३० वर्षपछि चिडियाखाना पुगे प्रधानमन्त्री दाहाल

अवलोकनका क्रममा प्रधानमन्त्री दाहालले बाघ र गैंडा आफूलाई धेरै मनपर्ने भन्दै तिनको बारेमा कर्मचारीहरूसँग सोधखोज गरेका थिए
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको अवलोकन तथा निरीक्षण गरेका छन् । दाहाल आफ्ना छोरीहरु रेणु र गंगा दाहाल साथै सचिवालयका सदस्यहरूसहित यहाँ आइपुगेका हुन् ।

दाहालले चिडियाखाना अवलोकन गर्दा कुनै तामझाम नै नगरी सामान्य नागरिक सरह भ्रमण गरेको राष्ट्रिय प्रकृति संरक्षण कोषका निर्देशक डा. नरेश सुवेदीले जानकारी दिए । यस क्रममा प्रधानमन्त्री दाहालले यसअघि आफू ३० वर्षअघि चिडियाखाना घुमेको स्मरण गरेका थिए ।

चिडियाखानामा वन्यजन्तुको व्यवस्थापनप्रति प्रधानमन्त्री दाहालले खुसी प्रकट गरेको डा. सुवेदीले जानकारी दिए ।

अवलोकनका क्रममा उनले बाघ र गैंडा धेरै मनपर्ने उल्लेख गर्दै तिनको बारेमा कर्मचारीहरूसँग सोधखोज गरेका थिए । चिडियाखानामा राखिएका हरेक वन्यजन्तुको बारेमा पनि उनले सोधेका थिए । चिडियाखानामा हाल पाँचवटा बाघ र तीनवटा भाले गैंडा रहेको डा. सुवेदीले जानकारी दिए ।

उनीहरुले चिडियाखाना सानो भएको र अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्नेमा जोड दिएका थिए । जवाफमा प्रधानमन्त्री दाहालले यसबारे आफूले बुझ्ने र थप जानकारीका लागि कार्यालयमा बोलाउने आश्वासन दिएका छन् ।

सदर चिडियाखानामा एक सय दुई प्रजातिका एक हजारभन्दा बढी वन्यजन्तुहरू छन् । प्रकृति संरक्षण कोषका सदस्यसचिव शरद अधिकारी, निर्देशक डा. चिरन्जिवी पोखरेल, चिडियाखाना प्रमुख रचना शाहलगायत कोषका कर्मचारीहरूले प्रधानमन्त्री दाहाललाई स्वागत गरेका थिए ।

प्रकाशित : चैत्र १३, २०७९ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्

एमालेमा आएपछि उत्ताउलो बन्‍न मिल्दैन : केपी ओली

'एमाले गंगा जस्तै हो । तर कहीँ कहीँ सुनिन्छ, अनुचित प्रवृत्ति पनि पार्टीभित्र प्रवेश भएका छन्, तिनीहरुलाई हामीले हटाउनु पर्नेछ'
गगनशिला खड्का

गुल्मी — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना कार्यकर्ताहरूलाई उत्ताउलो रुपमा प्रस्तुत नहुन निर्देशन दिएका छन् । एमालेको मिसन ग्रासरुट अभियानको क्रममा सोमबार गुल्मीको सदरमुकाम तम्घासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

एमालेमा प्रवेश गरेपछि गंगा नदी जस्तै शालीन हुनुपर्ने उनले बताएका थिए । ‘कालीगंगामा सबै गएपछि गंगा नै हुन्छ । तिनको खहरे प्रवृत्ति, उत्ताउला प्रवृत्ति सबै हराउँछ’, उनले भने, ‘एमालेमा आइसकेपछि खहरेका प्रवृत्ति, अरुका प्रवृत्ति बोकेर हिँड्न मिल्छ ? नेकपा एमाले गंगा जस्तै हो ।’

अध्यक्ष ओलीले शैली, आचरण, व्यवहार एमाले कार्यकर्ताको जस्तो भनेर अनुकरणीय बन्नुपर्ने बताएका थिए । पूर्वपरराष्ट्रमन्त्री तथा पार्टी उपमहासचिव प्रदीप ज्ञवालीको चुनावी प्रतिस्पर्धामा अन्तरघात भएको संकेत गर्दै उनले एमालेभित्र खराब आचरणका मान्छे प्रवेश गरेकाले तिनीहरुलाई पाखा लगाउनुपर्ने बताएका थिए ।

‘एमाले पार्टी इमानका लागि इमानका साथ लडेको पार्टी हो, बेइमानी भन्ने कुरा कल्पनासमेत गर्न सकिँदैन,’ उनले भने, ‘तर फेरि पनि कहीँ कहीँ सुनिन्छ, त्यस्ता अनुचित विजातीय प्रवृत्ति पनि पार्टीभित्र प्रवेश भएका छन्, तिनीहरुलाई हामीले हटाउनु पर्नेछ ।’

उनले ज्ञवालीलाई पराजित गर्ने चन्द्र भण्डारीलाई भलाद्मी नेता भए पनि कांग्रेसको नीति भने खराब रहेको भन्दै कटाक्ष गरेका थिए ।

प्रकाशित : चैत्र १३, २०७९ १७:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×