अवलोकन भ्रमणका लागि १२ सांसद दिल्लीमा 

राजेश मिश्र

नयाँदिल्ली — प्रतिनिधिसभाका १२ जना सदस्य मंगलबार दिल्ली आइपुगेका छन् । एकैसाथ ठूलो संख्यामा सांसद ९ दिनको भारत भ्रमणमा आएका हुन् । 

दिल्ली आएका प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका मैना कार्की, प्रतिमा गौतम, शान्ति विक र सीता मिजार छन् । एमालेका मेनुका पोखरल, बलराम अधिकारी, नारायण आचार्य, फारुक अहमद सिराज छन् । त्यस्तै, माओवादी केन्द्रका माधव सापकोटा, मिना तामाङ छन् र राष्ट्रिय स्वतन्त्र पार्टीका ढाकाकुमार श्रेष्ठ र नेकपा समाजवादीका शेरबहादुर कुँवर भ्रमण टोलीमा सहभागी छन् । बिहान ८ बजेको नेपाल एयरलाइन्सको विमानबाट आएका सांसद गुरुग्राममा रहेको र्‍याडिसन होटलमा बसेका छन् ।

स्वतन्त्र युवा प्रजातान्त्रिक संघ, नेपाल नामको संस्थाले समन्वय गरेर सांसदलाई दिल्ली ल्याएको हो । संस्थाका अध्यक्ष अरविन्द महतोले भारतको संसदीय व्यवस्था प्रणालीको अध्ययन अवलोकनका लागि सांसदको भारत भ्रमणको आयोजना गरिएको बताए ।

दिल्लीस्थित नेपाली दूतावासलाई सांसदहरुको भ्रमण बारे कतैबाट जानकारी गराइएको छैन । दूतावास स्रोतले सरकारी तहबाट आयोजना नगरिएकैले दूतावासमा जानकारी नआएको हुन सक्ने बताएको छ । संसद् सचिवालय वा परराष्ट्र मन्त्रालयले भ्रमणको आयोजना गरेको छैन । दूतावासका अधिकारीका अनुसार भारतको विदेश मन्त्रालय वा लोकसभाले औपचारिक रूपमा निम्तो पठाएर भ्रमण भएको भए परराष्ट्र मन्त्रालयबाट भ्रमणबारे दूतावासलाई जानकारी आउँथ्यो ।

भ्रमण टोलीमा १९ जना सांसदहरुको नाम रहेकोमा अन्तिममा १२ जना मात्रै भ्रमणमा आएका हुन् । सांसदहरुलाई दिल्लीको विभिन्न ठाउँमा भ्रमण गराउनुका साथै विदेश मन्त्रालयका नेपाल र भुटान हेर्ने सहसचिव अनुराग श्रीवास्तव र भाजपाका विदेश विभागका प्रमुख विजय चौथाइवालेसँग भेटाउने आयोजकले सेड्यूलमा राखेको छ । पहिलो दिन भने सांसदहरूले अपरान्ह ४ बजे नीति आयोग पुगेर त्यहाँका पदाधिकारीसँग छलफलमा सहभागी हुने र त्यसपछि महात्मा गान्धीको समाधिस्थल राजघाट जाने कार्यक्रम छ ।

सांसदहरू ३ दिनको दिल्ली भ्रमणपछि मुम्बईसमेत जाने भएका छन् । त्यहाँ उनीहरूले महाराष्ट्रका राज्यपाल र मुख्यमन्त्रीका साथै नेपाली समुदायलाई भेट्ने कार्यक्रम रहेको छ । उनीहरू चैत २२ गते मुम्बईबाटै काठमाडौं फर्किनेछन् ।

आरजु देउवा पनि दिल्लीमा

नेपाली कांग्रेसका सांसद आरजु देउवा पनि दिल्ली आइपुगेकी छन् । उनी सोमबार साँझ आएकी हुन् । आमा प्रतिभा राणाको उपचारका लागि उनी यसपटक दिल्ली आएको बताइएको छ । साथमा परिवारका अन्य सदस्य पनि छन् ।

प्रकाशित : चैत्र १४, २०७९ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्

भूराजनीतिक अवस्थिति र शक्ति राष्ट्रहरूको सामरिक सामर्थ्यको बढोत्तरीले सुरक्षा चुनौती बढ्यो : प्रधानमन्त्री 

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको भू-राजनीतिक अवस्थित र अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रुपमा शक्ति राष्ट्रहरुको सामरिक सामर्थ्यको बढोत्तरीले सूरक्षा चुनौती बढी रहेको बताएका छन् । राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अहिलेका सुरक्षा चुनौतीका आयाम र त्यसका कारण हुनेसक्ने खतराबारे धारणा राखेका हुन् ।

'वर्तमान समयमा विभिन्न सुरक्षा चुनौतीको सामना गर्नु परिरहेको छ । देशको भू-राजनैतिक अवस्थिति, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रुपमा शक्ति राष्ट्रहरुको सामरिक सामर्थ्यको बढोत्तरी, प्रतिस्पर्धा एवं प्रभाव, सीमा विवाद, जलवायु परिवर्तनको साथै आन्तरिक रुपमा विद्यमान रहेको राजनीतिक जटिलता, विश्व आर्थिक मन्दी र त्यसको राष्ट्रिय प्रभाव, राष्ट्रिय एकता र सुरक्षामाथि प्रहार गर्न खोज्ने अतिवादी एवं पृथकतावादी सोच, दक्ष जनशक्तिको पलायन, खुला सीमाना र त्यसले निम्त्याउन सक्ने आपराधिक गतिविधिहरु लगायतका चुनौतीहरु आज हामीले एकसाथ सामना गर्नुपरिरहेको छ,' प्रधानमन्त्री दाहालले भने ।

उनले यस्ता चुनौतीहरूको डटेर सामना गर्नुपर्ने उल्लेख गरे । 'राजनीतिक, अर्थतन्त्र, कूटनीति, सञ्चार तथा सैन्य शक्तिलाई उचित नीति एवं साधन श्रोतले सम्पन्न गराउँदै समन्वय र सहकार्यको माध्यमबाट उचित ढंगबाट राष्ट्रिय हितमा प्रयोग गरी त्यस्ता चुनौतीहरुको डटेर सामना गर्न हामी सक्षम छौं भन्ने मैले विश्वास लिएको छु। यसका लागि नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग र सहजीकरण हुने पनि म विश्वास दिलाउँछु' उनले भने ।

प्रधानमन्त्री दाहालले परिवर्तित परिस्थितिमा राष्ट्रिय सुरक्षा नीतिको सही मूल्याङ्कन, अध्ययन र विश्लेषण गर्नु अत्यन्तै जरुरी रहेको उल्लेख गरे । 'हाम्रो प्राथमिकता र विश्लेषण सुरक्षा खतराको बहु-आयामिक पक्षहरू र त्यसको समाधानको कुशलतामा केन्द्रित हुनुपर्दछ। त्यसैले तपाईंहरूलाई परम्परागत एवं विकसित सुरक्षा खतराका नयाँ आयामहरूको थप गहिरो अध्ययन र विश्लेषण गरी आवश्यक पहलकदमीका लागि पनि म विशेष अनुरोध गर्दछु,' प्रधानमन्त्री दाहालले भने ।

प्रकाशित : चैत्र १४, २०७९ १३:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×