बालगोपाल महर्जनले सम्हालेको नेपाली टिमले बंगलादेशको राष्ट्रिय टिम र किर्गिस्तान यू–२३ टिम सहभागी ‘थ्री नेसन्स कप’ को उपाधि यही दशरथ रंगशालामा जितेको ठीक दुई वर्ष दुई दिनमात्रै भयो । तर, विवादास्पद प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी, कार्यबाहक रहेका प्रदीप हुमागाईं र प्रवेश कटुवाल हुँदै इटालियन प्रशिक्षक एनेसको पहिलो जिम्मेवारीसम्म आइपुग्दा नेपाली टिममा आमूल परिवर्तन भएको छ ।

नेपालले सन्जोक राई र विशाल राईले गोल गरेपछि फाइनलमा बंगलादेशलाई २–१ ले हराएर ३७ वर्षपछि घरेलु भूमिमा पहिलो उपाधि (थ्री नेसन्स कप) जितेको थियो । त्यो फाइनलमा पहिलो रोजाइमा उत्रिएका सात खेलाडी (सन्जोक, विशाल, दिनेश राजवंशी, रन्जित धिमाल, सुनील बल, तेज तामाङ र त्रिदेव गुरुङ) अहिले टिममा छैनन् । कप्तान किरण, डिफेन्डर अनन्त, रोहित र अञ्जन विष्टमात्रै निरन्तर छन् एनेसको टिममा । ‘बेन्च’मा रहेका गोलकिपर दीप कार्की, डिफेन्डर निशान खड्का, मिडफिल्डर एरिक विष्ट र विंगर/फरवार्ड भरत खवासले उनीहरूसँगै प्रधानमन्त्री कपमा स्थान पाए । बाँकी आठ खेलाडी (विकेश कुथु, विराज, अजित भण्डारी, छिरिङ गुरुङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, रविशंकर पासवान र दर्शन गुरुङ) टिमबाट छुटे/बाहिरिए । केही खेलाडी देशबाहिरै पुगेका छन्, केही छनोटमै परेनन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले दुई वर्षपछि त्रिदेशीय प्रतियोगिता आयोजना गर्दा नेपाली टिमका १५ खेलाडी फेरिएका छन् ।

तेस्रो ः नयाँ प्रशिक्षकको आगमनले टिमको रणनीति फरक भयो भने त्यसमा अभ्यस्त हुन समय लाग्छ । तर, प्रशिक्षक एनेसले सम्हालेको यो नेपाली टिमले एकसाथ दुई दिनमात्रै अभ्यास गर्ने अवसर पायो । त्यसैले हुनसक्छ, सुरुका दुई खेलमा के नमिले, के नमिलेजस्तो गरी केही पनि नमिलेको देखिएको थियो । दुई कमजोर प्रतिस्पर्धी भएकाले नयाँ प्रशिक्षकसहितको नेपाली टिमलाई कमजोर प्रतिद्वन्द्वीविरुद्ध जित्नैपर्ने दबाब थियो ।

नयाँ प्रशिक्षक, नयाँ खेलाडी र पुरानावीच मैदानभित्र र बाहिर ‘टिमवर्क’ मिलाउन सुरुमै मुस्किल हुन्छ । त्यस्तो समस्या देखियो पनि । तर, फाइनलमा आएर केही सुधार गर्‍यो । घरेलु मैदानमा खेलाडीहरू चिनजानकै जसरी खेल्न थालेजस्तो भयो । उनीहरू चार–पाँच पास खेल्न सक्ने भयो । त्यसैले सुरुमै पछाडि परेर पनि नेपालले दुई गोल फर्काएर प्रधानमन्त्री कपको ट्रफी स्वदेशमै राख्न सक्यो ।

उत्कृष्ट फिनिसिङ

फोथाभोङ साङभिलेले १८ औं मिनेटमा गोल गर्दै लाओसलाई १–० को अग्रता दिलाउँदा केही सेकेन्ड रंगशालामा सन्नाटा छायो । त्यसमा बोनपछान बोन्कोङको पास यति उत्कृष्ट रह्यो कि उनले दिएको बल पेनाल्टी क्षेत्रभित्र फोथाभोङ पुग्दासम्म नेपालका सबै डिफेन्स बिट भइसकेको थियो । त्यसपछि कप्तान किरणको ठीक अगाडिबाट ‘भली’ मार्फत् फोथाभोङले बल जाली चुमाउँदै पाहुना टिमलाई उसको इतिहासकै पहिलो फाइनलमा अगाडि बढाएका थिए ।

लाओसको अग्रता धेरैबेर टिकेन । आयुष घलानले १२ औं मिनेटमा गोल गर्दै खेल १–१ को बराबरी बनाए । एरिकले दिएको बल अगाडि बढाउँदै पेनाल्टी क्षेत्रभित्रैबाट उनले बायाँ खुट्टाले राम्रो ‘फिनिसिङ’ गर्दै घरेलु टिमलाई खेलमा फर्काए । त्यसअघि नवीन लामाको फ्रि–किकमा सनिश श्रेष्ठले प्रहार गरेको बल गोलकिपर सासाभाथ सुकाफोनले रोकेका थिए । बराबरी गरेको दुई मिनेटपछि नै नेपालले अग्रता लिने मौका पायो । तर, मनीषको पासमा नवीन आफैले प्रहार गर्नुपर्नेमा ढिलाइ गर्दै बल आयुषलाई दिए, जसमा आयुषको प्रहार फितलो भयो, सिधै गालकिपरको हातमा पुग्यो ।

मनीष डाँगी

पहिलो हाफ प्रतिस्पर्धात्मक रह्यो । दोस्रो हाफमा नेपाली टिमले आक्रामक रूप लियो । मनीषले सिर्जना गरेको अवसरमा ५६ औं मिनेटमा आयुष बललाई पोस्टको दिशा दिन चुके । सब्स्टिच्युट डिफेन्डर निशान खड्काले फ्रिकिकमा प्रहार गरेको बल ६९ औं मिनेटमा बारमा लागेर फर्कियो । ७१ औं मिनेटमा मनीषको फ्रि–हेडरमा पनि बल पोस्टतिर गएन । अञ्जनले हानेको बल गोलकिपर सुकाफोनले रोकेपछि ७४ औं मिनेटमा मनीषले गोललाइन पार गराए पनि त्यसमा सहायक रेफ्रीले अफसाइड दिएपछि नेपाल फेरि अग्रता लिनबाट रोकियो । अतिरिक्त समयतिर उन्मुख खेलको ८८ औं मिनेटमा अञ्जनको पासमा मनीषले दायाँ क्षेत्रबाट बललाई जाली चुमाउँदै निर्णायक गोल गर्दै नियमित समयमै नेपाललाई उपाधि दिलाए । तेस्रो अन्तर्राष्ट्रिय गोलमा उनको फिनिसिङ उत्कृष्ट रह्यो ।

आयुश घलान

पछाडि परेपछि लाओस हतारिएको अवस्थामा अफसाइड भएपछि अञ्जनले बल गोलपोस्टतर्फ हानेका थिए । लगत्तै उनलाई गोलकिपर सुकाफोनले धकेलेपछि दुई टिमका खेलाडीबीच एक मिनेट तनावपूर्ण अवस्था बन्यो । तर, तुरुन्तै खेल सुरु भयो र इन्ज्युरीको अन्तिम समयमा आयुष र मनीषले सहज अवसरमा पनि बललाई गोलमा परिणत गर्न सकेनन् । निलम्बनमा परेका डिफेन्सिभ मिडफिल्डर पूजन उपरकोटीको स्थानमा आएका मणिकुमार लामा, मनीष र आयुषको प्रदर्शन राम्रो रह्यो । मनीष फाइनलको उत्कृष्ट खेलाडी चुनिए । आयुष प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी भए ।

ooo

‘मिडफिल्डमा उत्कृष्ट प्रदर्शन’

–भिन्सेन्जो अल्बर्टो एनेस

मुख्य प्रशिक्षक, नेपाली टिम

हामीले प्रतियोगिताको प्रत्येक खेलमा सुधार गरेका छौं । तेस्रो खेलमा हामीले वर्चस्व राख्यौं, विशेषगरी दोस्रो हाफमा । धेरै अवसर सिर्जना गर्‍यौं । मैले नेपालमा काम गरेको एक महिनामात्रै भएको छ । राम्रोसँग बुझ्न आवश्यक छ । गल्ती गरेपछि खेलाडीहरू आफैंले सुधार गर्नु आवश्यक छ । विश्वमा हरेक प्रशिक्षकले गल्ती गर्छन् । अर्को प्रतियोगिताको लागि उत्कृष्ट खेलाडी छनोट गर्न आवश्यक छ ।

मेरो विचारमा छोटो समयमै हामीले राम्रो गरेका छौं । वास्तवमै तयारीमा साह्रै छोटो समय पाएको थियो । मेरा खलाडीप्रति गर्व छ । पहिलो रोजाइमा दीपक र मणि नयाँ हुन् । हामी सबै नयाँ हौं र राम्रो फुटबल खेलेका छौं । समर्थकले पनि मज्जा लिएजस्तो लाग्छ । मैले पनि मज्जा लिएँ । अब अर्को खेलको लागि सोच्नुपर्छ । हामी आउने दिनमा राम्रो गर्न सक्छौं । हामीले धेरै गोलका अवसर गुमायौं । दोस्रो हाफमा नवीन, एरिक, मणिले धेरै राम्रो गरे । मिडफिल्डमा उत्कृष्ट प्रदर्शन गरे । मनीषका लागि त कुनै शब्द नै छैन । नेपालका केही खेलाडीले देशबाहिर अवसर पाउने आशा गरेको छु ।

प्रकाशित : चैत्र १८, २०७९ ०७:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×